एमाले सांसद् मोहन बानियाँ निलम्बित

काठमाडौं । बलात्कारको आरोप लागेका नेकपा एमालेका सांसद् मोहन बानियाँलाई निलम्बन गरिएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकले बानियाँलाई सांसद् पदबाट निलम्बन गरेको हो ।
जबर्जस्ती करणीको आरोप लागेका एमाले सांसद् बानियाँलाई नेपालगन्जबाट प्रहरीले फागुन १६ गते पक्राउ गरेको थियो । माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा सांसद् बानियाँले ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो । पीडित महिलाले सांसद् बानियाँविरुद्ध माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
ती महिलाले दिएको उजुरीपछि जानकारी दिँदा पूर्वमन्त्रीसमेत रहेका बानियाँले आफू निर्दोष रहेको भन्दै आफै प्रहरीमा उपस्थित हुने प्रहरीलाई बताएको भए पनि पछिल्लो समय भने उनी सम्पर्कविहीन थिए ।
पीडितले भने आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर होटलमा बोलाएको र त्यही होटलमा बिहानीपख जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेकी छन्। त्यसबारे बानियाँले त्यो सबै झूट भएको र पैसा पनि ती महिलाले पाइसकेको भन्दै अब केही कुरा पनि आफूहरूको बीचमा नरहेको भन्दै बचाउ गरेका थिए।
हाल बानियाँलाई अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको छ । बानियाँ पिछडिएको क्षेत्रबाट एमालेका समानुपातिक सांसद् हुन् ।

प्रतिक्रिया