बिहीबार, जेठ १०, २०८१

राजासँग नझुक्ने, राष्ट्रियताको पक्षमा उभिने नेता

नेपालखोज २०७८ फागुन २० गते १३:१७

गणतन्त्रको पक्षमा नउभिएका कारण कतिपयले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको आलोचना गरेको पाइन्छ । यद्यपि एतिहासिक सत्य के हो भने यी तिनै कृष्णप्रसाद भट्टराई हुन् जसले प्रजातन्त्रका पक्षमा तत्कालीन राजा महेन्द्रसँग कुनै सम्झौता नगरेका कारण १४ वर्ष जेलमा बिताउनुपरेको थियो भने २०४७ को संविधान जारी गराउन राजा वीरेन्द्रसँग संघर्ष गर्नुपर्यो । जीवनभर राजाहरुको खेदाइमा परेका भट्टराई भुराजनितिक अवस्थाका कारण नेपालको राष्ट्रियताका लागि राजतन्त्र आवश्यक भएको मान्थे । यसमा उनी अविचलित रहे, यहाँसम्म कि राजा, एमाले तथा आफ्नै पार्टीका अन्तरघातीहरु मिलेर आफूलाई चुनाव हराउँदा पनि उनले गुनासो गरेनन् । २००७ सालपछि सधैं शान्तिपूर्ण आन्दोलनको वकालत गरेका भट्टराईले जेलनेल पाए पनि स्वदेशमै बसेर प्रजातन्त्रको लडाइँ लड्न रुचाए, उनी कहिल्यै भारत निर्वासनमा गएनन् ।

माफी नमागेको कारण सक्रिय राजतन्त्रको पञ्चायत कालमा १४ वर्षसम्म जेल बसेका भट्टराईले पछिल्लो समयमा किन आफूलाई गणतन्त्रको विरोध गर्ने लहरमा दृढतापूर्वक उभ्याए भन्ने कुरा बुझ्न नसक्ने , बुझ्न नचाहने वा बुझेर पनि बुझ पचाउनेहरु राजतन्त्रवादी, गणतन्त्रवादीदेखि लिएर उनकै पार्टीभित्र पनि प्रशस्तै थिए । यसैको परिणाम स्वरुप आफैंले स्थापना गरेको पार्टी नेपाली कांग्रेसले संवैधानिक राजतन्त्रको मान्यता त्यागेर गणतन्त्रलाई समाएपछि उनले पार्टीनै त्यागिदिए । वर्षौंसम्म एउटै पार्टीमा रहेर काम गरेको गिरिजाप्रसाद कोइरालासँग प्रजातन्त्रको पुनर्स्थापनापछिका समयमा उनको बेमेल बढ्यो ।

तानाशाही राजतन्त्रका कट्टरविरोधी तर नेपाली राष्ट्रियताका लागि राजतन्त्र आवश्यक भएको मान्ने भट्टराईको धारणा बुझ्न सहयोगी हुन्छ भनेर हामीले उनको डायरीको यो अंश साभार गरेका छौं । आवश्यक सम्पादन गरिएको यो सामग्री पत्रकार एवं साहित्यकार हरि अधिकारीको पुस्तक संकलित गद्यरचनाबाट लिइएको हो ।

०००
कृष्णप्रसाद भट्टराईको डायरीबाट :
वि.सं २०२५ साल भाद्र… गते
‘केही दिनमै वीपी बाबु र गणेशमान जेलबाट छुट्नु हुन्छ । हामी दुईजना दिवानसिंह राई र मलाई भने यहाँबाट भोलि जेल सरुवा गर्ने भएका छन् । छुट्न त हामी दुईजना पनि सक्दथ्यौँ, राजाका तर्फबाट सुवर्णशमशेरको वक्तव्यको समर्थन गरेको जस्तो पारेर संसदीय व्यवस्थाको विरोध र पञ्चायतको समर्थन गरेको एउटा लिखतमा सहीछाप गरे रिहा गर्ने शर्त राखिएको थियो । मैले त्यस्तो कुनै कागज गरेर छुट्ने कुरा स्वीकार गर्न सकिनँ । दिवानसिंह राईले पनि मानेनन् । हामी अहिले बडो विडम्वनापूर्ण स्थितिमा छौँ । हाम्रा नेताहरू कागज गरेर छुट्ने भएका छन् हामीलाई भने अरू कति दिन जेलमैँ बसिरहनु पर्ने हो, थाहा छैन ।

