आइतबार, जेठ ६, २०८१

‘तपाईं जेसुकै भन्नुहोस् कमरेड…! यथार्थ यस्तै छ’

नेपालखोज २०७८ फागुन ३० गते १६:१९

प्रकाश सपुतको गीत पिर सार्वजनिक भएपछि अहिले सामाजिक सन्जालमा लामा-लामा स्टाटस लेखी बहस गर्ने लहर नै चलेको छ ।

दिनकरण नेपाल लेख्छन् :
प्रकाश सपुतको गीतप्रति र त्यो मन पराउनेप्रति जुन असहिष्णुता अहिले प्रदर्शित भइरहेको छ- त्यति नै काफी छ यो बुझ्न कि आधुनिक लोकतान्त्रिक सभ्य समाजका लागि ‘माओवादी प्रवृत्ति’ किन खतरनाक छ । सोचमा सभ्यता भनेको हरेक कुराको जवाफ बल र हतियारले दिने होइन ।
सक्छौ भने : कलाको जवाफ कलाले देऊ ।
तथ्यांक देऊ, पूर्वलडाकु र कार्यकर्ता देखाऊ जो क्रान्तिको नतिजाबाट खुसी छन् र उनीहरुको खुसहाल स्वर्गमाथि गीति रचना, फिचर फिल्म नै बनाऊ ।
प्रकाश सपूत कलाकार हुन्, तथ्यांककार होइनन् । यदि कुनै एक मात्र पूर्वलडाकुले देह व्यापारमा लागेर परिवार पाल्न परेको छ भने पनि उनको सत्य र संवेदना अकाट्य हुन पुग्छ ।
कलाले अपवादलाई टिप्ने हो – मर्म बुझाउनका लागि । कलाको संवेदनशीलता समाजलाई सोच्न बाध्य पार्ने हो, आफ्नो मन छाम्न लगाउने हो – बल नपारी ।
पहिला मन छाम आफ्नो ।
सक्दैनौ भने यथार्थ स्वीकार गर, पाठ सिक र क्रान्तिका उद्देश्यहरुका लागि लोकतान्त्रिक बाटो खोज ।
कलाको जवाफमा धम्की नदेउ : त्यो प्रवृति लोकतान्त्रिक सभ्यताको लागि स्वीकार्य हुँदैन ।

प्रकाश सपूत, ‘पीर’ र डार्कर एन्जेल्स शीर्षकमा
पत्रकार अच्युत कोइरालाले लेखेका छन्- सन् २०११ मा प्रख्यात मनोवैज्ञानिक तथा शोधकर्ता स्टिभन पिङ्करले एउटा बहुचर्चित पुस्तक निकाले, जसको नाम हो- ‘द बेटर एन्जेल्स अफ आवर नेचर: अ हिस्ट्री अफ भायलेन्स एन्ड ह्युम्यानिटी’ ।
यस पुस्तकमा उनले इतिहासका अनेकन् प्रसङ्ग र घटनाहरू उधिन्दै पहिलेको तुलनामा अहिले संसार बढी बस्न लायक, राम्रो र मानिसहरू सभ्य हुन थालेको तर्क गरेका थिए । पढ्दा लाग्छ, हो त नि, यो संसारमा पहिलेजस्तो खान नपाइ कुपोषणले मान्छे मर्न छाडेकै हुन् नि, पहिलेजस्तो क्रूरता अहिले देख्न पाइन्न नि, हजार वर्षअघिको समयभन्दा अहिले त यो संसार कति हो कति बस्न लायक छ, सभ्य छ ।

