एमसीसी पारित गरे देश द्वन्द्वमा जान्छ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसी अनुमोदन प्रस्ताव स्थगन गर्न माग गरेका छन् ।प्रतिनिधिसभा बैठकमा एमसीसीमाथिको छलफलमा भाग लिँदै अध्यक्ष लिङदेनले जनता आश्वस्त नभएसम्मका लागि एमसीसीलाई स्थगन गर्नुपर्ने बताएका हुन् ।
लिङदेनले संसदले गर्ने सबै काम र निर्णय ठिक नहुने उदाहरण नेपालमै पाइने बताएका छन् । महाकाली सन्धिलाई उनले त्यसको एक उदाहरणका रुपमा व्याख्या गरे । उनले भने, ‘यो केबल आर्थिक सहायताको विषयमात्रै होइन । नेपाली जनता यस विषयमा विभाजित भएकोले यसलाई स्थगन गरेर नयाँ ढंगले जान सरकारसँग प्रस्ताव गर्छु ।’
जनता सडकमा उत्रिएको, कडा सुरक्षा व्यवस्था गरिएको र काँडेतार लगाइएको, अर्कोतिर संसदभित्रै संसदको सबैभन्दा ठुलो दल नारा जुलुसमा रहेको अवस्थामा प्राविधिक कुरामात्र मिलाएर एमसीसीलाई अघि बढाउन नहुने बताए । उनले सरकारलाई भने, ‘यो केवल आर्थिक सहायताको विषयमात्र होइन । नेपाली जनता यो विषयमा विभाजित भइरहेको अवस्थामा राष्ट्रिय सहमति कायम गरी सबैको सल्लाहमा अघि बढाउने गरी यसलाई स्थगन गरेर अघि बढ्नुपर्छ ।’
उनले एमसीसीको दफा दफामा छलफल हुने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘सबैले बुझ्ने वातावरण बनाउनुपर्छ, एमसीसीमार्फत पैसामात्र होइन, अन्य कुरा पनि आउँदैछ भन्ने कुरा भइरहेको छ, यथार्थ कुरा जनताले जान्ने वातावरण बनाउनुपर्छ ।’
अरु सहायता संसदमा किन अनुमोदन गराउनु परेन र यो सम्झौतालाई मात्र संसदमा किन लैजानु पर्यो भनेर मानिसले प्रश्न गरिरहेको भन्दै लिङ्देनले यस्ता कुरामा प्रस्ट हुनुपर्ने खाँचो औंल्याए । एमसीसी सम्झौतामा व्याख्यात्मक टिप्पणी गरेर पारित गर्ने भन्ने कुरा आइरहेको भन्दै उनले हामीले यहाँ गर्ने व्याख्यात्मक टिप्पणी अमेरिकाले, एमसीसीले मान्छ कि मान्दैन भन्ने प्रश्न पनि गरे ।
उनले एमसीसीलाई संसदको प्राविधिक प्रक्रियामात्रै पुर्याएर पारित गर्ने हतारो गर्न नहुनेमा जोड दिए । उनले भने, ‘यथास्थितिमा यसलाई पारित गर्नु भनेको देशलाई अझ द्वन्द्वमा लैजाने विषय हो । संसदका सबै निर्णय ठीक हुन्छ भन्ने हुँदैन । त्यसैले यस विषयमा सबै राजनीतिक दलहरु गम्भीर बन्नुपर्छ ।’

प्रतिक्रिया