शनिबार, वैशाख २२, २०८१

पशुपतिको पुरानो पुल

सुनील उलक २०७८ फागुन २१ गते १२:५३

उपत्यकाका नेवा:हरुको प्रमुख चाड इन्द्रजात्राको दिन पारेर काठमाडौं उपत्यका आक्रमण गर्न गोरखाका राजा पृथ्वीनारायण शाहले भाद्र कृष्ण चतुर्दशीका दिन क्षेत्रपाटी, टुँडिखेल, नरदेवी, खिचापोखरीमा सेनाले घेरा हालेर आफू भने मौकाको ताकमा नरदेवीको द्यछेमा बसिरहेका थिए । कुमारीको रथ तानेर ह्युमत पुगेको समय पृथ्वीनारायणले दरवारमा आक्रमण गरे । राजा जयप्रकाश मल्ल भागेर पाटन पुगे । त्यसपछि पृथ्वीनारायण गद्दीमा बसे । भोलिपल्ट नेवा: परम्परा अनुसार कुमारी घरको डबलीमा गद्दी राखेर नयाँ राजाले कुमारीबाट टिका ग्रहण गरे । यसरी सहजै पृथ्वीनारायण शाह काठमाडौको राजा बनेका थिए ।

राजा बनेपछि उपत्यकाको धार्मिक परम्परालाई सहजै स्वीकार्दै अन्य राज्य पाटन तथा भक्तपुरमा पनि विजय प्राप्त गरेका थिए । गोरखाबाट आक्रमण गरी राजा बनेका गैरनेवार भए पनि नेवा:हरुको सांस्कृतिक पर्व तथा देवताहरु प्रति सद्भाव र स्वीकार गर्दै रहँदा विभिन्न विकासका कामहरु पनि गर्न थालेका थिए ।

No description available.

जंगबहादुर राणाका जिजुबाजे एवं पृथ्वीनारायण शाहको समय सरदारको रुपमा रहेका रामकृष्ण कुँवरले राजाको अनुमति लिई पशुपतिनाथको मन्दिरदेखि गुह्येश्वरीसम्म जाने ढुंगे बाटो बनाएका थिए । बाटो भरि ढुंगा ओछ्याउने तथा ठाउँ-ठाउँमा सिँढी पनि बनाएका थिए । यसरी रामकृष्ण कुँवरले पशुपति मन्दिरदेखि गुह्येश्वरीसम्म बनाएको बाटोको प्रसंग आए पनि वाग्मती नदीमाथि बनाइएको ढुंगे पुलको प्रसंग भने कतै उल्लेख गरिएको पाइँदैन । पुलको कुनै प्रसंग नआएको भए पनि सो वाग्मती नदीमाथि बनाइएको पुल सोही समयमा बनाइएको हुन सक्ने अनुमान भने लगाउन सक्छौं ।

वि.सं. १८२६-२७ को बीचमा सो बाटो बनाउँदा नै वाग्मती नदीमाथिको ढुंगे पुलको पनि निर्माण गरेको मान्न सकिन्छ । वाग्मती नदीलाई पशुपतिनाथको मन्दिरको क्षेत्रमा दुवैतर्फ घाट बनाएर खोलालाई साँघुरो पारिएको छ । यसरी साँघुरो भएको ठाउँमा दुवै किनारमा ढुंगे पर्खाल उठाएर त्यसमाथि बलिया काठका मुढा तेर्स्याएर त्यसमाथि ढुंगा बिछ्याएर पुल बनाएको देखिन्छ । मानिसहरुको मात्र आवतजावत हुने हुँदा पनि यो पुल २५० वर्षदेखि उस्तै देखिन्छ । पुलको समय समयमा मर्मत गरिने हुँदा पनि यो पुल हालसम्म यथावत् देखिन्छ ।

यहाँ राखिएको तस्बिर खिचिएको समय अर्थात् राणा प्रधानमन्त्री चन्द्रशमशेरको समयमा पुरानो ढुंगे पुलको उत्तरतर्फको अर्को पुल बनाउँदै गरेको देख्न सकिन्छ । साथै पशुपति मन्दिरतर्फको घाटमा पनि ढुंगा बिछ्याउने कार्य गर्दै गरेको देख्न सकिन्छ । बन्दै गरेको पुलमा पनि पुरानै शैलीमा लामा दुई काठको सत्तरी राखेको देख्न सकिन्छ । जसरी घर निर्माणको क्रममा निदालमाथि दलिन बिछ्याइन्छ । त्यसैगरी यी पुलमा पनि लामा निदालमा तेर्सो दलिनका काठहरु झैं राखी त्यसमा ढुंगा बिछ्याएर माटोले सम्याउने काम गरिन्छ । पहिले पहिले यसरी बन्ने गरेका पुलहरु निकै बलिया हुन्थे ।

प्रतिक्रिया