आइतबार, वैशाख २८, २०८२

श्रीकुमारी र आरसीटीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे

नेपालखोज २०७८ फागुन २६ गते १९:५२

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिग अन्तर्गत सम्पन्न खेलमा श्री कुमारी क्लब र रानी पोखरी कर्नर टिम (आरसीटी) तथा टुसाल युथ क्लब र झम्सीखेल युथ क्लबले बराबरी खेलेका छन् ।

ललितपुर स्थित एन्फा कम्पलेक्समा बिहीबार सम्पन्न पहिलो खेलमा श्रीकुमारी र आरसीटीले १–१ गोलको बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा टुसाल युथ क्लब र झम्सीखेल युथ क्लबले गोलरहित बराबरी खेलेका हुन् ।

अघिल्ला दुई खेलमा बराबरी खेलेको कुमारीले स्पष्ट जितका लागि मैदान उत्रिए पनि लक्ष्य पूरा गर्न सकेन । कुमारील चौथो मिनेटमा लिएको अग्रता एक मिनेट नबित्दै आरसिटीले बराबरी गोल फर्काएको थियो । चौथो मिनेटमा कुमारीका सृजनराज गौतमले गोल गर्दै अग्रता दिलाए पनि अर्को मिनेटमा आरसिटीका प्रज्जवल गुरुङले गोल गर्दै खेल बराबरीमा सकिएको थियो ।

दुबै टोली स्पष्ट अंक जोड्नका लागि प्रतिस्पर्धा गरे पनि पाएका केही राम्रा अवसर सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो । यस बराबरीपछि श्री कुमारीले जारी लिगमा तेस्रो बराबरी खेलेको हो । यता आरसीटीले भने तीन मध्ये एक खेल जित्दा एकमा बराबरी तथा एक खेलमा पराजय भोगेको छ । तालिकामा आरसीटीको ४ तथा श्री कुमारको ३ अंक रहेको छ ।

बी डिभिजन लिग अन्तर्गत आजकै अर्को खेलमा टुसाल युथ क्लब र झम्सीखेल युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन । टुसाललाई दबाब दिएर खेलेको झम्सीखेलले सेट पिसका धेरै अवसर पाए पनि सदुपयोग गर्न असफल रहेको थियो । पहिलो हाफमा भन्दा दोस्रो हाफमा आक्रामक खेल खेलेको झम्सीखेलले सुन्दर अवसर सिर्जना गरे पनि सदुपयो गर्न चुक्दा अंक बाँड्न बाध्य भएको हो ।

लिगमा शुक्रबार तीन खेल हुनेछन् । दिनको पहिलो खेल ब्वाईज युनिय क्लब र नयाँबस्ती युथ क्लब, दोस्रो खेल सरस्वती युथ क्लब र खुमलटार युथ क्लब तथा अन्तिम खेल श्री भगवती क्लब र समाजिक युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया