तनहुँको घिरिङ पालिकाका घरघरमा खानेपानी, स्थानीयवासीमा खुसीयाली

काठमाडौं । तनहुँको घिरिङ गाउँपालिका-५ स्थित दुर्गमबस्ती च्याचुल गाउँमा सबैलाई खानेपानीको सुविधा उपलब्ध गराइएको छ । समुद्री सतहबाट करिब एक हजार बढी उचाइ तथा गाउँकै सबैभन्दा अग्लो स्थानमा रहेको उक्त गाउँको घरघरमै खानेपानी पुगेपछि स्थानीयवासीमा खुसीयाली छाएको अलैँची खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष बुद्धिबहादुर विकले बताए ।
तीन वर्षको प्रयासपछि एक घर एक धारा अभियानअन्तर्गत ४७ घरधुरीमा खानेपानी वितरण गरिएको उनले जानकारी दिए । बस्तीभन्दा तल रहेको खोल्सीको पानी करिब ७०० मिटर उचाइमा लिफ्टिङ गरेर निर्माण गरिएको ट्याङ्कीमा पानी सङ्कलन पश्चात वितरणको व्यवस्था मिलाइएको छ । वषौँदेखि बासिन्दाहरुले कुवाँको धमिलो पानी खाएर जीविकोपार्जन गर्दै आएका थिए । बस्तीदेखि करिब आधा घण्टा पैदल हिडेर डोकोमा पानी बोकेर ल्याउनुपर्ने समस्या अब अन्त्य भएको वडाअध्यक्ष प्रेमबहादुर थापाले बताए । गाउँपालिका कार्यालयले तीन चरणमा गरी ९० लाख रुपैयाँ विनियोजन गर्नाका साथै स्थानीयवासीको सक्रिय सहभागिता र सहयोगले खानेपानी वितरण गर्न सकिएको बताए ।
टोलमा खानेपानी नहुँदा एकजना खानेपानीको जोहो गर्नकै लागि खटाउनुपर्ने अवस्था रहेको स्थानीयवासीले बताए । बस्तीमा पानी पुगेपछि किसानलाई तरकारी खेतीतर्फ उन्मुख गराइएको वडा कार्यालयले जनाएको छ । दलित र मगर समुदायको बाहुल्यता रहेको बस्तीमा खानेपानी पुगेपछि स्थानीयवासी खुसी भएका छन् । वडाका सबै टोलमा खानेपानी पुगे पनि पर्याप्त मात्रा पु¥याउन नसकिएको वडाअध्यक्ष थापाले बताए । उपभोक्ताले निर्माण कार्यमा निरन्तर सहयोग जुटाएका कारण योजना सम्पन्न गर्न सहज भएको गाउँपालिका कार्यालयले जनाएको छ । बस्तीभन्दा तल पानीको मुहान रहेका कारण लिफ्ट गरेर माथि चढाइ वितरण गर्नुपर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया