प्रभावकारी बन्दै वाटर एटीएम

काठमाडौं । काठमाडौं एउटा व्यस्त सहर । यहाँ न कसैले कसैलाई चिन्छ, न कसैसँग सरोकार नै छ । यहाँ धनीदेखि गरीबसम्म बस्ने गर्छन् । तर यहाँ मानवताको भावना कसैसँग हुँदैन । कति मानिसहरू भोकभोकै मरिरहेका हुन्छन् । कतिले त शुद्ध पानी पिउनै पाएका हुँदैनन् । दूषित पानी पिउनु पर्दा विभिन्न रोगको जोखिम उस्तै छ ।
यस्तै कति मानिससँग शुद्ध पानी किन्न रकम पनि हुँदैन, किनकि उनीहरूले जस्तोसुकै पानी पिएर पनि छाक टार्नुपर्ने अवस्था छ । उपत्यकामा धेरै कम आम्दानी हुने, गरिब मानिस पनि बस्ने गर्छन् । बाटोमा हिँड्दाडुल्दा प्यास लागेका बेला पानी किन्न पैसा हुँदैन । तिर्खा लागेका बेला शुद्ध पिउने पानीबाटै वञ्चित हुनु नपरोस् भनेर काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा वाटर एटीएम (वाटर भेन्डिङ मेसिन) कोे सुविधा सञ्चालन गरिएको छ ।
उपत्यकाका विभिन्न ठाउँमध्ये रत्नपार्क पनि एक हो, जहाँ एउटा वाटर भेन्डिङ मेसिन जडान गरिएको छ । रत्नपार्क आउने-जाने धेरैलाई पानी पिउन सहज भएको छ । वाटर एटीएम जडान गरिएपछि सर्वसाधारण शुद्ध पानी पिउनबाट वञ्चित हुनुपरेको छैन । वाटर एटीएम जडान भएपछि एक रुपैयाँमै मानिसले पानी पिउन पाएका छन् । पानी पिउन आएका वीरबहादुर थापा भन्छन्, ‘हामीजस्तो मजदुरी गर्नेलाई राम्रो सुविधा दिइएको छ । कसैसँग पानी पिउन पाइनँ भनेर हात फिँजाउनु परेको छैन ।’
उपत्यकाका विभिन्न ठाउँमा जडान गरिका वाटर एटीएममा पानी पिउन सर्वसाधारणको भिड लाग्ने गर्छ । सहज ठाउँमा शुद्ध पानी पाइएपछि मानिसहरू खुसी छन् । एटीएम मेसिनबाट पानी थापेर पिउने गर्दछन् ।
नेपाल सरकार खानेपानी मन्त्रालय, काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको संयुक्त प्रयासमा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा डेढ दर्जनको हाराहारीमा वाटर एटीएम अर्थात् वाटर भेन्डिङ मेसिन सञ्चालनमा ल्याइएको छ । पहिलो चरणमा रत्नपार्क, बालाजु र स्वयम्भू भगवान् पाउमा सञ्चालनमा ल्याइएको थियो । त्यसपछि उपत्यकामा विभिन्न ठाउँमा विस्तार गरिँदै छ ।
सस्तोमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा उपलब्ध गराउने उद्देश्यले वाटर एटीएमको धारणा ल्याइएको हो । वाटर एटीएमबाट उपभोग गर्ने पानीका लागि प्रति दुई सय मिलिमिटर अट्ने एउटा कपको मूल्य एक रुपैयाँ र कपमा अटाउने पानीको समेत गरी दुई रुपैयाँ तिर्नुपर्छ ।

आफूसँग बोतल भए एक लिटरको पाँच रुपैयाँ तिर्नुपर्छ । वाटर एटीएममा जाडोमा तातो र गर्मीमा चिसो पानी उपलब्ध गराउने प्रविधि जडान गरिएको छ । एटीएमबाट पानी लिनका लागि उपभोक्ताले एक रुपैयाँका सिक्का प्रयोग गर्नुपर्छ । एटीएम मेसिनमा सर्वसाधारणलाई पानी पिउन सहजताका लागि एटीएम जडान गरिएको कोठामा सूचनामूलक जानकारी प्रस्टसँग लेखिएको छ । वाटर भेन्डिङ मेसिन भएको ठाउँमा सीसी क्यामेरा राखिएको छ ।
प्रयोग गरिएको कप फाल्न डस्टबिन राखिएको छ । वाटर एटीएम कर्मचारी नै नराखीकन सेवा दिइने भरपर्दो माध्यम भएको छ । एटीएम भएको ठाउँमा कप डिस्पेन्सर, कपमा पानी थाप्ने ठाउँ, सिक्का राख्ने ठाउँ र बोतलमा पानी थाप्नेसमेत सुविधा छ । सिक्का नभए एटीएम मेसिनमा नोट छिराएर पहिले सिक्का लिनुपर्छ । सिक्का हात परेपछि छिराएर पानी थापेर पिउन सकिन्छ ।
वाटर भेन्डिङ मेसिन चलाउने तरिका :
-पाँच रुपैयाँ वा १० रुपैयाँको नोट छ भने मेसिनबाट १ रुपैयाँको सिक्का साट्नुपर्छ ।
-साटेको एक रूपैयाको सिक्कालाई कप डिस्पेन्सर मेसिनको सिक्का हाल्ने ठाउँमा छिराउनुपर्छ । त्यसपछि २०० मि.लि. कागजको कप लिनुपर्छ ।
-कप एटीएमबाट निस्किएपछि उक्त कप र हातमा बोतल छ भने धाराको तल राख्नुपर्छ । त्यसपछि १ रुपैयाँको सिक्कालाई धारासँगैको सिक्का हाल्ने ठाँउमा छिराउनुपर्छ ।
-सिक्का छिराएपछि २०० मि.लि. शुद्ध पिउने पानी कप वा आफूले पहिले नै व्यवस्था गरेको बोतलमा झर्ने छ ।
-अन्त्यमा, पानी पिएपछि कपलाई फोहर फाल्ने भाँडामा राख्नुपर्छ ।


प्रतिक्रिया