शुक्रबार, वैशाख २१, २०८१

फोहोरसँग खेलेर जीवन धान्नेहरू…

प्रनिशा अधिकारी २०७८ फागुन २० गते १०:४९

काठमाडौं । टेलिभिजन र सामाजिक सन्जालमा एउटा सन्देशमूलक विज्ञापन बज्छ । एनआईसी एसिया बैंकको उक्त विज्ञापनको एउटा अशंमा बालकले भन्छन्- ममी फोहोरवाला आयो । बालककी आमा भन्छिन्- फोहोरवाला त हामी हौं छोरा, उहाँ त सफाइवाला हो ।

यसको अर्थ सफाइवालाई आमनागरिकले अपमान गरिरहेका छन्, जुन गलत हो भन्ने हो । हुन पनि हो । कोरोना संक्रमणको त्रासका कारण देश ठप्प भएका बेला सफाइ कर्मचारीहरू घर-घर पुगेर फोहोर संकलन गरिरहेका थिए । आमनागरिक त्रासले घरभित्रै बसिरहेका बेला जीवन जोखिममा राखेर उनीहरू घर-घरबाट निस्किएको फोहोरसँग पौंठेजोरी खेलिरहे । आज पनि कोरोनाको त्रास सकिएको छैन । भलै कम भयो । तर, उनीहरू घरघर पुगिरहेकै छन् । फोहोर व्यस्थापन गर्ने आफ्नो जिम्मेवारी पूरा गरिरहेकै छन् ।

केही समयअघि चाबहिलस्थित फोहोर संकनल केन्द्र पुग्दा एउटा समूह घर-घरबाट ल्याएको फोहोर लोड-अनलोडमा व्यस्त थियो । कोही गाडीमा फोहोर लोड गरिरेहका थिए, कोहीचाहिँ अनलोड । हामीले आग्रह गर्‍यौं एकछिन समय निकालेर बोल्न । उनीहरू तर्किए । भन्दै थिए- तपाईंसँग बोलेर हामीलाई के फाइदा ? ‘तपाईंलाई पो पैसा आउँछ त, हामीलाई त आउँदैन’ उनीहरू अलि रुखो सुनिए । हामीले भन्यौं, ‘हामीलाई पनि पैसा आउँदैन । तपाईंहरूले भोग्दै आएको समस्या र काठमाडौंवासीलाई प्रत्यक्ष/परोक्षरूपमा पुर्‍याउँदै आएको सहयोगबारे धेरैले थाहा पाऊन् भनेर मात्रै हो ।’ समूहकै रहेका अर्का एक व्यक्ति बोले, ‘तपाईंसँग बोलुन्जेल हामीले कति किलो फोहोर उठाउँछौं, त्यसका आधारमा पैसा आउँछ । तपाईंसँग बोलेको त पैसा आउँदैन नि !’ समयलाई पैसासँगै तौलिरहेका थिए । मिनेट-मिनेटको हिसाब गरिरहेका थिए । हाम्रो मनमा एउटा कुरा खेल्यो, ‘सफाइवाला मिनेट-मिनेटको हिसाब गरिरहेका छन् । हाम्रो देशका नेतृत्वकर्ताहरूमा यस्तै सोच छ ? जवाफ खोज्न कसैलाई सोधिरहनै परेन । सबैले सहजै भन्न सक्छ- छैन ।’

झापाकी सीता राउतले फोहोर उठाउन थालेको कति वर्ष भयो त्यो त उनलाई थाहा छैन । तर, उनी भन्छिन्, ‘थुप्रै वर्ष भयो यो काम गर्न थालेको ।’ गंगाहिटीमा बस्ने उनका श्रीमान् पनि उनीसँगै फोहोर उठाउने काम गर्छन् । किलोको तीन रुपैयाँका दरले ठेकेदारले महिनाको अन्तिममा एकमुष्ट पैसा दिन्छन् । त्यसैले दुई छोरा-छोरीसहितको उनको चारजनाको परिवार काठमाडौंमा जीविकोपार्जन गरिरहेको छ ।

उमेर एक विस काटेकी उनका हात नाङ्गै थिए । न पञ्जा न त फोहोर सफा गर्दा लगाउने सेफ्टी वेयर नै । झिँगा भन्किरहेका थिए । नमिठो गन्धले हावा दुर्गन्धित थियो । सीताको मुखमा भने न मास्क थियो । न रुमाल । यसैगरी सीता जस्तै सफाइवालाले काठमाडौं महानगरबाट दैनिक १२ सय टनसम्म उत्पादन हुने फोहोर व्यस्थापन गर्दै आएका छन् ।

किन लगाउनु हुन्न मास्क ? छलकपटकविनाको जवाफ दिइन्, ‘मास्क लगायो भने पसिमा मुखभित्र पस्छ । सास फेर्न अफ्ठ्यारो लाग्छ, त्यही भएर लगाउँदिनँ ।’ मास्क नलगाउँदा कोरोनासँगै अरू रोगको जोखिम हुन्छ भन्ने थाहा त उनलाई नभएको होइन । तर, मास्क लगाउने उनलाई बानी परेको छैन । लुगा भने उनी फेर्दिरहिछन् । ‘घरबाट लगाएर आएको लुगा फुकालेर राख्छु । फोहोरसँगै फालेका केही लुगा लगाउन मिल्ने खालका हुन्छन्, तिनै लुगा लगाएर फोहोर छान्ने र लोड अनलोड गर्छु । काम सकिएपछि ती लुगा फुकालेर आफ्नै लुगा लगाएर घर जान्छु ।’

भोजपुरका राजेन्द्र राई काठमाडौं आएको तीन वर्ष भयो । साथीसँग काम खोज्दै आइपुगेका उनी फोहोर उठाउने काममा लागे । एकबीस नकटेका उनी पढ्ने उमेरमा काम गरिरहेका छन् । तर, पढाइप्रति उनको खासै ध्यान छैन । ‘कमाउने उमेरमा को पढ्छ ?’ उल्टै उनी प्रतिप्रश्न गर्छन् । कामप्रति त उनको गुनासो छैन । तर, कमाइप्रति भने उनी सन्तुष्ट छैनन् । ‘काम र खटाइअनुसारको रकम छैन । किलोको जम्मा तीन रुपैयाँ त हो,’ उनी असन्तुष्ट सुनिए, ‘पैसा थोरै छ । खाने कुरा महँगो छ । कोठा भाडा महँगो छ ।’

राजेन्द्रसँग पढिएन भन्ने गुनासो छैन, काम छैन भन्ने असन्तुष्टि पनि छैन । तर, आफ्नो कामप्रति आममान्छेले गर्ने व्यवाहारप्रति भने उनको चित्त दुखाइ छ । घरभेटीले गर्ने व्यवाहार उनलाई ठीक लाग्दैन । ‘मलाई त अहिलेसम्म मेरो घरभेटीले केही भनेका छैनन् । तर, मसँगै काम गर्ने थुप्रै साथीहरूले फोहोर उठाउने काम गरेकै कारण कोठाबाट निकालिनुपरेको छ,’ राजेन्द्र साथीले भोगेको समस्या सुनाउँछन्, ‘मेरा कति साथीलाई फोहोरमा काम गरेर घरमा रोग लिएर आउँछस् भनेर निकालेका छन् । वातावरणलाई सफा गर्ने हामीलाई गर्ने त्यस्तो ब्यबाहरले मन दुख्दोरहेछ ।’

कोरोनाको डरले महिनौंसम्म नागरिक घरभित्रै बसे । काठमाडौं महानगरपालिकाको फोहोर उठाउने उनीहरू भने ढोका-ढोका पुगेर आफ्नो काम गरिरहे । ज्यानको माया त उनीहरूलाई पनि थियो । तर, डर मानेर के गर्नु अत्यावश्यक सेवाभित्रको काम गरेपछि पछि हट्न कहाँ पाइयो र ? पाएनन् । त्यसैले उनीहरू घर-घर पुगेर भने- आ-आफ्नो घरको फोहोर सडकसम्म निकाल्दिनुहोला ।

