कसरी सत्तामा आएका थिए भ्लादिमिर पुटिन ?

काठमाडौं । युक्रेनमाथि रुसको आक्रमणपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको चौतर्फी आलोचना भइरहेको छ । मानवअधिकार संगठनहरु पुटिनविरुद्ध लामबन्द छन् । यसबीच रूसी राष्ट्रपति पुटिनलाई जिउँदो वा मुर्दा पक्रनेलाई १० लाख डलर इनाम प्रदान गर्ने घोषणासमेत भएको छ । यो घोषणा अरु कसैले गरेको होइन स्वयं एक रूसी व्यापारीले गरेका हुन् जो युक्रेनमा रुसले गरेको हमलाका कारण आहत छन् ।
रूसी व्यावसायी तथा पूर्वबैंकर एलेक्स कोन्याखिनले सोसल मिडिया पोस्टमार्फत उक्त इनामको घोषणा गरेका हुन् । उनले भनेका छन् पुटिनले जे गरिरहेका छन् त्यो मानवताअनुकूल छैन । कोन्याखिन अहिले अमेरिकामा छन् र उनी पुटिनविरुद्ध जोरदार एक्सनको पक्षमा आवाज उठाइरहेका छन् ।
युरोपियन युनियनदेखि लिएर अमेरिका, जापान अस्ट्रेलिया सबै रूसको कदमविरुद्धमा छन् । यता पुटिन कुनै पनि स्थितिमा झुक्न तयार छैनन् । अहिले संसारभरका मानिसको नजर पुटिनमाथि छ ।
भ्लादिमिर पुटिनको जन्म ७ अक्टोबर १९५२ मा लेनिनग्रादमा भएको हो । उनी आमा-बुबाका तेस्रो सन्तान हुन् । यद्यपि उनका दुवै दाजुको सानै उमेरमा मृत्यु भएको थियो । उनका पिता स्पिरिदोनोभिच पुटिन सोभियत नेवीको पनडुब्बी बेडामा थिए भने आमा मारिया इवानोव्ना शेलोमोभा एक फ्याक्ट्रीमा काम गर्थिन् ।
पुटिनले १२ वर्षको उमेरदेखि नै जुडो खेल्न थालेका हुन् । पुटिनले जुडोका साथ बक्सिङ, घोडसवारी, फुटबल, हकी, ब्याडमिन्टन तथा डाइभिङ पनि सिकेका छन् । उनी जुडोका ब्ल्याक बेल्ट हुन् भने युक्रेनमाथिको हमला अघिसम्म उनी अन्तर्राष्ट्रिय जुडो फेडेरेसनका अध्यक्ष थिए । यही युद्धका कारण उनलाई फेडेरेसनको उक्त पदबाट हटाइयो ।
पुटिन एक जासुस
उनले एक कोठाको अपार्टमेन्टमा बाल्यकाल बिताएका थिए । उनकी आमाले उनलाई यथासम्भव राम्रो अविभावकत्व प्रदान गरिन् । बाल्यकालमा उनी फिल्म हेर्न रुचाउँथे । सिनेमाका जासुसी कथाहरुकै कारण पुटिनमा जासुस बन्ने धुन सवार भयो । त्यसपछि उनी १६ वर्षको उमेरमै केजीबीको अफिस पुगे र भने- मलाई जासुस बन्नु छ । पहिलोपटक उनलाई केजीबीको ट्रेनिङ अफिसबाट के भनेर फर्काइए भने- पहिले पढाइ गर अनि पछि आउनू । त्यसको सात वर्षपछि कानुनको डिग्री लिएर पुटिन फेरि त्यहाँ पुगे । कानुनको पढाइ पूरा गरेपछि उनले केजीबी स्कुलमा भर्ना लिए । केजीबी रूसको खुफिया एजेन्सी हो । त्यहाँको अध्ययन सकेपछि उनलाई जागिरको आवश्यकता थियो । उनले तत्कालीन पूर्वी जर्मनीमा १०८५ देखि १९९० सम्म केजीबी एजेन्टका रूपमा काम गरे ।