यी दिवानसिंह राई पनि गजवकै छन् मानिस । मतवाली राई भए पनि माछा–मासु त्यति धेरै नरुचाउने, रक्सी–चुरोट छुँदै नछुने, शान्त र धीर–गम्भीर स्वभावका यिनी प्रजातन्त्रप्रति धेरै समर्पित छन् । माझकिराँत भोजपुर जिल्लाको छिनामखु भन्ने गाउँका नामूद मानिस ध्यानबहादुर राईका छोरा हुन् यिनी । ध्यानबहादुर राजा महेन्द्रका मन परेका व्यक्ति । बारम्बार बडाहाकिमजस्तो ठूलो प्रशासनिक पदमा नियुक्त गरेर पठाउँछन् महेन्द्रले राई बूढालाई । राजाको त्यस्तो कृपादृष्टि परेका मानिसको छोरो राजाकै जेलमा बसिरहँदा उनलाई अप्ठ्यारै परिरहेको हुनुपर्दछ । ध्यानबहादुरले, त्यसैले, दिवानसिंहलाई छुटाउन धेरै पटक कोशिस गरे तर सकेनन् । राजा, तिम्रो छोरालाई म छोडिदिई हाल्छु, पञ्चायतको समर्थन गरेको कागजमा सहीछाप गर्न लगाऊ न भन्ने, दिवानसिंह त्यस्तो कागजमा सहीछाप गर्न नमान्ने । यसै कुरामा अड्किएर दिवानसिंह पनि मसँगै छन् । कस्ता–कस्ता ठूला भनिएका नेताहरू टिक्न नसकेका समयमा यी राई युवकले जुन साहस र उच्च मनोबल देखाएका छन्, त्यो साँच्चिकै तारिफयोग्य छ ।

गणेशमानजीले आज दिउँसोको चिया खाने बेलामा मतिर बडो भरोसाको नजरले हेर्दै भनेको, ‘कृशनजी यस्तै भयो तपाइँलाई साथ दिन नसक्ने भएँ । काङ्ग्रेस अब तपाइँकै सहारामा हुनेछ’ भन्ने वाक्य सम्झिँदा मलाई अलिकति गर्वको अनुभूति हुन्छ र हाँसो पनि उठ्छ । सत्र साल पुस १ गते भएको मेरो गिरफ्तारी, त्यसपछिको लामो कारावास र आज आएर वीपी र गणेशमान सिंहजस्ता मेरो पार्टीका ठूला नेताहरू कारामुक्त हुने निश्चित भइसक्दा पनि मैले भने अझै जेलमैँ बसिरहनु परेको यो अवस्थामा त्रासद-हास्यको तत्त्व प्रचूर मात्रामा छ भन्ने मलाई लाग्दछ । यसलाई नियतिले मेरो जीवनमाथि गरेको एउटा क्रूर ठट्टा पनि भन्न मिल्दछ ।

२०१७ पुस १ पछिका घटनाहरूको श्रृङ्खलाले के प्रमाणित गरिदिए भने म राजा महेन्द्रको निशानामा पहिलेदेखि नै थिएँ । कुनै कारणवशः म तरूण दलको त्यो, काङ्ग्रेसी नेताहरूको आम-गिरफ्तारीका कारण ऐतिहासिक बन्न पुगेको अधिवेशनमा नपुगेको भए पनि राजाले धुइँपात्ताल खोजेर मलाई गिरफ्तार गरेरै छाड्दथे र यसैगरी जेलमा सडाइरहन्थे । उनका दृष्टिमा म कृष्णप्रसाद भट्टराई उनको असीम महत्वाकांक्षाको बाटोमा तगारो बन्न सक्ने प्रजातान्त्रिक चेतनापुञ्जको एउटा सानो कण थिएँ जुन बाहिर खुल्ला रूपमा रहुञ्जेल उनका लागि सधैँ खतरा बन्न सक्दथ्यो ।

