शुक्रबार, जेठ ११, २०८१

अप्ठ्यारा परिस्थितिमा देश बचाउन कांग्रेस : बद्रीप्रसाद पाण्डे

नेपालखोज २०७८ फागुन २८ गते १६:३०

काठमाडौं । नेपाली कांग्रेसका सह-महामन्त्री बद्रीप्रसाद पाण्डेले तोकिएको मितिमा निर्वाचन हुने बताएका छन् । नेपाल प्रेस युनियन बाजुराले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन कुनै हालतमा पनि नसर्ने बताएका हुन् ।

सह-महामन्त्री पाण्डेले सरकारले संविधानको कार्यान्वयन गर्न र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गरे । अहिले गठबन्धनको सरकार भए पनि वडादेखि जिल्लाले आगामी वैशाखमा हुने स्थानीय तहको चुनावमा गठबन्धन गर्ने विषयमा केन्द्रले हस्तक्षेप नगर्ने उनले स्पष्ट पारे । उनले स्थानीय तहका सबै वडा, पालिका र जिल्लाले आवश्यकता महसुस गरेअनुसार गठबन्धन हुने र नहुनेबारेमा यकिन हुने उल्लेख गरे ।

सह-महामन्त्री पाण्डेले संविधानको रक्षा र त्यसको प्रभावकारी कार्यान्वयनका लागि नेपाली कांग्रेसको नेतृत्वमा अहिलेको सरकार बनेको स्पष्ट गर्दै वर्तमान सरकारले वैशाखको स्थानीय तहको निर्वाचन सकेर जेठ १५ मा बजेट ल्याउने बताए । जनताका समस्या उजागर गर्न र देश निर्माणका लागि अहिलेको सरकारले जेठ १५ मा बजेट ल्याउने उनले बताए । उनले भने, ‘नेकपा एमालेले एमसीसीका बारे जनतामा फैलाएको भ्रमलाई चिर्नेगरी नेपाली कांग्रेसले एकमहिने अभियान सञ्चालन गर्न लागेको छ ।’

सह-महामन्त्री पाण्डेले हरेक अप्ठ्यारा परिस्थितिमा देश बचाउनका लागि कांग्रेसले नेतृत्व गर्ने गरेको उल्लेख गर्दै एमसीसीका बारेमा जनतालाई स्पष्ट पार्न ७५३ वटै स्थानीय तहका प्रत्येक वडा र टोलमा जनताका माझ जाने गरी कांग्रेसले आइतबारदेखि अभियान सुरु गर्न लागेको जानकारी दिए । उनले भने, ‘देशमा संकट आएका बेला नेकपा एमाले गैर जिम्मवारी चरित्र प्रस्तुत गर्दै आएको छ । कांग्रेसले जिम्मेवारीपूर्वक चुनौतीको सामना गर्दै देशको हितमा कार्य गर्छ ।’

प्रतिक्रिया