‘लघु, घरेलु तथा साना उद्योगको योगदानलाई बढाउनु आजको आवश्यकता’

नेपालखोज २०७८ फागुन २६ गते २०:११

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले लघु, घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै यसको दिगो र प्रतिष्पर्धी विकासबाट मुलुमा गरिवी निवारणदेखि आर्थिक सामाजिक रुपान्तरणसम्म पनि योगदान पुर्‍याइरहेको बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२ औं राष्ट्रिय महिला उद्यमी सम्मेलनको आज वीरगञ्जमा उद्घाटन गर्दे उनले मुलुक छिटै नै अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नती हुन गइरहेको सन्दर्भमा घरेलु तथा साना उद्योग क्षेत्रको विकास र विस्तारका लागि तीनै तहका सरकारहरुले एक आपसमा समन्वय गरी प्रभावकारी योजनाका साथ कार्य गर्न जरुरी भएको बताए ।

उद्यमशीलताको संस्कृतिलाई युवा समुदायबीच संस्थागत गरी मुलुकलाई आर्थिक समृद्घ बनाउन घरेलु तथा साना उद्योगको थप विस्तार र स्तरोन्नती गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले विश्व बजारमा नयाँ अवसरको रुपमा देखा परेको सूचना प्रविधिलगायतको सेवा क्षेत्रको प्रवर्द्धनसमेत यसै क्षेत्रबाट भइरहेको सन्दर्भमा यसबाट अपेक्षित लाभ उठाउन समेत उद्योगी तथा युवा समुहलाई आग्रह गरे ।

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले विभिन्न आरोह अवरोह पार गरी आजको मितिमा आइपुग्दा महासंघले मुलुकभित्र लघु, घरेलु तथा साना उद्योगहरुको विकास, विस्तार र प्रवर्द्धनको क्षेत्रमा देखिएका चुनौति र सम्भावनाहरुका सम्बन्धमा राज्यलाई धेरैपटक आवश्यक राय सुझाव सहित सहहकार्य गर्दै आएको बताए ।

सहुलियत कर्जा वितरण सहज नभएको तथा विभिन्न कार्यक्रमहरुमार्फत व्यवसायहरुलाई प्रदान गरिएको अनुदान र सहयोग वास्तविक उद्यमीले पाउन नसकेको भन्दै उनले यसतर्फ पनि प्रभावकारी नीति र कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए ।

महासंघकै इतिहासमा पहिलो चोटी काठमाडौं बाहिर आयोजना गरिएको महासंघको महाधिवेशनमा लघु घरेलु तथा साना उद्योग र महिला उद्यमशीलताको क्षेत्रमा सुधार गर्नु पर्ने र स्थापित गर्नुपर्ने सकारात्मक नीति नियम र काुननहरुको बारेमा छफफल गरि ठोस निष्कर्षमा पुग्ने योजना रहेको उनले बताए ।

प्रतिक्रिया