एमसीसी सम्झौतामाथि छलफल हुने, संसद् भवन र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा

नेपालखोज २०७८ फागुन १५ गते ८:३९

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि डाकिएको बैठकको सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता छलफलका लागि अर्थमन्त्री जनार्दन शर्माले पेश गर्ने उल्लेख छ ।

उक्त प्रस्ताव अघि प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने पनि कार्यसूचिमा उल्लेख छ । यसअघि प्रधानमन्त्री देउवाको आग्रहमा बिहीबारका लागि तोकिएको बैठक शुक्रबार दिउँसो १ बजेका लागि सारिएको थियो भने शुक्रबार पनि बैठक आजका लागि सार्दै सूचना टाँसिएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सो बैठकले कार्यसूचिलाई अन्तिम रुप दिनेछ । 

त्यस्तै, एमसीसी सम्झौतामाथि आजको संसद् बैठकमा छलफल हुने सम्भावना रहेकाले संसद् भवन र त्यस आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बिहानैदेखि यी क्षेत्रहरुमा सुरक्षाकर्मी खटिएका छन् । आवश्यक परेमा माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्ड खाली गराउने सुरक्षाकर्मीको तयारी छ । तर, यतिबेला सडकको अवस्था सामान्य रहेकाले अहिले गाडीको आवतजावत सामान्य छ । तर, बिहान ११ बजेपछि विरोध प्रदर्शन हुने भएकाले त्यसपछि भने यो सडक खण्ड प्रभावित हुनसक्ने सम्भावना छ ।


प्रतिक्रिया