‘तर त्यो बेला धेरैले हामीलाई भन्नुभयो पैसा दिएपछि घरमै आएर लैजाओ न । अरू डरले घरभित्र पसेर बसेका बेला हामी ज्यान जोखिममा राखेर काम गरिरहेका बेला त्यस्तो रुखो जवाफ आउँदा साँच्चै मन दुख्थ्यो,’ फोहोर उठाउने गाडीका चालक चन्द्र शर्मा (नाम परिवर्तन) भन्छन्, ‘हामी पनि मान्छे नै हौं र हामीलाई पनि त्यतिकै डर हुन्छ जति उनीहरूलाई छ भन्ने नबुझिदिँदा चाहिँ नरमाइलो लाग्थ्यो । हामीलाई कोरोना लागेको छ भने पनि उनीहरूलाई नसरोस् भन्ने हाम्रो नीति नै थियो ।’

उनी पीपीई नलगाई अरुको सम्पर्कमा लामो समय आउनु हुँदैन भन्ने जान्दाजान्दै पनि त्यसको अभावमा स्यानिटाइजर र मास्ककै भरमा काम गर्दा पनि जनताबाट स्याबासीको सट्टा उल्टै गाली खानुपरेको स्मरण गर्छन् । कुनै पनि काम ठूलो र सानो हुँदैन भन्ने भनाइ बोलीमा मात्रै रहेको उनले गुनासो पोखे ।

दुर्गन्धित वातावरणमा काम गर्नुपर्छ । संक्रमणको अधिक जोखिम छ । घाम होस् वा पानी काम रोक्न पाइँदैन । दिन होस् वा रात-बिहान जिम्मेवारी पूरा गर्नु नै पर्छ । त्यसका लागि उनीहरू तयार छन् । तर, आममानिसको हेलचेक्रयाईंले उनीहरू थप जोखिममा छन् ।

राजेन्द्रलाई सिसासँग औधी डर लाग्छ । नलागोस् पनि किन ? फोहोरसँगै राखिएका सिसाले थुप्रैपटक उनका कोमल हातपाउ रेटेका छन् । साथीहरू रक्तमुछेल भएको देखेका छन् । आफू दुर्गन्धको भूमरीमा बसेर अरूलाई सफामा राख्ने र समग्र वातावरणलाई नै स्वच्छ राख्ने कबुल गरेर काम गरिरहेका उनलाई जोखिममा पार्ने काम आमनागरिकले गरिरहेकामा पनि चित्त दुखाइ छ ।

‘सिसाले काट्छ भन्ने कसलाई थाहा छैन होला । तर, थाहा हुँदाहुँदै पनि फोहोरभित्र सिसा राख्छन् । त्यसले हाम्रो हात खुट्टा काट्छ,’ राजेन्द्र मान्छेहरूले गरेको लापरबाही र आफूले पटक-पटक सहेको पीडा अमिलो मन बनाउँदै सुनाउँछन्, ‘सरकारले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै भाँडामा राख्न भन्छ । तर, यहाँ त हाम्रो ज्यान नै रेट्ने सिसा फोहोरभित्र लुकाएर प्लास्टिकभित्र राखेर फालिन्छ ।’ पढेको छैन भन्ने राजेन्द्रले पढे-लेखेका शिक्षित मान्छेका अशिक्षित र अव्यवाहारिक व्यवाहार केलाउँदा लाथ्यो, पढ्दैमा सबै कुराको ज्ञान कहाँ हुँदोरहेछ र ? सायद त्यसैले त बुढापाकाले आहान कथेका होलान्, ‘अर्ती भने ….का पनि मान्नू ।’

प्रनिशा अधिकारी

अधिकारी नेपालखोजका संवाददाता हुन् ।

प्रतिक्रिया