प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन

नेपालखोज २०७८ फागुन १५ गते २०:५९

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) प्रतिनिधिसभाबाट अनुमोदन भएको छ । आज बसेको प्रतिनिधिसभाको दोस्रो बैठकबाट एमसीसी सम्झोता अनुमोदन गरिएको हो ।

संसदले नेपाल, अमेरिकाको कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने घोषणा गरेको छ । संसदमा भएको छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव पारित गरियोस भन्ने प्रस्ताव गरेका थिए । त्यसपछि सभामुख अग्नि सापकोटाले प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन गरेका थिए । त्यसक्रममा हुन्छ भन्ने पक्षमा बहुमत सांसद उभिएका थिए ।

सत्तारुढ चार दलले व्याख्यात्मक घोषणासहित मिलेनियम च्यालेन्ज कम्प्याक्ट अनुमोदन गर्ने सहमति जुटाए पछि प्रतिनिधिसभाबाट सम्झौता अनुमोदन भएको हो ।

यस अघि सो प्रस्तावसम्बन्धि व्याख्यात्मक घोषणा प्रस्तावमाथिको छलफलमा भाग लिँदै सत्तारुढ दलका सांसदहरुले सो सम्झौतामाथिको आशंका व्याख्यात्मक घोषणामा समेटिएको उल्लेख गर्दै अव ढुक्कसँग पास गर्न उपयुक्त हुने धारणा राखेका थिए भने यसको विरोध गर्ने सांसदहरुले सो व्याख्यात्मक घोषणा अमेरिकाले स्विकार गर्ने प्रावधान नभएको भन्दै आपत्ति जनाएका थिए ।

नेपाल मजदुर किसान पार्टीका सांसद पे्रम सुवालले सो प्रस्ताव पारित गर्नेहरुलाई देशद्रोही भएको आरोप लगाएका थिए भने कांग्रेस सांसद गगनकुमार थापाले सो सम्झौतामा एउटा पनि राष्ट्रघात भए आफू मर्न तयार हुने बताए ।

एमालेका सांसद भिम रावलले सो सम्झौता राष्ट्रघाती भएको भन्दै पारित गर्न नहुने अडान दोहो¥याएका थिए । कांग्रेस सचेतक पुष्पा भुसालले व्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गर्ने प्रस्ताव ल्याएको भन्दै सरकारलाई र सत्तारुढ दलका नेताहरुलाई धन्यवाद दिएकी थिइन् । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १८ गते अपरान्ह २ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया