मंगलबार, जेठ १, २०८१

चुनावी घोषणापत्र अनुसार नै हामीले सबै कार्य गर्दै आएका छौं : मेयर शाक्य

नेपालखोज २०७८ फागुन २० गते १५:२०

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षणमा संघीय सरकारले चासो नदिएको गुनासो गरेका छन् । मेयर शाक्यले शुक्रबार भोटाहिटीस्थित अन्नपूर्ण मन्दिरको आँगन घर पुनर्निर्माण कार्यको शिलान्याशमा सम्पदाहरुको संरक्षण गर्ने दायित्व संघीय सरकारको भएपनि सोही अनुसार काम नगरेको बताए ।

उनले संघीय सरकारले सहयोग नगरेपनि काठमाडौं महानगरपालिकाले सबै सम्पदाहरुको पुनःर्निर्माणको कामलाई अघि बढाएको दाबी गरे । उनले भने, ‘हामीले चुनावको बेला घोषणा गरेका थियौं । काठमाडौं एउटा ऐतिहासिक शहर, सांस्कृतिक शहर । यसलाई जिवन्त बनाउनुपर्छ भनेर हामीले भनेका थियौं । यसलाई संरक्षण गर्ने, प्रवद्र्धन गर्ने र पर्यटनसँग जोड्ने भन्ने नीति लियौं ।’

उनले महानगरपालिकाले सम्पदाहरुको पुनर्निर्माणमा आर्थिक सहयोग गर्ने तर त्यसको संरक्षण र व्यवस्थापनको जिम्मा भने स्थानीय गुठीहरुलाई नै दिने नीति अनुसार काम भइरहेको बताए । उनले भने, ‘चुनावी घोषणापत्र अनुसार नै हामीले सबै कार्य गर्दै आएका छौं । अहिले पनि यो सम्पदान भनेको राज्यको सम्पत्ति हो । यो पहिलो गठियारहरुले बनाएका थिए । त्यो गुठियारले अहिले संरक्षण गर्न नसकिरहेको अवस्थामा राज्यको उपस्थिति त्यहाँ हुनुपर्छ । राज्यले संरक्षण पनि गर्ने हो । त्यसका लागि हामीले आर्थिक पक्ष आफूहरुले हेर्ने तर त्यसको संरक्षण र व्यवस्थापनको काम गठियारलाई नै दिने नीति लिएका छौं । यसको संरक्षणको लागि संघीय सरकारले जिम्मेवारी लिएन । हामीले जिम्मेवारी लिएर पुनर्निर्माणको कामलाई तीव्रता दिएका छौं ।’

सो आँगन घर पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले ७६ लाख ११ हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । जस अनुसार पहिलो किस्ताबापत २५ लाख ११ हजार निकास भएको र यसको पुनर्निर्माणको कामको पनि शुभारम्भ गरिएको पुनर्निर्माण समितिका सचिव तीर्थ महर्जनले जानकारी दिए ।

समितिका अनुसार सो आँगन घरको पुनर्निर्माणका लागि करिव साँढे १ करोड बजेट लाग्नेछ । २ वर्षभित्र पुनर्निर्माणको काम सम्पन्न हुने गरी अघि बढाइएको पुनर्निर्माण समितिले जनाएको छ ।

प्रतिक्रिया