राजा महेन्द्रले आफ्नै सरकारका विरूद्ध चालेको त्यो घृणित कदम र प्रजातन्त्रवादी नेता–कार्यकर्तामाथि गरेको अमानवीय कार्वाहीको अभीष्ट विवादरहित ढङ्गमा प्रष्ट भएको छ तापनि त्यसको प्रकट रूपमा देखिने उत्प्रेरक तत्वहरूका बारेमा जहिले पनि छलफल गर्न सकिन्छ । निरङ्कुश तर सदाशयपूर्ण उदार राजा बन्ने आकांक्षाबाट डोरिएका उनलाई जनताको मतका आधारमा चुनिएर आएका यी जनप्रतिनिधिहरूले भन्दा बढी राम्रो र छिटो यस देशको विकास गर्न सक्दछु भन्ने निरर्थक अहंकारले हुट्हुटी लगाइरहेको पो थियो कि ? अथवा उनले हामी प्रजातन्त्रवादीहरूको प्रजातन्त्रप्रतिको प्रतिवद्धता कति दह्रो छ र यसका लागि कति ठूलो कष्ट सहन सक्दछौ भन्ने कुरा जाँच्नकै लागि यस्तो क्रूर तरिका अप्नाएका हुन् कि ?

जे भए पनि राजाले चालेको सत्र साल पुस १ गतेको कदमको परिणाम, कम्तीमा पनि मेरो सन्दर्भमा उनले सोचे जस्तो अलिकति पनि निस्किएन भन्ने दावी गर्न सक्दछु म । त्यो भयानक दिनभन्दा पहिले म नेपालको सार्वभौम संसदको सभामुख थिएँ, आफ्नो पदीय दायित्व इमान्दारी र पूर्ण निष्ठाका साथ पूरा गरिरहेको थिएँ । सभामुखको निष्पक्ष कुर्सीको मर्यादा अनुरूप नेपाली काङ्ग्रेस पार्टीको सदस्यता त्यागेर संसदीय प्रणालीको एउटा महत्वपूर्ण पुर्जाका रूपमा त्यसको प्राणप्रतिष्ठा गर्दै थिएँ । तर काङ्ग्रेसको सदस्य छँदा र त्यसलाई त्यागेर सभामुखका हैसियतले काम गर्दा पनि प्रजातन्त्रका सार्वकालिक र सार्वभौम मूल्य–मान्यताहरूप्रतिको मेरो जुन प्रतिवद्धता थियो त्यसको मात्रामा एक इन्च पनि फरक परेको थिएन । र अहिले, ८ वर्षदेखि जेलको पर्खालभित्र कैद भएर यन्त्रणामय दिनहरू बिताइरहँदा पनि प्रजातन्त्रप्रतिको मेरो आस्था र विश्वास रत्तीभर पनि डग्मगाएको छैन, बरु कष्टको आरनमा खारिएर त्यो झनै दह्रो भएको छ ।

अवाञ्छित महत्वाकांक्षाको पछि दगुरिरहेका राजाले समयको गति र जनताको शक्ति दुवैको हेक्का राखेका छैनन् । त्यसमाथि जन्मजात शासक बन्न पाउने सुविधा पाएको व्यक्तिमा पैदा हुने अहंकारले उनको सोच्ने क्षमतालाई भुत्ते बनाउदै लगेको जस्तो छ । अहिलेको घडीमा उनको अहंकारलाई हाँक दिन सक्ने कुनै तागत पर–परसम्म पनि प्रकट भएको देखिँदैन । त्यसैले उनी मनलाग्दो किसिमले आफ्नो अहम्‌को तुष्टि गर्ने भद्दा खेल खेलिरहेका छन् ।

सत्र साल पुस १ गतेको काण्डको लगत्तै पछिदेखि राजाले आफ्नो अहंकारको तुष्टिका लागि अनेक अपकर्म गरेका छन् । सबैभन्दा पहिले त उनले नैतिक साहसका दृष्टिले कमजोर, ढुलमुले चरित्र भएका राजनीतिक कार्यकर्ताहरूलाई प्रजातान्त्रिक पथ–विचलित बनाउने अभियान चलाए, त्यो अभियान धेरै हदसम्म सफल पनि रह्यो । लोभीपापी, लुच्चा–लफङ्गा र चापलुसहरू त उत्नीखेरै उनको तलुवा चाट्न तयार भइहालेका थिए । जो भाँचिन बरु तयार थिए झुक्न होइन, तिनीहरू माथि यिनको सत्ताले निर्मम प्रहार गर्‍यो । प्रजातन्त्रवादी सामाजिक अगुवाहरू अराष्ट्रिय बनाइए । ती अराष्ट्रिय तत्वहरूमध्ये कतिजना जेलमा सड्न वाध्य भए, कतिजना मारिए र कतिजना निर्वासित भए ।

