बिहीबार, जेठ १०, २०८१

गोलभेँडाले फेरिएको महिलाको जीवनशैली !

नेपालखोज २०७८ फागुन २२ गते १५:१०

पाल्पा । परम्परागत अन्नबाली उत्पादन गर्न छाडेर व्यावसायिक गोलभेँडा खेती गर्न थालेपछि यहाँका किसानको जीवनशैलीमा परिवर्तन देखिएको छ ।

गोलभेँडाका लागि बजारको भरपर्ने रिब्दीकोट गाउँपालिका–७, मैनादी लघुवा यतिबेला व्यावसायिक गोलभेँडा खेतीका लागि प्रख्यात बनेका छन् । यहाँका महिला किसानले व्यावसायिक रुपमा गोडभेँडा खेतीमा आकर्षित भएका छन् । टनेलभित्र गोलभेँडा उत्पादन गर्दा राम्रो आम्दानी हुन थालेपछि उनीहरु यसको व्यावसायिक खेतीमा लागेका हुन् । यसले महिला आत्मनिर्भर बन्दै गएका छन् ।

पाल्पाको रिब्दीकोट गाउँपालिका–२, लघुवाकी गङ्गा कुँवरले एक वर्षअघि कुँवर पशुपालन तथा कृषि फर्म गाउँपालिकाको कृषि शाखामा दर्ता गराइन्। व्यावसायिक कृषि कर्म गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याएको फर्ममार्फत उनले आठ वटा टनेलमा गोडभेँडा उत्पादन गरेकी छन्। रु आठ लाखको लगानीमा सञ्चालनमा ल्याएको टनेलभित्र बेमौसमी तरकारी उत्पादन गर्न सजिलो भएको उनको भनाइ छ ।

गोलभेँडा खेतीबाट मासिक रु ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेको उनले बताइन्। दसैँपछि नियमित रुपमा आम्दानी भएको कुँवरको भनाइ छ । टनेलभित्र उत्पादित तरकारीमा रोग, कीरा तथा पानीबाट सुरक्षित राख्दा उत्पादन बढी हुने गरेका छन् ।

एक पटक टनेल निर्माण गरेपछि पटक–पटक तरकारी खेतीका लागि संरचना निर्माण गर्नुपर्ने झन्झटसमेत हटेको छ । खुल्ला आकाशमुनि गोलभेँडा खेती गर्ने किसान अहिले टनेलभित्र उत्पादन गर्न थालेपछि असिनापानी तथा शीतबाट जोगाउन सजिलो भएको बताइएको छ । टनेलभित्रको जमिनमा प्लास्टिक विछ्यएकाले झार गोडिरहनुपर्ने समस्या छैन । चिसो तथा पानीबाट जोखिएपछि लामो समय गोडभेँडाले उत्पादन हुने गरेको अर्का किसान शर्मिला कुँवरको भनाइ छ ।

गोलभेँडा खेती गर्न थालेपछि यहाँका किसानले गोलभेँडामा रहेको परनिर्भरता समेत हटाएका छन् । ठूलो मात्रामा गोलभेँडा उत्पादन भएसँगै गरीबी हटाउन समेत सहयोग पुगेको उनको भनाइ छ । पाल्पामा उत्पादित गोडभेँडा रुपन्देहीको बुटबल, रुपन्देही, स्याजा पोखरा, चितवनसम्म निर्यात हुँदै आएको छ । गोलभेँडा खेतीबाट मात्रै पाल्पामा एक हजार बढी किसानले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

यहाँ उत्पादित ८० प्रतिशत गोलभेँडा पोखरामा निर्यात हुँदै आएको छ । पाल्पा, बुटवल र स्याङ्जा क्षेत्रमा २० प्रतिशत निर्यात हुन्छ । उत्पादित गोलभेँडाबाट राम्रो मूल्य र बजार पाउन थालेपछि यहाँका महिला किसान व्यावसायिक कृषितर्फ आकर्षित हुन थालेका छन् । व्यावसायिक गोलभेँडा खेती गर्न थालेपछि कमजोर आयस्रोत भएका परिवारको दैनिकी परिर्वतन देखिएको छ । आम्दानीको स्रोत बढेपछि स्थानीयवासिन्दा स्वास्थ्य, शिक्षा, सञ्चारलगायतका क्षेत्रमा पहुँच बढेको छ । श्रम र पसिना बगाउन हिम्मत गर्ने महिलाका लागि स्वदेशमा नै राम्रो कमाइ हुने कृषि क्षेत्रमा लागेका महिलाले देखाएका छन् ।

परम्परागत अन्नबालीको विकल्पमा व्यवसायिक गोलभेँडा खेती गरिरहेकी शर्मिला कुँवर आफैले व्यवसायिक खेती गर्दा जीविकोपार्जन गर्न सजिलो भएको बताइन्। आफ्नै कमाइमा छोराछोरी पढाउनदेखि घरव्यवहार चलाउन सफल भएकोमा यहाँका महिलाहरू गर्व गर्छन् । व्यवसायिक गोलभेँडा गर्नुअघि धेरै महिलालाई घरव्यवहार चलाउन निकै मुस्किल थियो । सानो कामको लागि पनि ऋणसापट गर्नुपर्ने बाध्यता भोगेका उनीहरू मिहिनेत गर्यो भने पैसामात्र होइन, सुख पनि पाइने अनुभव व्यक्त गर्छन् । गोलभेँडा बेचेर गतिलो आम्दानी गदै यहाँका महिला किसान् भन्छन्, “व्यवसाय गरेर आत्मनिर्भर भएपछि गाउँसमाजले पनि आशा र विश्वासको नजरले हेर्न थालेका छन् ।”

कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्थानीय तह तथा गैरसरकारी संस्थाले गोलभेँडा खेतीमा सहयोग गर्दै आएका छन् । गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले कृषि तथा पशुपालनका क्षेत्रमा अनुदान प्रदान गरिएको बताइन्। गोडभेँडामा उत्पादनको आधारमा अनुदान सहयोग गरेको गाउँपालिकाले सबै वडामा खुर्सानी खेतीमा प्रोत्साहन गरेको हो । ग्रामीण क्षेत्रका महिलाको आर्थिक स्थितिमा सुधार ल्याउन महिला केन्द्रीत कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष जिसीको भनाइ छ ।

व्यावसायिक गोलभेँडा खेतीबाट महिला किसानको जीवनस्तरमा सुधार आएको उनको भनाइ छ । उनले गरीबी हटाउनका लागि निम्न वर्गीय परिवार कृषिलगायतका उत्पादनमूलक क्षेत्रमा मेहनत गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया