‘पुँजी बजारमा देखिएका समस्या समाधान गर्न नेप्से र बोर्डमा सक्षम नेतृत्व चयन’

नेपालखोज २०७८ फागुन १८ गते १६:२१

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेप्से र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाई पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गरेका छन् । आज अर्थमन्त्री शर्माले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाए पछिल्लो समय पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गरेका हुन् ।

पुँजीबजार सम्बन्धि छलफलमा बोल्दै अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएका समस्या समाधान गर्नको लागि नेप्से र बोर्डमा सक्षम नेतृत्व चयन गरिएको बताए । उनले पछिल्लो समय सेयर बजारमा देखिएका समस्या समाधानको लागि पुँजीबजार नियमनकारी निकायका नेतृत्वको काम कारबाहीले देखिने दाबी गरे ।

कार्यक्रमा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सेयर बजारमा देखिएका समस्या समाधान गर्नका लागि बोर्डले काम गरिरहेको बताए । उनले पुँजीबजार सुधारको लागि केही कानुनमा सुधार गर्नु पर्ने बताए । अध्यक्ष हमालले अनलाइन प्रणालीमा सुधार गर्नु पर्ने देखिएकाले बोर्ड लागि परेको जानकारी दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल स्टक एक्सचेञ्ज(नेप्से) प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले पुँजीबजार सम्बन्धि ऐन समय सापेक्ष नभएको बताए । उनले पुँजीबजार सुधारको लागि अहिले भएका नीतिगत व्यवस्थाहरुलाई संशोधन गर्नु पर्ने आवश्यक रहेको बताए । कार्कीले सेयर बजारलाई प्रभावकारी बनाउनको लागि प्राविधिको अध्ययन गर्नु पर्ने जानकारी दिए ।

त्यस्तै अर्थमन्त्रालयका राजश्व सचिव कृष्णहरि पुस्करले पुँजीबजार आन्तरिक मात्र नभएर अन्तराष्ट्रिय बजारमा प्रभावकारी देखाउनु पर्ने बताए । उनले अर्थ मन्त्रालयले नेप्से र धितोपत्र बोर्डको काम गर्ने प्रणालीलाई अन्तर्राष्ट्रिय एजेन्सीहरुसँग सहकार्य गर्ने काम अगाडि बढाएको जानकारी दिए ।

कार्यक्रममा पुँजीबजारलाई नियमनकारी निकायका दुबै प्रमुखले विद्यमान नीतिगत व्यवस्थामा सुधार गर्नुपर्नेमा जोड दिए । अर्थमन्त्री शर्माले धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सिइओलाई मोबाइल एपबाटै सेयर कारोबार हुने व्यवस्था मिलाउनु निर्देशन दिएका छन् भने पुँजीबजार नबुझि कारोबार गर्नेलाई शिक्षित गराउनु पर्ने बताए ।

प्रतिक्रिया