आइतबार, वैशाख २३, २०८१

नेपालले चीनलाई भन्यो- रसुवागढी नाकाबाट आयात बढाउनुपर्‍यो

दैनिक आयात हुँदै आएको सामग्रीको मात्रा बढाउन प्रजिअ नवराज जैसीको प्रस्ताव

नेपालखोज २०७८ फागुन २७ गते १६:०३

काठमाडाैं । रसुवागढी नाकाबाट २५ कन्टेनर सामान आयात हुने व्यवस्था मिलाउन नेपाली अधिकारीहरूले चिनियाँ पक्षलाई अनुरोध गरेका छन् । नेपाल-चीन सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीबीच बिहीबार सम्पन्न भर्चुअल बैठकमा हाल प्रतिदिन ९ कन्टेनर सामान आयात हुँदै आएकामा बढाउन माग गरिएको हो ।

नाकाबाट आयात बढाउन र चीनतर्फ निर्यातको व्यवस्था मिलाउनेबारे छलफल भएको हो । कोभिड-१९ को प्रभाव कम हुँदै गएको र रसुवाका सबै नागरिकले कोभिड-१९ विरुद्धको पूर्ण खोप लगाइसकेकाले पूर्ववत रुपमा नाका सञ्चालन गर्ने विषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । नाका पूर्ण रूपमा सञ्चालन गर्न नसकिएमा दैनिक आयात हुँदै आएको सामग्रीको मात्रा बढाउन प्रस्ताव गरिएको छ। अहिले दैनिक ९ वटा कन्टेनरबाट मात्र सामग्री आयात हुँदै छ भने अबदेखि २५ पुर्‍याउन प्रस्ताव गरिएको उनले बताए।

लामो समयदेखि निर्यात रोकिएका कारण नेपाली सामग्री चीनतर्फ निकासी हुन सकेको छैन । त्यस विषयमा पनि छलफल  भएको प्रजिअ जैसीले बताए । यस्तै बैठकमा केरुङमा व्यापार व्यावसाय गर्दै आएका नेपाली कोभिड‍१९ का कारण फर्किन नपाएको र अहिलेसम्म पनि घरभाडा तिर्नुपरेकाले सहजीकरण गर्न आग्रह गरिएको छ। नेपालमा २५ हजार मेट्रिक टन रासायनिक मल आयात हुन बाँकी रहेकाले ग्रिन च्यानलमार्फत आयात हुने व्यवस्था मिलाउन, चीन सरकारको अनुदानमा जिल्लाको टिमुरेमा निर्माण हुन लागेको सुख्खा बन्दरगाहको कामलाई तिब्रता दिन आग्रह गरिएको उनले बताए ।  

बैठकमा सहभागी चीनका ची लोङ काउन्टीका मेयर ता छोनले नेपाल पक्षको माग बमोजिम नाकाबाट सामग्रीको आयात बढाउने विषयमा चीन तयार रहेको बताए । यस्तै उनले सीमा सुरक्षामा प्रभावकारी भूमिका निर्वाह गर्न, कोभिड-१९ को नियन्त्रण एवम् रोकथाममा सहयोग गर्न, सीमा क्षेत्रमा हुने वन डडेलो नियन्त्रण गर्नका लागि विशेष पहल गर्न आग्रह गरेका थिए ।

बैठकमा केरुङमा व्यापार व्यवसाय गरेका केही नेपालीले कोभिडका कारण लकडाउनपछि केरुङ फर्किन नपाएको तर त्यहाँको घर भाडा अहिलेसम्म पनि तिर्नुपरेकाले आवश्यक सहजीकरण गरिदिन पनि अनुरोध गरेको छ । नेपालले चीनबाट करिब चालिस हजार टन रासायनिक मल आयात गर्ने निर्णय गरेकामा अझै करिब २५ हजार टन आउन नसकेकाले ग्रीन च्यानलबाट नेपाल निर्यात हुने व्यवस्था मिलाउन बैठकमा छलफल भएको छ ।

भर्चुअल बैठकमा नेपालका तर्फबाट रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीलगायत सुरक्षा तथा भन्सार अधिकारी र चिनियाँ पक्षबाट पनि उताका सुरक्षा अधिकारीको सहभागिता थियो । कोभिड-१९ का कारण २५ माघ, २०७६ देखि २२ जेठ, २०७७ सम्म रसुवागढी नाका बन्द भएको थियो । त्यसयता नाका सञ्चालनमा आएको भए पनि न्यून मात्र सामग्रीको आयात हुँदै आएको छ।

प्रतिक्रिया