राजाले वलात् सत्ता कब्जा गरेको यो झण्डै आठ वर्षको अवधिपछि शासनमाथिको उनको नियन्त्रण सम्पूर्ण भएको छ । न आन्तरिक न वाह्य, कतैबाट पनि उनको विरोध हुने स्थिति छँदैछैन भने हुन्छ । सत्र सालको लगत्तैपछि निकै प्रभावशाली ढङ्गमा सशस्त्र प्रतिरोध गरेका भारत प्रवासमा रहेका नेपाली काङ्ग्रेसका पूर्व सभापति सुवर्णशमशेरले नै ‘राजासँग विरोध होइन, राजनीतिक सहकार्य गर्ने’ नीतिको घोषणा गरेर आत्मसमर्पण गरेपछि राजाको प्राधिकार चुनौतीरहित बनेको छ । सुवर्णशमशेरको त्यो सम्झौतावादी वक्तव्यपछि दिन प्रतिदिन बलियो र दुर्दमनीय बन्दै गएका राजाको विरोध गर्दा–गर्दा थाकेका नेपाली काङ्ग्रेसका बचेखुचेका नेता कार्यकर्ताहरूले पनि आत्मसमर्पण गरिसकेका छन् ।

सबैतिरबाट बनेको यस्तो सजिलो राजनीतिक वातावरण देखेर राजालाई पनि मुक्त हुन बाँकी रहेका राजवन्दीहरूलाई छोडिदिउँ जस्तो लाग्दो हो । यी थोरै थकित–गलित र लगभग कार्यकर्ताविहीन भइसकेका नेताहरूले बाहिर निस्केर पनि अहिले नै उनको सत्तालाई चुनौती दिने खालका गतिविधि गरेर कुनै प्रकारको अप्ठ्यारो स्थितिको सिर्जना गर्न सक्ने छैनन् भन्ने पनि उनलाई थाहा छ होला । तर कठिन सङ्घर्ष गरेर त्यो ठाउँमा पुगेका जनताका ती प्रिय नेताहरूलाई कुनै न कुनै प्रकारले नझुकाई, अपमानित नगरी कारावासबाट बाहिर आउन दिन उनको अहंकारले अनुमति दिइरहेको छैन । वीपी कोइराला र गणेशमान सिंहले समेत् सुवर्णशमशेरको वक्तव्यको समर्थन गरेको जस्तो झिनो आवरणमा स्वतन्त्रताको मूल्य पञ्चायतको समर्थनमा वक्तव्य निकालेर चुकाउनु परेको मुख्य कारण राजा महेन्द्रको अहंकार नै हो ।

राजा महेन्द्रको यो अहंकार अन्त्यमा गएर गद्दीनशीन शाहवंशकै निम्ति सर्वनाशको कारण बन्न सक्दछ भन्ने कुराको यिनले हेक्का राखेका छैनन् । मध्यमार्गी नेपाली काङ्ग्रेस पार्टीले विगतमा पनि संवैधानिक राजतन्त्रात्मक प्रणालीमा आस्था राख्ने भएका कारणले दिल्ली भागेर गएका राजा त्रिभुवनलाई फर्काएर गद्दी दिलाएकै हो । अब तिनै त्रिभुवनका छोरा यी राजा महेन्द्रले यसैगरी नेपाली काङ्ग्रेसलाई दबाई नै रहन खोजे भने एकदिन एउटा त्यस्तो क्षण आउने छ, नेपाली काङ्ग्रेस र कम्युनिस्ट पार्टीहरूले राजसंस्थाको अन्त्यका लागि हातेमालो गर्नेछन् । तर मेरो विचारमा त्यस्तो क्षण आयो र यस देशबाट राजसंस्थाको जरो उखेलियो भने त्यो समग्र राष्ट्रका लागि भने बडो दुर्भाग्यको विषय हुनेछ ।

