मंगलबार, वैशाख १६, २०८२

रूसमाथि आर्थिक प्रतिबन्धको प्रभाव

नेपालखोज २०७८ फागुन १८ गते ८:२९

काठमाडौं । युक्रेनमाथि रूसले २४ फेब्रुअरीमा सुरु गरेको हमलापछि अहिले संसारका कैंयन् शक्ति राष्ट्रले रुसविरुद्ध आर्थिक नाकाबन्दीको घोषणा गरिसकेका छन् । रुसमा त्यसको असरसमेत देखिन थालेको छ । खासगरी अमेरिका तथा युरोपेली देशहरुले रूसमाथिको आर्थिक दबाब बढाउँदै लगेका छन् ।

स्विफ्टबाट बाहिर
अमेरिका तथा युरोपियन युनियनका मुलुकहरु केही रूसी बैंकलाई स्विफ्टमा प्रतिबन्धित गर्न सहमत भएका छन् । यो स्विफ्ट सिस्टममार्फत संसारभर ११ हजारभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुबीच पैसा ट्रान्सफर हुन्छ ।

हवाई बाट‍ो बन्द
युक्रेनविरुद्धको हमलापछि कैंयन् देशले रूससँगको हवाई उडान बन्द गरेका छन् । युरोपियन युनियन तथा क्यानाडाले २७ फेब्रुअरीदेखि नै रुससँगको हवाई उडान बन्द गरिसकेका छन् । अहिले अमेरिकामाथि पनि हवाई उडान प्रतिबन्धित गर्नुपर्ने दबाब छ ।

कमजोर भयो रूबल
युक्रेनमाथिको हमलाका कारण रूसी करेन्सी रूबल रेकर्ड स्तरमा तल झरेको छ । हिजो सोमबार अर्थात् २९ फेब्रुअरीमा रूबल अमेरिकी डलरको तुलनामा ३० प्रतिशत अवमूल्यन भएको थियो ।

नगदका लागि मानिसहरुको लाइन
युरोपीयन युनियन, अमेरिका, ब्रिटेन तथा क्यानाडाले रूसको केन्द्रीय बैंकको सम्पत्ति जफत गर्ने घोषणा गरेका छन् । यो घोषणासँगै रुसमा नगदको अभाव सुरु भएको छ । यही कुरालाई मध्यनजर गर्दै रुसी नागरिक पैसा निकाल्न एटीएम बुथहरुमा जुटेका छन् । उनीहरुलाई डर छ कहीँ उनीहरुको एटीएम कार्ड बन्द नहोस् वा रकम निकाल्ने सीमा नघटाइयोस् ।

उता ब्रिटेनको तेल कम्पनी बीपीले रूसी पेट्रोलियम कम्पनी रोजनेफ्टबाट बाहिरिने घोषणा गरेको छ । आफ्नो २० प्रतिशतको हिस्सेदारीबाट हात झिक्दै बीपीका निर्देशकले रोजनेफ्टको बोर्डबाट राजीनामा दिएका छन् । -डीडब्ल्यू फिचर

प्रतिक्रिया