शुक्रबार, वैशाख २६, २०८२

झापा गोल्डकप : संकटासँग नेपाल पुलिस १-० ले पराजित

नेपालखोज २०७८ फागुन २२ गते १८:०१

काठमाडाैं । ए डिभिजन लिग क्लब संकटा पाँचाैं ‌‌ संस्करणको झापा गोल्डकप फुटबल क्वाटरफाइनलमा प्रवेश गरेको छ । झापाको विर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आइतबार सम्पन्न खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई क्लबलाई १-० ले पराजित गर्दै संकटा क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

संकटाको जितका लागि एक मात्र गोल उत्तम राईले गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६४ औं मिनटमा उत्तमले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । जितसँगै संकटा क्वाटरफाइनलमा प्रवेश गर्दा पुलिस भने प्रतियोगिताबाट बाहिरिएको छ । संकटाले २४ गते हुने क्वाटरफाइनल खेलमा थ्री स्टार क्लबसँग खेल्नेछ ।

प्रतियोगितामा झापा–११ सहित ए डिभिजन क्लब नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपीएफ, थ्री स्टार, संकटा, सातदोबाटो र जावलाखेल युथ क्लब तथा दुई भारतीय टोली एम एफसी दार्जीलिङ र आरपी एफसी सिक्किम सहभागी छन् ।

प्रतियोगिताको विजेता टोलीले नगद १२ लाख ५५ हजार प्राप्त गर्दा उपविजेताले नगद ६ लाख ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । आजको खेलको उत्कृष्ट खेलाडी बिजेता टिम संकटाका फोडे फोफोना घोषित भए । खेलका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाललाई सिल्भर स्पोन्सर डिलाइट फुडका प्रदेश १ का सेल्स प्रमुख सागर रिजालले मायाको चिनो प्रदान गरे ।

भोलिको खेल सातदोबाटो र सशस्त्र प्रहरी बलबिच हुने आयोजकले जनाएको छ । त्यस्तै मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ भने प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार पुरस्कार पाउनेछन् भने उच्च गोलकर्तालाई नगद २५ हजार दिइने छ ।

प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ९ हजार ९९९ पाउनेछन् । हिजोबाट सुरु भएको खेलमा जावालाखेल युथ क्लबलाई पराजित गर्दै सातदोबाटो अघि बढिसकेको छ ।

प्रतिक्रिया