त्यति बेला दुईवटा जर्मनी थिए इस्ट जर्मनी र वेस्ट जर्मनी । इस्ट जर्मनी रूस समर्थक थियो भने वेस्ट जर्मनी पश्चिमी संसारको प्रभावमा थियो । पुटिन इस्ट जर्मनीस्थित केजीबीको अफिसमा काम गर्थे । त्यसबीच जर्मनीमा एउटा क्रान्ति भयो र मानिसहरुले पूर्वी जर्मनीको कम्युनिस्ट शासन फ्याल्दै बर्लिनको पर्खाल भत्काए । दुई जर्मनी एक भएपछि त्यहाँ रूसका विरुद्ध आक्रोश देखापर्यो । हजारौं मानिसले इस्ट जर्मनीको केजीबी अफिस घेरे । त्यतिबेला पुटिन त्यही अफिसमा बसेर गोप्य दस्ताबेजहरु जलाइरहेका थिए । ताकि ती कागज आन्दोलनकारीहरुको हातमा नपरोस् । भिडले अफिस घेरे पनि पुटिन भने शान्त दिमागले सेक्रेट दस्ताबेज जलाएर बाहिर आए । हजारौंको त्यो भिड रूसी एजेन्टलाई मार्न तयार थियो तर त्यहाँ पुटिनको हिम्मतले काम गर्यो र उनी आफ्नो ज्यान जोगाउन सफल भए ।
पुटिनको राजनीतिक यात्रा
जर्मनीबाट फर्किएर पुटिन आफ्नो सहर लेनिनग्राद पुगे अनि लेनिनग्राद युनिभर्सिटीको विदेश विभागमा काम गर्न थाले । १९९१ को आखिरतिर सोभियत रूस १५ वटा देशमा विभाजित भइसकेको थियो र त्यो घटनाले पुटिनलाई निकै विचलित बनाएको थियो । ४५ वर्षसम्म अमेरिकासँग प्रतिस्पर्धा गरेर बसेको शक्तिशालि रूस धेरै कमजोर भइसकेको थियो । त्यतिबेला अरु रुसीहरुजस्तै पुटिन पनि राजनीतिक नेतृत्वसँग रुष्ट थिए । त्यसैले उनले राजनीतिमा हामफाल्ने निर्णय गरे ।
१९९० मा उनी लेनिनग्रादका मेयरको सल्लाहकार भए भने २८ जुन १९९१ मा सेन्ट पिटर्सबर्गका मेयरको अफिसमा विदेश विभाग प्रमुख बनाइए । १९९६ मा राजधानी मस्कोको मेयर पदमा अनातोली सब्चाकको पराजयपछि राष्ट्रपति बोरिस येल्तसिनका लागि मस्कोमा एक मजबुत व्यक्तिको खाँचो थियो । त्यसपछि पुटिन मस्को बोलाइए र २६ मार्च १९९७ मा उनी राष्ट्रपति प्रशासनको उप-प्रमुख नियुक्त भए । त्यसको केही समयपछि नै उनले एउटा ठूलो जिम्मेवारी पाए । २५ मे १९९८ का दिन पुटिन खुफिया एजेन्सी एफएसबीको प्रमुख बनाइए । यसबीच रूसी सरकारको नालायकी र भ्रष्टाचारका विरुद्ध आवाज उठ्न थाल्यो । त्यति बेला राष्ट्रपति बोरिस येल्तसिनले ठूलो चाल चल्दै एफएसबीका प्रमुख भ्लादिमिर पुटिनलाई रूसको प्रधानमन्त्री नियुक्त गरे ताकि पुटिनले आफ्नो संयन्त्रको प्रयोग राष्ट्रपतिलाई जोगाउने काममा लगाऊन् ।
पुटिन कसरी राष्ट्रपति भए ?
राष्ट्रपति बोरिस येल्तसिनले आफ्नो विश्वासपात्रलाई प्रधानमन्त्री त बनाए तर तैपनि स्थितिमा सुधार आएन । त्यही क्रममा ३१ अक्टोबर १९९९ मा बोरिसले राष्ट्रपति पदबाट राजीनामा दिए । त्यसपछि कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पुटिनको काँधमा आयो । बोरिसको राजीनामा र पुटिनले जिम्मेवारी लिएपछि अलग-अलग किसिमका कुरा बाहिर आए । कैंयन् ठाउँमा यसको विरोध पनि भयो । यता ७ मे २००० मा पुटिनले राष्ट्रपति पदको शपथ लिए । जसले त्यतिबेला पुटिनको विरोध गरेका थिए उनीहरुलाई रातारात गायब पारियो । त्यतिबेलादेखि अहिलेसम्म विभिन्न उतार-चढावका बाबजुद प्रत्यक्ष, अप्रत्यक्ष रूपले २२ वर्षदेखि रूसको सत्ता पुटिनकै हातमा छ र उनीमाथि लगातार रुपमा निर्वाचनमा धाँधली गरी तानाशाही चलाएको आरोप लाग्दै आएको छ ।
–अन्तर्राष्ट्रिय विभिन्न सञ्चारमाध्यमको सहयोगमा
प्रतिक्रिया