यी सबै कुरालाई देखेर मैले पनि मेरो अहंलाई जगाएको छु । राजा महेन्द्र र म यस सन्दर्भमा एउटै धरातलमा उभिएका छौँ । उनी मलाई अपमानित नगराई नछाड्ने, म कागज गर्दै नगर्ने । उनी राजहठ पक्डेर बसेका छन् तर छन् दरबारको सुख–सयलमा । उनको दृष्टिमा मेरो यो अडान मूल्यहीन, मूर्खता मात्र होला । उनी मसँग क्रुद्ध पनि भएका होलान् । म पनि मेरो हठ बोकेर बसेको छु तर छु जेलभित्रको कठोर र यातनामय साँघुरो परिवेशमा । राजाप्रति मेरो भावना के छ ? म ठ्याक्कै भन्न सक्दिनँ । उनीसँग म क्रुद्ध छु पनि भन्न सक्दिनँ । मैले त उनलाई आफूभन्दा बलियो भए पनि अवज्ञा गर्न र दुत्कार्न सकिने खालको मामूली दुश्मन मात्र ठानेको छु ।

अझ अरू कति दिन, कति महिना वा वर्ष जेलमै बिताउनु पर्ने हो, मलाई थाहा छैन । कागज गरेरै भए पनि जेलबाट बाहिर निस्कन लाग्नु भएका मेरा नेता वीपी र गणेशमान सिंहले छिन्नभिन्न भएको प्रजातान्त्रिक आन्दोलनमा कसरी प्राण सञ्चार गर्नु होला वा गर्न सक्नु हुन्न होला, त्यो पनि म भन्न सक्दिनँ । उहाँहरू दुवैले पञ्चायतको समर्थनमा गरेको सहीछाप फगत एउटा रणनीतिक सम्झौता मात्र हो र उहाँहरूले कहिल्यै पनि राजासँग आत्मसमर्पण गर्नु हुने छैन भन्ने कुरामा भने म पूर्णतः विश्वस्त छु ।

वीपी र गणेशमान दुवैलाई कागज गरेर कारामुक्त हुन लागेको कुरामा ग्लानी भइरहेको छ भन्ने मैले राम्रोसँग बुझेको छु । मसँग यस विषयमा छलफल गर्ने क्रममा वीपीले पीडार्द स्वरमा भनेको, ‘आई प्रे यु आर् करेक्ट एण्ड आइ याम् रङ् किसुनजी !’, लाई म कसरी बिर्सन सक्दछु ? त्यतिबेला कलेजो नै बाहिर निस्केला झैँ भएको थियो मेरो । एकछिन त मैले यी नेतालाई उनको जीवनको सबैभन्दा कठिन क्षणमा साथ नदिएर धोका दिएकोमा आफैँलाई धिक्कार्न मन लागेको थियो मलाई । तर त्यति नै बेला गणेशमानजीले आँखाको भाषामा कागज गरेर नछुट्ने मेरो अडान ठीक छ, नझुक्नु भन्ने प्रष्ट दिशानिर्देश गर्नु भएको थियो । गणेशमानजीलाई परोक्ष रूपमै भए पनि संसदीय व्यवस्थाको निन्दा र पञ्चायतको समर्थन गरेको कागजमा सहीछाप गरेर जेलबाट छुट्ने कुरा पटक्कै मन परेको थिएन । तर उहाँले वीपीको स्वास्थ्यलाई ध्यानमा राखेर हुन्छ भनिदिनु भएको थियो ।

यथास्थितिमा म कहिले र कसरी जेलबाट बाहिर निस्कन सकुँला म भन्न सक्दिनँ । जुन राज्यमा नीति, नियम र कानूनभन्दा कुनै एक व्यक्ति वा व्यक्तिहरूको सानो समूहको चाहना धेरै शक्तिशाली हुन्छ, त्यस राज्यमा मानवीय स्वतन्त्रता, समता, न्याय र विधिको शासनको आकांक्षा राख्ने मजस्ता मानिसका भागमा जेल–नेल, यातना र प्रताडना नै पर्ने हो भन्ने कुरा मलाई राम्रोसँग थाहा छ । म यसका लागि तयार छु ।

