रुसको आक्रमणविरुद्ध हजारौं मानिस सडकमा
पश्चिमा राष्ट्रहरूद्वारा रुसमाथि थप आर्थिक प्रतिबन्धको घोषणा

मस्को । युक्रेनमाथि रुसको आक्रमण जारी छ । युरोपका राष्ट्रहरूले रुसमाथि थप आर्थिक प्रतिबन्धहरूको घोषणा गरेका छन् । रुसका बैंक अनि उच्च अधिकारीहरूमाथि प्रतिबन्ध लगाइने उनीहरूले बताएका छन् । तर उत्तर एट्लान्टिक सन्धि संघठन नेटोका सदस्य राष्ट्रहरूले युक्रेनमा सेना भने नपठाउने बताएका छन् ।
अर्को प्रसंगमा अमेरिकाले युरोपमा सात हजार थप सेना पठाउने भएको छ । जर्मनीमा पठाउन लागिएको अमेरिकी सैन्य बलले युरोपस्थित नेटोका सदस्य राष्ट्रहरूलाई प्रत्याभूति दिलाउने अमेरिकी भनाइ छ । संयुक्त राष्ट्रसंघले एक लाखभन्दा बढी मानिसले युक्रेन छोडिसकेको अनुमान गरेको छ ।
आक्रमणको विरोधमा रुसकै हजारौँ नागरिक सडकमा ओर्लिएको त्यहाँको एउटा स्वतन्त्र मानव अधिकार समूहले जनाएको छ । राजधानी मस्को, सेन्ट पिटर्सबर्गलगायत कैयौँ मुख्य शहरमा भएका प्रदर्शनहरूका क्रममा अहिलेसम्म १७ सय जनालाई पक्राउ गरिएको छ ।
रुसले युक्रेनका विभिन्न क्षेत्रमा सैन्य आक्रमण गर्न थालेको आज (शुक्रवार) दोस्रो दिन हो । विपक्षीहरूका प्रदर्शनका क्रममा हुने गिरफ्तारीबारे सूचना राख्ने समूह ओभीडी इन्फोका अनुसार मस्कोमा नौ सयजना र सेन्ट पिटर्सबर्गमा चारसय पक्राउ परेका छन् ।
युद्धविरोधी नाराहरू लेखिएका प्लेकार्डसहित हजारौँ मानिस सडकमा रहेको सामाजिक सञ्जालमा राखिएका पोस्टमा देखिन्छ । रुसी शहरहरूमा बाहेक विश्वका अन्य कैयौँ शहरमा पनि युद्धको विरोधमा प्रदर्शन गरेका छन् ।
सयौँ प्रदर्शनकारीले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि रुसी नियोगको कार्यालयअगाडि विरोध जनाएका छन् । युद्ध चर्किदै गएसँगै युक्रेनमा रात्रिकालीन कर्फ्यु लागु गरिएको छ । युक्रेनका विभिन्न भागमा रुसी सेना तीव्र गतिमा अघि बढिरहेका विवरण प्राप्त भएका छन्। त्यहाँ गोलाबारी, विस्फोट अनि हवाई हमला भएको छ । एउटा हवाई अखडामा रुस र युक्रेनी सेनाबीच भिडन्त भएको बताइएको छ ।
रुसी सेनाले नियन्त्रणमा लिएको भनिएको हवाई अखडा पुनः आफ्नो नियन्त्रणमा लिएको युक्रेनले दाबी गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूहरूले लड्न जारी राख्ने बताएका छन् । उनका अनुसार हालसम्म सेना र सर्वसाधारण गरी १३७ युक्रेनी नागरिकले ज्यान गुमाएका छन् । युद्ध चर्कँदै गएसँगै युक्रेनले आमरूपमा सेना परिचालन गर्ने घोषणा गरेको छ । देशवासीलाई राष्ट्रको रक्षा गर्न आग्रह गरिएको छ । –बीबीसी
प्रतिक्रिया