एमसीसीको पक्षमा मत हाल्ने माओवादी हाइकमान्डको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले मिलेनियम च्यालेन्ज कर्पोसन एमसीसीको पक्षमा मतदान गर्ने भएको छ । पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भेला भएको हाइकमान्डको बैठकले यस्तो निर्णय गरेको हो ।
गठबन्धनलाई जोगाउँदै माओवादी केन्द्रले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । हालसम्म दुई धार देखिएको माओवादी भित्रको एक पक्ष अहिलेकै अवस्थामा एमसीसी पारित गर्न नहुने अडानमा थियो भने अर्को पक्ष यस विषयमा लचक देखिएको थियो ।
एमसीसी पारित गर्न तयार देखिएको माओवादी केन्द्रको बैठक सकिएको छ । हिजो शनिबार राति खुमलटारमा दाहाल, नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफल भएको थियो । छलफलपछि दाहाल–नेपाल लचिलो देखिएका छन् । शनिबार रातीको गठबन्धनका नेताहरुबीच छलफलपछि आज बस्ने प्रतिनिधिसभाको बैठकमार्फत एमसीसी पारित गर्ने सहमति भइसकेको जनाइएको छ । एमसीसी अनुमोदनका लागि माओवादीबाट मन्त्री बनेकाले समेत प्रचण्डलाई दबाब दिएको बुझिएको छ ।
देउवालाई भेट्नुअघि दाहाल र नेपालले सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भेटघाट गरी गठबन्धन नटुटाउने र वैकल्पिक विधिमार्फत एमसिसी पारित गर्ने विषयमा छलफल गरेका थिए । प्रचण्डले केपी शर्मा ओली सरकारमा आउने भन्दै असन्तुष्ट पक्षलाई मनाएको बुझिएको छ । उनले ओली सरकारमा आए प्रतिगमन कदम चाल्ने भन्दै माओवादीका एमसीसी विरोधी पक्षलाई फकाएको बुझिएको छ ।
सरकारले विवादबीच गत फागुन ८ गते बसेको प्रतिनिधिसभा बैठकमा ५० करोड डलरको अमेरिकी विकास सहयोग एमसीसी सम्झौता अनुमोदनको लागि टेबुल गरिसकको छ ।

प्रतिक्रिया