बुधबार, वैशाख २६, २०८१

सुरक्षा र राजको ‘बादलहरु’ सार्वजनिक

नेपालखोज २०७८ फागुन २७ गते १७:४३

काठमाडौं । उज्यालो नेपालका अभियन्ता नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको जीवनी प्रेरित म्युजिक भिडियो सार्वजनिक गरिएको छ । कुलमान स्वयंको उपस्थितिमा राज के गोस्वामीको स्वर रहेको ‘बादलहरु’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतको रचना अभिनेत्री सुरक्षा पन्तले गरेकी हुन् भने संगीत मानव सुवेदीले तयार गरेका हुन् ।

नेपाली टचको प्रस्तुतिको रहेको गीत सार्वजनिक कार्यक्रममा अभिनेता राजेश हमाल, गायकहरु राजेश पायल राई, सुगम पोखरेल, शिव परियार, धर्मेन्द्र सेवानले गायक गोस्वामीलाई शुभकामना दिएका थिए । कार्यक्रममा गायक शिव परियारले आफूले धेरै कुरा बताउने गीत गाए पनि विकासको गीत गाउने संगीत पहिलोपल्ट हेरेको धारणा राखेका थिए ।

‘म आफैँले पनि जीवनमा धेरै भाव र जीवन अभिव्यक्त गर्ने गीत गाएको छु । तर विकासको पनि गीत हुन सक्नेरहेछ भन्ने कुरा यो गीत हेरेपछि महसुस गरेँ,’उनको भनाइ थियो ।

गीतको भिडियोले गाउँमा बिजुली ल्याउन संघर्ष गर्ने एक इन्जिनियर र ऊसँग जोडिएका थप दुई पात्रको कथा प्रस्तुत गर्छ । कथामा गाउँमा बिजुली ल्याउन प्रयत्नरत इन्जिनियरको असामयिक निधनपछि गाउँकै घरेलु इन्जिनियरले उसको त्यो अपुरो काम पूरा गरेको देखाइएको छ । सुरक्षा पन्तकै पटकथा रहेको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका हुन् ।

अभिनेता राजेश हमालले अस्ट्रेलियामा यमित कार्यक्रम गर्ने नेपाली टचसँग आफ्नो पुरानो नाता रहेको जानकारी गराउँदै समाज र कलाबीचमा लेनदेनको गज्जबको सम्बन्ध हुने यथार्थ उद्घाटन गरेका थिए । ‘कलाले यो समाजबाटै प्रेरणा लिन्छ र समाज प्रेरित यही कथाबाट हामी थप प्रभावित हुन्छौँ,’ हमालको भनाइ थियो, ‘कुलमानजीको वास्तविक भिडियोले यो गीत र भिडियो सिर्जना भयो । हामी यो भिडियो हेरेर प्रभावित भयौँ ।’ उनले भिडियोमा गायनसँगै अभिनयमा पनि डेब्यु गरेका गोस्वामी र सुरक्षा पन्तको पनि अभिनयको प्रशंसा गरेका थिए । गीतकार, लेखक र अभिनय गरी तीन विधामा जोडिएकी सुरक्षा पन्तले गीतको भिडियोले तीनवटा बिम्बलाई प्रस्तुत गर्ने जमर्को गरेको जानकारी दिइन् ।

सुरक्षाका अनुसार भिडियोभित्र आफ्नो चरित्रले नेपाल आमाको प्रतिनिधित्व गर्ने र घनु जोशी र राज के गोस्वामीले निर्वाह गरेको चरित्रले नेतृत्व र भविष्यको अर्थ अभिव्यक्त गरेको छ । उनले कुलमान घिसिङले कुनै गाउँमा जनतालाई बिजुलीको महत्त्व सम्झाउँदै गरेको भिडियोबाट प्रेरित भएरै भिडियोको खाका बनेको जानकारी गराएकी थिइन् ।

‘मैले उहाँको भिडियो हेरेकी थिएँ जहाँ हाम्रो चरित्रले खोजेजस्तै अवरोध उहाँले खप्नु भएको थियो । एक अर्थमा भन्ने हो यो भिडियो उहाँजस्तै कुशल नेतृत्वकर्तालाई ट्रिब्युट हो,’ सुरक्षाले भनिन् ।

कुलमान घिसिङले आफ्नै पेसालाई केन्द्रमा राखेर बनाएको भिडियो हेर्दा खुसी लागेको बताए । उनले भिडियोमा देखाएजस्तै आफूले बिजुलीको महत्त्व बुझाउन धेरै संघर्ष गर्नुपरेको स्मरण गर्दै आफू नेपालको कुनाकुनामा बिजुली पुर्याउन दत्तचित्त रहेको बताएका थिए । कुलमानले ९५ प्रतिशत जनताको घर आँगनमा बिजुली पुग्न लागेको पनि जानकारी गराएका थिए ।

गायक राजले भने आफूलाई गायकको रुपमा भन्दा पनि संगीतप्रेमीको रुपमा चिनाउन मन पराउने बताउँदै आफ्नो स्वर सुहाउँदो गीत भएकाले गाउने चेष्टा गरेको बताए । गीतलाई सुशील सापकोटाले छायांकन गरेका हुन् भिडियोको सम्पादन मानव स्वयंले गरेका हुन् ।

प्रतिक्रिया