शनिबार, जेठ ५, २०८१

देशको अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमा पुग्यो : पूर्वगभर्नर नेपाल

नेपालखोज २०७८ फागुन २४ गते १९:१६

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवि नेपालले पछिल्लो समय मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमा पुगेको बताएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्थवार्षिक समिक्षामार्फत अर्थतन्त्र सन्तुलनमा राख्ने प्रयास गरे पनि विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा थप चुनौतीपूर्ण देखिएको पूर्वगभर्नर डा. नेपालले बताए ।

डा. नेपालले आज न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै चालु आर्थिक वर्षको सुरुवात देखि रेमिटेन्स लगातार रुपमा घट्दै जाँदा विदेशी मुद्रा सञ्चितिमा प्रभाव परेकाले अर्थतन्त्र थप चुनौतीपूर्ण स्थितिमा पुगेको बताए । उनले नेपाल राष्ट्र बैंकसँग मुलूकमा ६ महिनाको लागि मात्रै बस्तु आयात धान्न सक्ने सञ्चिति रहेको जानकारी दिए ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले इर्मजिङ अर्थतन्त्रको लागि ६ महिनाको आयात धान्न सक्ने विदेशी सञ्चिति हुने गर्ने बताएको उनको भनाइ छ । डा. नेपालले विदेशी मुद्रा सञ्चिति थ्रोस होल्डको मार्जिनमा नै आएकाले कुनै नितिगत सुधार समेत गर्न सक्ने अवस्था नभएको उल्लेख गरे । सरकारले अर्थतन्त्र सहज बनाउनको लागि तत्काल विदेशी सहयोग अनुदानको लागि पहल गर्नुपर्ने नेपालले बताए ।

सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हुने लक्ष्य राखे पनि पूरा नहुने पूर्वगभर्नर नेपालले दाबी छ ।
उनले भने, ‘अहिले मुलुकको अर्थतन्त्र अत्यन्त चुनौतीपूर्ण स्थितिमा रहेको छ । सबै भन्दा ठूलो समस्या के भन्दा रेमिटेन्स घटेको छ । रेमिटेन्सको आधारमा जम्मा भएको हाम्रो विदेशी मुद्रा सञ्चिति पनि घट्दै गएको छ । ५ महिना देखि सञ्चिति घट्दै गएर जम्मा ६ महिनाको लागि वस्तु आयात धान्न सक्ने मात्रै छ । अझै घट्दै गयो भने अझै गाह्रो पर्छ ।’

त्यस्तै पूर्वगभर्नर डा. नेपालले सरकारले राजश्व संकलन गेरेर ढुकुटीमा थन्काउने तर खर्च नगर्ने प्रवृतिले बैंकमा तरलता अभाव भएकोे उल्लेख गरे । विश्वका कुनै पनि मुलुकमा सरकारले राजश्व उठाएर राष्ट्र बैंकमा थुपारेर राख्ने प्रचलन नभएको उनले बताए । सरकारले यस्तो रकम केही बैंकसँग समन्वय गरेर रकम सञ्चालन गर्न दिएर राष्ट्र बैंकले नियमन गर्दा मात्रै बजारमा तरलता सहज हुने पूर्वगभर्नर नेपालले दाबी गरे ।

प्रतिक्रिया