वडाध्यक्षमध्ये सबैभन्दा कान्छा नवराज कार्कीको निधन

काठमाडौ । सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नवराज कार्कीको दुर्घटनामा परी निधन भएको छ । मोटरसाइकल दुर्घटनामा परी घाइते भएका उनको शुक्रबार राति साढे १० बजे काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
फागुन ८ गते दिउँसो करिब पौने ३ बजे रत्न राजमार्गअन्तर्गत भेरीगंगा–१२ छिन्चु बजारदेखि पश्चिमतर्फको सडकमा नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट कार्की र वाइसिएल भेरीगंगाका अध्यक्ष भूपेन्द्र शाही घाइते भएका थिए । शाहीको अनुहार र खुट्टामा चोट लागेको छ।
वडाध्यक्ष कार्की र शाहीलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल कालागाउँ ल्याइएको थियो । टाउकोमा गम्भीर चोट लागेर बेहोस भएपछि उनको आइतबार राति शल्यक्रिया गरिएको थियो । चिकित्सकले ७२ घण्टापछि होस खुल्ने बताए पनि होस नखुलेपछि हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौंको न्यूरो अस्पताल लगिएको थियो। मोटरसाइकललाई ठक्कर दिने गाडीका चालक निमराज रसाईली फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।
कार्की नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन् । उनी सुर्खेतका वडाअध्यक्षमध्ये सबैभन्दा कान्छा हुन् । उनको जन्म २०४८ सालमा भेरीगंगामा भएको हो।

प्रतिक्रिया