कसरी बस्ने महाशिवरात्रिको व्रत ?

महाशिवरात्रिमा व्रत बस्ने तथा पूजा गर्ने आफ्नै विधिविधान तथा नियम छन् । उपवासको प्राथमिक उद्देश्य शरीर तथा मस्तिष्कलाई नियमित जीवनबाट अत्यावश्यक ब्रेक दिनु पनि हो । व्रत बस्दा शरीरमा भएको टक्सिनबाट छुटकारा प्राप्त गर्न मद्दत मिल्छ । व्रतमा तामसिक गुण भएका उत्तेजनात्मक खानेकुरा खानबाट बचिन्छ । व्रतमा ब्रह्मचर्यको पालनले आत्म-संयमको अभ्यास हुन्छ ।व्रत बस्ने निर्णय लिनुअघि आफ्नो स्वास्थ अवस्था कस्तो छ ध्यान पुर्याउनुपर्छ । खराब स्वास्थ स्थितिमा व्रत बस्दा त्यसले स्वास्थ्यमा थप नकारात्मक असर पार्न सक्छ ।
व्रतका दिन ब्रह्म मुहूर्तमा उठि नित्य कर्म र स्नान गरि सफा र चोखो पहिरन लगाउने । त्यसपछि केही बेर ध्यान गरेर ईमानन्दारी पुर्वक व्रतको पालन गर्ने संकल्प लिनु पर्छ । व्रतका दिन ब्रह्मचर्यको पालन गर्नुपर्छ ।
महाशिवरात्रिको व्रतमा खानेकुरा सम्बन्धि आ-आफ्नै नियम र विधिविधान हुन सक्छ । साधारणतया शिवरात्रिको व्रतमा चामल, गहुँ तथा दालको सेवन गरिँदैन ।
महाशिवरात्रिको व्रतमा संयमको आवश्यकता पनि हुन्छ । यो दिन फल, दूध तथा व्रत अनुसार अन्य खानेकुरा खान सकिन्छ भने नुनको साटो सिधे नुन प्रयोग गर्नुपर्छ । महाशिवरात्रिका दिन व्रत बस्नेहरुले घर मै शिवलिंग वा भगवान शिवको मुर्ति स्थापित गरि त्यसमा दियो बाल्नु पर्छ । त्यसपछि शुद्धजल वा गंगाजलले भगवानको अभिषेक गर्नुपर्छ ।
पूजाका क्रममा ओम नमः शिवाय मन्त्र पढदै भगवान शिवलाइ गंगा जल, काँचो दूध, धतुरो को फूल तथा फल, बेलपत्र आदि चढाउनु पर्छ । भगवान शिवका प्रबल भक्तहरु शिवरात्रिमा रात भर जाग्राम बसेर भजन – किर्तन गर्ने चलन पनि छ ।
प्रतिक्रिया