आइतबार, वैशाख २३, २०८१

दक्षिण-पूर्वी एसियामा डिजिटल फार्मिङ क्रान्ति

नेपालखोज २०७८ फागुन २६ गते १८:१९

बैंकक । मनित बुन्खिभ जब बालक थिए तब उनले आफ्ना हजुर बुबा-हजुरआमालाई बैंककनजिक धान खेतमा काम गरेको देखेका थिए । खेत जोत्न उनका हजुरबुबा-हजुरआमा राँगा प्रयोग गर्थे । धान-रोप्ने काट्ने सबै काम हातैले हुन्थ्यो । समयसँगै धेरै कुरा बदलिँदै गए, उनका माता-पिताले त्यही काम ट्राक्टर तथा थ्रेसरले गर्न थाले । अहिले फेरि एकपटक समय परिवर्तन भएको छ । मनित अहिले आफ्नो खेतमा ड्रोन प्रयोग गर्छन् ।

धान, अर्किड तथा फलफूल खेती गर्ने मनितसँग मान बाई इलाकामा लगभग ४० एकड जमिन छ । बान माईका किसानहरुले थाइल्यान्ड सरकारको एक योजना अन्तरगत सामुहिक रुपमा ड्रोन खरीद गरेका छन जुन उनिहरुको खेतीपातिको काममा बरदान साबित भइरहेको छ ।

य‍ो ड्रोन धान छर्नेदेखि लिएर मल तथा औषधि छर्कने तमाम काम गर्न सक्षम छ । अहिले बान माईको खेत र किसानहरुको जीवनमा जे भइरहेको छ त्यो दक्षिण-पूर्वी एसियाको खेतीपातिमा आइरहेको परिवर्तनको एउटा झलक हो । महामारीपछि कृषि मजदुरको ठूलो कमीसँग जुधिरहेका यी देशमा ड्रोनको मद्दतले गरिने खेतीका कारण क्रान्तिकारी परिवर्तन देखापरिरहेको छ ।

बान माईको सामुदायिक धान केन्द्रका नेता, ५६ वर्षीय मनित भन्छन्, ‘खेतीमा काम गर्ने मजदुर जुटाउनु हाम्रा लागि सबैभन्दा ठूलो चुनौती हो । एक त मजदुर नै पाइँदैनन् त्यसमाथि मजदुरी निकै महँगो पनि छ ।’ बान माई सामुदायिक धान केन्द्र ५७ सदस्य भएको एउटा समिति हो जसअन्तर्गत करिब ४०० एकड जमिन छ ।

मनित भन्छन्, ‘ड्रोनले हाम्रो पैसा मात्र जोगाएको छैन, काम बढी प्रभावकारीसमेत भएको छ । यो छिटो-छरितो र सुरक्षित पनि छ किनभने यसमा हामीले धेरैबेर हानिकारक रसायनको सम्पर्कमा बस्नु पर्दैन । ड्रोन जलवायु परिवर्तनको प्रभावजस्तो पानी कम पर्ने समस्या आदि सँग जुध्न पनि सहायक सिद्ध भएको छ ।’

क्रान्तिकारी परिवर्तन
एसिया प्यासिफिकमा खेतीपातीमा हुने प्रविधिको प्रयोग अब मेसिनभन्दा माथि उठेर आर्टिफिसियल इन्टेलिजेन्सतर्फ बढ्न थालेको छ । यहाँका किसानहरु रोबोट, बिग डाटा प्रोसेसिङ तथा आर्टिफिसियल इन्टेलिजेन्सीको मद्दतले फसल र आय बढाउन मात्र होइन खेतीको प्राविधिक पक्षमा पनि सुधार ल्याउन सफल भइरहेका छन् ।

संयुक्त राष्ट्र संघअन्तर्गतको संस्था खाद्य एवं कृषि संगठन (एफएओ) को एक रिपोर्टअनुसार डाटा-आधारित खेती र अन्य डिजिटल युक्ति जलवायु परिवर्तनका अतिरिक्त जनसंख्यामा देखिएको वृद्धि तथा अन्य प्राबिधिक विकासमा समेत प्रभावकारी देखिएको छ ।

प्रविधिको प्रयोगका सन्दर्भमा संगठन को रिपोर्ट भन्छ, ‘यो किसानहरुलाई कम पानी, कम जमिन, कम ऊर्जा तथा कम मजदुर भएको अवस्थामा पनि बढी उत्पादन दिलाउन सफल भइरहेको छ भने नयाँ प्रविधि जैविक-विविधताको संरक्षण तथा कार्बन उत्सर्जन घटाउने कुरामा समेत सहायक बनेको छ ।’

यद्यपि कृषि-प्रविधि अथवा एग्रो-टेक का आफ्नै कमजोरी पनि छन् । जस्तो यसका कारण नोकरीको अवसरमा कमी आउँछ भने बेरोजगारी बढेर सामाजिक असमानता वृद्धि हुने खतरा पनि रहन्छ । यसमा डाटाको सुरक्षालाई लिएर चिन्ता प्रकट गरिएको छ भने केही विशेषज्ञले प्रविधिको मूल्यमा समेत प्रश्न उठाएका छन् ।

नेपालजस्तो देशमा जहाँ खेतमा प्रविधिको प्रयोग निकै कम हुन्छ तिनका लागि दक्षिण-पूर्वी एसियामा विकसित खेती प्रणाली उदाहरणीय साबित हुनसक्छ । यहाँको खेतिपातीमा अनेकौं समस्या छन् तर अत्याधुनिक खेती प्रणालीका लागि ती ठूला समस्या वा चुनौती होइनन् ।

संसारभर क्लाउड कम्प्युटिङ र आर्टिफिसियल इन्टेलिजेन्समा आधारित प्रविधिले खेतीपातिसँग जोडिएका कैयन् कामलाई सरल बनाएको छ । यस्ता काममा सिँचाइ नियन्त्रणदेखि लिएर माट‍ोको गुणस्तर जाँच, मौसम र फसल उत्पादन आदिको अनुमान सबैको डाटा कलेक्सनसम्म सामेल छ । डिजिटल फार्मिङका लागि एसिया प्यासेफिक क्षेत्र सबैभन्दा तीव्र गतिमा बढेको बजारमध्ये एक भएको छ । यसमा सूचना, वित्तीय उपायहरु, ब्लाकचेन प्रविधि आदिको प्रयोग जमेर भइरहेको छ ।
-रोयटर्स फिचरमा आधारित

प्रतिक्रिया