सोमबार, वैशाख १५, २०८२

किन रहन्छ महादेवको गलामा नाग ?

नेपालखोज २०७८ फागुन १५ गते ६:५९

महाशिवरात्रिको अवसरमा रुद्राभिषेक पनि गरिन्छ जसबाट मनोवान्छित फल प्राप्त हुने विश्वास गरिन्छ । महाशिवरा​त्रिका दिन एकाबिहानैदेखि शिवालयका घन्टहरु बज्न थाल्छन् भने शिव चालीसा, शिव भजन, शिव आरती तथा शिव मन्त्रले पूरा वातावरण गुञ्जायमान हुन्छ । महाशिवरा​त्रिको यो पावन अवसरमा आज हामी भगवान् शिवसँग जोडिएको एउटा रोचक कुरा बताउन गइरहेका छौं कि भगवान् शिवले आफ्नो गलामा किन सर्प धारण गरेका हुन् ?

महादेवका सबैजसो चित्र तथा मूर्तिमा उनले गलामा सर्प बेरेको देखिन्छ । आखिर भगवान् भोलेनाथले किन सर्पको माला धारण गरेका हुन् त ? यो कुरा बुझनु पहिले नागराज वासुकीका बारेमा जान्न जरुरी छ । नागराज वासुकी नाग लोकका राजा हुन र उनी भगवान् शिवका परम् भक्त मानिन्छन् । उनको भक्तिबाट प्रसन्न भएर भगवान् शिवले उनलाई दर्शन दिए र कुनै वरदान माग्न भने ।

यता नागराज वासुकीले भने- हे प्रभु ! मलाई हजुरको भक्तिबाहेक अरु केही चाहिएको छैन । यदि केही दिनु नै छ भने हजुरले मलाई आफ्नो सामीप्यमा लिनुहोस् । वासुकीक‍ो य‍ो भक्तिबाट प्रसन्न महादेवले उनलाई आफ्नो गणमा सामेल गरे ।

त्यसैले नागराज वासुकी भगवान् शिवको गलाको हार बनेर स्वयंलाई गौरवान्वित महसुस गर्छन् र भगवान् शिवको शोभा बढाउँछन् । भगवान् शिवको त्यही वरदानका कारण नागराज वासुकी सदैव उनको गलामा हुन्छन् ।

यसको अर्को भाव पनि छ । भगवान्​ शिव नै आदि हुन् र उनी नै अन्त्य पनि । महादेव सबै गुणबाट टाढा छन् । उनको समान कोही छैनन् किनभने उनी महादेव हुन्, उनी नै महाकाल हुन् । उनले राम्रो-नराम्रो, गुण-अवगुण, विष-अमृत सबैमा विजय प्राप्त गरेका छन्, उनी निर्गुण छन् ।

जसले गुण-अवगुण, सम र विषम् परिस्थितिका बीच पनि सन्तुलन स्थापित गरेर आफ्नो अस्तित्व कायम राख्छ, ऊ नै सर्वशक्तिमान हो, ऊ नै ब्रह्म हो, ऊ नै शिव हो ।

प्रतिक्रिया