कांग्रेसले एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्ने

काठमाडौं । नेपाली कांग्रेस पार्टीले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गर्ने भएको छ । कांग्रेसले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्ने भएको हो ।
आज पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता प्रकाशशरण महतले फागुन २९ गतेदेखि चैत्र २९ गतेसम्म सो अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । अभियानका क्रममा कांग्रेसले स्थानीय तह निर्वाचनमा सहभागि भई लोकतान्त्रिक अधिकार प्रयोग गर्न सम्पूर्ण मतदाताहरुलाई अपिल गर्ने तथा कांग्रेसका नेता, कार्याकर्ताहरुलाई एकतावद्ध बनाएर परिचालन गर्ने उनले बताए ।
त्यस्तै सो अवधिमा ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ भन्ने नाराका साथमा पार्टीको सबै संरचनालाई पूर्णता दिइने भएको छ । प्रवक्ता महतका अनुसार कांग्रेसले हालसम्म गरेको राजनीतिक तथा आर्थिक उपलब्धीहरुलाई जनताको माझमा राख्ने, कांग्रेसले वर्तमान सरकारको नेतृत्व गर्नुपर्नाको कारण र यस अघिको सरकारले गरेका गैरसंवैधानिक काम तथा भ्रष्टाचारहरुको सम्बन्धमा जनतालाई सुसुचित गराउने लक्ष्य राखिएको छ ।
प्रवक्ता महले एमसीसी सम्झौताको सम्बन्धमा अन्य राजनीतिक दलहरुले फैलाएको भ्रमको सम्बन्धमा पनि जनतालाई सुसुचित गर्नका लागि यस सम्बन्धमा प्रशिक्षण समेत सञ्चालन गर्ने बताए । एमसीसी नेपालको आवश्यकता र हितमा रहेको कुरा जनतालाई कांग्रेसले स्पष्ट रुपमा बुझाउने उनले उल्लेख गरे ।
अभियान सफल पार्नका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने भएको छ । फागुन २९ गते सबै जिल्लाबाट अभियानको शुभारम्भ गरिने प्रवक्ता महतले बताए । अभियानलाई सफल बनाउन पार्टी प्रदेश कमिटी र जिल्ला कमिटीले कार्ययोजना बनाउने उनको भनाई छ । स्थानीय कमिटीले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयार गर्ने पनि प्रवक्ता महतले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आसन्न स्थानिय तह निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धमा अहिले कांग्रेसले कुनै निर्णय नगरेको बताए । कांग्रेसको अभियानमा समेत गठबन्धनको सम्बन्धमा कुनै छलफल नहुने उनले स्पष्ट पारे ।
आगमी दिनमा पार्टीको केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर मात्रै यस सम्बन्धमा आधिकारिक निर्णय गरिने र सोही निर्णयको आधारमा अघि बढ्ने उनले बताए । देशको परिस्थिति, गठबन्धन सरकारको भविष्य लगायतका तत्कालिन परिस्थितिको अध्ययन गरेर मात्रै गठबन्धनबारे सुविचारित निर्णय लिइने उनले बताए ।

प्रतिक्रिया