शुरुमा म परिस्थितिजन्य कारणहरूले गर्दा राजनीतिमा आएको थिएँ भने आज आएर यो मेरो आफ्नो रोजाइको बाटो भएको छ । सत्र सालभन्दा पहिले म काशी कोतवालीमा २० दिन हिरासतमा बसेको बाहेक जेलमा कहिल्यै पनि परेको थिइनँ । जब म त्यस वर्ष बिल्कुलै अकारण, अन्यायपूर्ण ढङ्गले गिरफ्तार गरिएँ र बिना अदालती कार्वाही ६–६ महिनाको थुनुवा पुर्जी दिइँदै मलाई लगातार ८ वर्ष जेलमा राखिएको छ र, अहिले आएर यो बिना कुनै अपराधको दण्डबाट छुट्कारा पाउन मैले मेरो आस्थाको विरुद्ध सहीछाप गर्नु पर्ने शर्त तेस्र्याइएको छ, यसबाट मैले रोजेको राजनीतिको बाटोको उपयुक्तता र आवश्यकता झनै प्रमाणित भएको छ ।

व्यक्तिका रूपमा मेरा अनेकौँ कमजोरीहरू छन् । थोरै जुन गुणहरू छन् ममा तीमध्ये एउटा महत्वपूर्ण गुण मेरो आशावादिता हुनसक्दछ भन्ने म ठान्दछु । यही आशावादिताले गर्दा म जेलको लामो, पट्यारलाग्दो र यातनामय बसाइलाई धैर्य र सन्तुलनका साथ बिताउन सक्ने भएको छु । मलाई आफू जेल बसेको कुराको सार्थकताप्रति पूर्ण विश्वास छ । हाम्रा साथीहरू र मैले बिताएका जेलका यी अँध्यारा दिनहरूले हामी पछिको पुस्तामा नयाँ उर्जा र नयाँ जीवन थपेर तिनलाई अझै बढी कर्मण्य र सक्षम बनाउनेछन् भन्ने कुरामा म विश्वस्त छु ।

नेपाली राजनीतिको फलकमा फैलिएको निरङ्कुश अघिनायकवादको कालो बादल एक दिन अवश्य पनि फाट्ने छ । एकतन्त्रीय राणा शासनको अन्त्य भए जस्तै शाहहरूको अहिलेको मनपरीतन्त्र पनि नष्ट भएर जान्छ र देशमा पुनः प्रजातन्त्रको सुनौलो बिहानी आउनेछ भन्ने बारे आफ्नो जन्मजात आशावादिताका कारणले म निश्चिन्त छु, पूर्णतः विश्वस्त छु ।
राजनीति मेरा लागि व्यक्तिगत लाभको कार्यव्यापार होइन । वास्तवमा हामी भट्टराईहरूको सम्पूर्ण परिवारमा नै एक प्रकारको निस्संगताको संस्कार छ भन्ने म ठान्दछु । यसलाई अनाचारभीरुता पनि भन्न सकिन्छ । भारतीय स्वतन्त्रताको संग्राममा हाम्रो सम्पूर्ण परिवारकै संलग्नता रहेको हो र मैले जहिले पनि अवसरवादितालाई मानिसको निकृष्टतम् अवगुण ठान्दै आएको छु । वास्तवमा मैले केटाकेटीदेखि नै घरबाट, वरिपरिको परिवेशबाट, स्कूल–कलेजका गुरूहरूबाट सिकेको कुरो नै यही हो । म राजनीतिक परिस्थितिलाई आफ्नो व्यक्तिगत राजनीतिक लाभ लिने हेतुले प्रयोग गर्ने कुरा कहिल्यै सोच्न सक्दिनँ । कतिजनाको नजरमा धृष्टता जस्तो लाग्ने मेरो व्यवहारको रहस्य पनि यही हो ।

आज डायरीमा लामो लेखें । आजको दिन विशेष दिन पनि त हो । वीपी बाबुको पूरै क्याबिनेट नै अटाउने गरी बनाउन लगाइएको सुन्दरीजलको यो विशेष कारागृह भोलि आएर खाली–खाली हुनेछ र सम्भवतः एक–आध हप्तामा पूरै रित्तो । हामी दुई प्राणी छौँ दिवान र म– अनिश्चित भविष्यलाई अरू अनगिन्ती दिन जेलको एकान्त कोठरीमा बसेर पर्खन अभिशप्त । हो म पर्खन तयार छु । नियतिलाई यही मन्जूर छ भने यही सही, म पनि नियतिको चाहनालाई सेयर गर्न तयार छु ।’

प्रतिक्रिया