शुक्रबार, वैशाख २६, २०८२

एनएसएल अक्सन- कति खेलाडी दोहोरिए र कुन टिमले कति खर्च गर्‍यो ?

नेपालखोज २०७८ फागुन २१ गते १६:१९

काठमाडाैं । नेपाल सुपर लिगको दोस्रो संस्करणका लागि यो पटक १० वटा टिमले अक्सनबाट खेलाडी खरिद गरिसकेका छन् । शनिबार भएको अक्सनबाट एक टिमले १५ खेलाडीलाई टिममा अनुबन्ध गरेको हो ।

अक्सनमा टिमले ५० हजार देखि बढिमा तीन लाख ५० हजारसम्म खर्च गरेर खेलाडीलाई टिममा भित्र्याए । पहिलो संस्करणमा रहेको सात टिममा यो पटक मार्की खेलाडीका रुपमा केहि हेरफेर भए । जसमा अघिल्लो पटक ललितपुर सिटी एफसीको मार्की खेलाडी रहेका अञ्जन विष्ट यो सिजनमा नयाँ टिम झापा एफसीको मार्की खेलाडीका रुपमा गएका छन । यस्तै अञ्जनको स्थानमा ललितपुरले बिमल घर्तिमगरलाई मार्की खेलाडी लिएको छ । यस्तै चितवनले पनि अघिल्लो सिजनमा भरत खवासलाई मार्की खेलाडीमा राख्दा यो पटक अनन्त तामाङलाई लिएको छ ।

पोखरा थन्डर्सले अघिल्लो सिजनमा नवयुग श्रेष्ठलाई मार्की खेलाडी लिँदा यो पटक सुजल श्रेष्ठलाई मार्की खेलाडी बनाएको छ । चोटका कारण सुजलले अघिल्लो सिजनमा खेल्न सकेका थिएनन् । यतिमात्र होइन, यो पटक नवयुगले धनगढी एफसीबाट खेल्ने भएका छन । बाँकी टिममा मार्की खेलाडीमा पुरानै अनुहार दोहोरिएका छन । यतिमात्र होइन, पहिलो संस्करणमा टिममा रहेका खेलाडीमा यो पटक केहि टिममा अनुहार दोहोरिएका छन । जसमा काठमाडौं रेजर्समा मार्की खेलाडी विकेश कुथु बाहेक अक्सनबाट आशिष गुरुङलाई पनि खरिद गरेको छ । उनलाई काठमाडौंले तीन लाख ५० हजार रुपैयाँमा अनुबन्ध गरेको छ ।

यस्तै ललितपुर सिटी एफसी पहिलो सिजनमा टिममा रहेका दुई जना खेलाडीलाई यो पटक पनि लिएको छ । जसमा नविन लामा र मिक्चेन तामाङ फेरी ललितपुरबाट खेल्ने भएका छन । ललितपुरले नविनलाई एक लाख ७० हजार र मिक्चेनलाई एक लाख ५० हजारमा खरिद गरेको छ । पोखरामा भने यो पटक अघिल्लो सिजनमा मैदानमा देखिएका कुनैपनि खेलाडी टिममा लिएको छैन् । मार्की खेलाडीमा सुजल श्रेष्ठ यो पटक टिममा जाँदा अक्सनबाट अरु खेलाडी भने दोहोरिएका छैनन् ।

बिराटनगर सिटी एफसीले पनि मार्की खेलाडीमा रञ्जित धिमाललाई दोहोर्‍याउँदा अक्सनबाट मनिष डाँगी र बिजय धिमाललाई खरिद गरेको छ । यसको अर्थ बिराटनगरमा यो पटक पहिलो सिजनमा मैदानमा देखिएका तीन खेलाडी दोहोरिने भएका छन । बुटवल लुम्बिनी एफसीमा मार्की खेलाडी बिशाल श्रेष्ठ फेरी टिममा देखिने भएका छन । उनी बाहेक बुटवल लुम्बिनीले यो सिजनमा अघिल्लो टिममा रहेका कुनैपनि खेलाडी खरिद गरेको छैन् ।

पहिलो सिजनको उपविजेता टिम धनगढी एफसीमा यो पटक पहिलो सिजनमा खेलेका तीन खेलाडी दोहोरिने भएका छन । जसमा मार्की खेलाडीमा विशाल राई, रुपेश केसी, पुजन उपरकोटी छन् । धनगढीले मार्कीमा विशाललाई नै निरन्तरता दिँदा अक्सनबाट रुपेश केसीलाई एक लाख रुपैयाँ, पुजनलाई तीन लाख ५० हजारमा खरिद गरेको छ । अक्सनमा धेरै रकम खर्च गर्ने टिममा धनगढी पहिलो स्थानमा रहेको थियो । उसले कुल २४ लाख रुपैयाँ खर्च गरेको थियो ।

यस्तै चितवन एफसीले यो पटक नयाँ मार्की खेलाडी भित्र्याउँदा अघिल्लो सिजनमा खेलेका एक खेलाडीलाई दोहोर्‍याएको छ । जसमा जर्ज प्रिन्स कार्कीलाई उसले एक लाख ५० हजार रुपैयाँमा खरिद गरेको छ । यो सिजनमा टिममा कुल २३ खेलाडी राख्न पाउने नियम छ भने विदेशी खेलाडीको संख्यापनि तीन जनाबाट ५ जना पुर्‍याइएको छ । अब टिमले अझै आइकोनिक खेलाडी र विदेशी खेलाडीलाई अनुबन्ध गर्न बाँकी रहेको छ । जसका कारण अघिल्लो सिजन र यो सिजनमा खेलाडी दोहोरिनेको संख्या बढ्न सक्ने सम्भावना छ ।

यो पटकको एनएसएलका लागि तीन नयाँ टिम आउँदा धेरै खेलाडी बाढिएका छन् भने मार्कीदेखि खेलाडीको मुल्यपनि केहि बढेको छ । यो पटकको अक्सनमा धनगढीले धेरै खर्च गर्दा बिराटनगर सिटी एफसीले २० लाख १० हजार रुपैयाँ खर्च गर्‍यो । बिरगञ्ज युनाइटेडले २२ लाख ९० हजार रुपैयाँ खर्च गर्यो भने अक्सनमा बुटवल लुम्बिनी एफसीले २३ लाख पाँच हजार रुपैयाँ खर्च गर्‍यो । यस्तै झापा एफसीले २३ लाख ६० हजार रुपैया अक्सनमा लगायो ।

काठमाडौं रेजर्सले २० लाख ५० हजार रुपैयाँ खर्च गर्दा ललितपुर सिटी एफसीले २२ लाख ७० हजार रुपैयाँ लगानी गर्‍यो ।पोखरा थन्डर्सले अक्सनमा २३ लाख खर्च गर्दा स्पोर्टिङ इलामले सबैभन्दा कम १८ लाख ५० हजार रुपैयाँ लगायो । यस्तै एफसी चितवनले १९ लाख रुपैयाँ खर्च गर्‍यो ।

प्रतिक्रिया