राष्ट्र बैंकले संस्थापक सेयर बिक्रीमा कडाइ गर्याे

काठमाडौं । राष्ट्र बैंकले प्रतिशत भन्दा बढी सेयर भएकाहरुको हकमा बिक्री वा खरिद गर्दा अनुमती अनिवार्य गरेको छ । नेपाल राष्ट्र बैंकले संस्थापक सेयर बिक्रीमा कडाइ गरेको छ । चालुआर्थिक बर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा उल्लेख भएका नीतिहरुलाई कार्यान्वयनमा ल्याउने क्रममा राष्ट्र बैकले बाणिज्य बैंक, बिकास बैंक र फाइनान्स कम्पनी समेतलाई लागु हुनेगरी यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
यो व्यवस्था अनुसार कुुनै एक बैंक वा वित्तीय संस्थाको एक प्रतिशत वा सो भन्दा बढी संस्थापक सेयर धारण गर्ने वा गरेका सेयरधनीले सो संस्थाबाहेक अन्य कुनै बैंक तथा वित्तीय संस्थाको जतिसुकै संस्थापक सेयर खरिद वा बिक्री गर्नुपूर्व अनिवार्य रूपमा राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने छ । यसअघि भने संस्थापक सेयर खरिद वा बिक्री गर्दा राष्ट्र बैंकको अनुमती लिनु पर्ने व्यवस्था थिएन ।
यसैगरी राष्ट्र बैंकले कर्जा नोक्सानीे व्यवस्था निरीक्षण प्रतिवेदनमार्फत थप कर्जा नोक्सानी व्यवस्था गर्ने निर्देशन प्राप्त भएमा चालु त्रैमासिक हिसाबमा थप कर्जा नोक्सानी व्यवस्था गरी सोको जानकारी राष्ट्र बैंकमा दिनु पर्ने व्यवस्था पनि कार्यान्वयनमा ल्याएको छ । तर, निर्देशन प्राप्त हुँदा बैंक तथा वित्तीय संस्थाको पछिल्लो त्रैमासिक वा वार्षिक वित्तीय विवरण प्रकाशन नभएको भएमा निर्देशनअनुसार नोक्सानी व्यवस्था गरेरमात्र वित्तीय विवरण प्रकाशन गर्नुपर्ने छ, परिपत्रमा भनिएको छ ।
परिपत्रअनुसार इजाजतपत्रप्राप्त संस्थाहरुलाई प्रचलित ऐनमा भएको व्यवस्था अनुसार उपलब्ध गराइने कर्जाको ब्याजदर (बैंकदर) सात प्रतिशत कायम गरिएको छ । यसअघि भने यस्तो बैंकदर पाँच प्रतिशतमा मात्र रहेको राष्ट्र बैकले जनाएको छ । यसैगरी ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर सात प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर चार प्रतिशत र नीतिगत दरका रूपमा रहेको रिपो दरलाई पाँच दसमलव पाँच प्रतिशत कायम गरिएको परिपत्रमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार यसअघि भने ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर पाँच प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर दुई प्रतिशत र नीतिगत दरको रुपमा रहेको रिपो दरलाई तीन दसमलव पाँच प्रतिशत कायम गरिएको राष्ट्र बैंकको भनाई छ ।
यसैगरी राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनीहरुलाई आफ्नो कुल कर्जाबापतको १५ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गर्न पनि निर्देशन दिएको छ । राष्ट्र बैंकका अनुसार यसको लागि २०८२ असार मसान्तसम्मको समयसिमा तोकिएको छ । यसअघि यस्तो कर्जा कायम गर्नुपर्ने समयसिमा २०८० साल असार मसान्तसम्म तोकिएको थियो । ऊर्जा क्षेत्रमा प्रवाह गर्नुपर्ने १० प्रतिशत कर्जाको लागि पनि राष्ट्र बैंकले २०८२ असार मसान्तसम्मको समयसिमा तोकेको छ । यसअघि भने यस्तो कर्जा अनुपात कायम गर्नुपर्ने समयसिमा २०८१ असार मसान्त तोकिएको थियो ।
परिपत्रअनुसार एक करोड रुपैयाँभन्दा कम रकमका कर्जा तथा विपन्न वर्ग कर्जा समेत गरी लघु घरेलु तथा साना एवम् मझौला उद्यमका क्षेत्रमा प्रवाह गर्नुपर्ने १५ प्रतिशत कर्जाको लागि भने २०८२ असार मसान्तसम्मको समयसिमा तोकिएको छ । यसअघि भने यस्तो कर्जाका लागि २०८१ असार मसान्तसम्मको समयसिमा तोकिएको परिपत्रमा उल्लेख छ ।

प्रतिक्रिया