प्रधानमन्त्रीलाई प्रेम सुवालको प्रश्न- सित्तैमा आएको विष पिए के होला ?

काठमाडाैं । मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौंता राष्ट्रघाती भएको उल्लेख गर्दै त्यसमा व्याख्यात्मक प्रस्तावको औचित्य नरहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा आज एमसीसीमाथिको छलफलमा भाग लिँदै सांसद सुवालले एमसीसी सम्झौतामा व्याख्यात्मक प्रस्ताव स्विकार नगर्ने अमेरिकाले स्पष्ट पारिसकेको पनि सत्तारुढ गठबन्धनलाई स्मरण गराए ।
उनले एमसीसी सैन्य मोर्चा भएको उल्लेख गर्दै त्यसमा आर्थिक वृद्धि र गरिवी अन्त्य गर्ने भनेर झुटो प्रावधान राखेको दावी गरे । सांसद सुवालले भने, ‘एमसीसी भनेको सैन्य मोर्चा भएको स्पष्ट उल्लेख गरिएको छ । आर्थिक वृद्धि र गरिवी अन्त्य झुटो हो । यसकारण व्याख्यात्मक प्रस्तावको औचित्य छैन । यस्तो प्रस्ताव अमेरिकाले स्विकार नगर्ने बताइसकेको छ । प्रधानमन्त्री देउवाजीले सित्तैमा आउने, किन नलिने तथा देशघाती कहाँ छ भन्नु भयो, सित्तैमा आएको विष पिए के होला ? मृत्यु हुन्छ अर्थात् देश रहँदैन ।’
सांसद सुवालले एमसीसी संसदबाट पारित गरे नेपालमा हिंसा, युद्ध, भोक, रोग र मृत्यमात्रै हात लाग्ने चेतावनी समेत दिए । उनले भने, ‘अमेरिकाको वर्तमान र भविष्यको कानुन उलंघन गर्न नपाउने र सम्झौताको अवधि पाँच वर्षपछि अनन्त कालसम्म पनि यसको व्यवस्था कायम रहने सम्झौतामा उल्लेख छ । ती व्यवस्था नेपालको हितमा छैनन् । नेपालको घरायशी कृषि, उद्योग, यातायत, शिक्षा आदिको लागि विजुली पर्याप्त भईसकेको छैन । अमेरिकी अधिकारीहरुले नै एमसीसी सैन्य मोर्चा भएको स्विकार गरेका छन । क्रिश्चियली दन्तेकथा पाण्डुराको बाकस खोलिँदा हिंसा, युद्ध, रोग, भोक, मृत्युजस्ता खरावी बाहिरिएजस्तै एमसीसी सम्झौता संसदबाट पारित गरिए त्यस्तै परिणाम आउनेछ ।’

प्रतिक्रिया