किताब बेस्टसेलर भयो । सारा संसारभरि नै पुस्तकलाई रूचाइयो ।
केही विद्वानलाई भने पिङ्करको तर्क र तथ्य चित्त बुझेन । उनी कहाँकहाँ गलत छन्, उनले समय बदलियो भनेका कुरामा विमति कहाँ राख्न सकिन्छ भन्दै इतिहासका खराबतम् अवस्थालाई चित्रित गर्दै हामी देवदूत होइनौँ है, हामी त अँध्यारोका दूत पनि हौँ भन्ने मान्यता स्थापित गरिदिए । पिङ्करको गल्ती यति मजाले उनीहरूले उधिनिदिए कि पछि त्यो पुस्तक आकारमा निस्कियो र नाम पायो, ‘द डार्कर एन्जेल्स अफ आवर नेचरः रेफ्युटिङ द पिङ्कर थ्योरी अफ हिस्ट्री एन्ड भायलेन्स’ । यो पुस्तकलाई फिलिप ड्वेर र मार्क मिकेलले सम्पादन गरेका छन् ।
यसै वर्षको जनवरीमा निस्किएको यो पुस्तकको भलै उति चर्चा छैन तर बुद्धिजीवीहरूले भने पिङ्कर सही मात्रै छैनन्, उनी आधा मात्र सही छन् भन्ने प्रमाणित गरिदिए ।
खासमा कुनै पनि सिर्जनामाथि कसैले विमति नै राख्ने हो भने प्रतिबन्ध लगाउने होइन, त्यसको विलोममा उभिएर अर्को सिर्जना गर्नुपर्छ, ल्याकत छ भने । खिया लागिसकेको बुद्धिले भने प्रतिबन्ध नै खोज्छ ।

यसैगरि मानवअधिकारकर्मी सुबोधराज प्याकुरेलले पीर म्युजिक भिडियोका तमाम कलाकर्मीको पक्षमा भन्दै लेखेका छन् :
(१) १० वर्ष तथाकथित जनयुद्ध त्यो पनि जनताले आफ्नो सरकार आफै बनाउने, सम्पूर्ण मौलिक अधिकारको संवैधानिक प्रत्याभूति पाइसके पछि ।
(२) १५ वर्ष शत्तामा, कहिले आफ्नै कहिले अर्काको नेतृत्वमा ।खुला समाजको लोकतन्त्रमा, सजिलो बेलामा हिजोका जनयोद्धालाई बिर्सिएर माओवादीको अहिलेको राजनीतिक यात्रा जसको परिणति काँग्रेसको नेतृत्वमा तथाकथित अग्रगमनको सरकारी यात्रा ।(जनयात्रा होइन) ।
(३) अहिले पनि उही संवैधानिक प्रवन्धको मात्रै रटान ।त्यस्ता प्रवन्ध ०४७ को संविधानमा पनि थियोे ।
(४) जनयोद्धाले आम नागरिकसँगै आफ्नो जीवनलाई मर्यादित,सुरक्षित र स्वतन्त्र बनाउन लडेका हुन ।मरेका हुन ।चिराचिरा हुन तयार भएका हुन । नेताको व्यवहारले सावित गरेजस्तो नितान्त आफ्नोलागि मात्र होइन ।
(५) १६ मिनेटको गीतमा ५ सेकेन्डको दृष्यले आतंकित हुनुपर्ने अवस्थामा माओवादी किन आइपुग्यो? किनभने उसलाई शत्ताको तरमात्र चाट्नु थियो ।अरु शत्ताधारीको रवाफसँग ईर्ष्याग्रस्त थियो । होइन भने उसँग आफ्ना कार्यकर्ताको अभिलेख किन छैन? नक्कलीलाई लडाकुको नाममा दर्ज किन गर्नु पय्रो? पीडितलाई न्याय दिने कुरामा किन अन्यमनस्क जबकि दुई तिहाइ घटनामा पीडक पक्ष राज्य नै छ?
(६) यथार्थ के हो भने माओवादी संगठनको गठन जनतालाई पीडा र अत्याचारको उपचारको बौद्धिक सैद्धान्तिक होइन व्यक्तिपरक आक्रोशमा उरालेर आफू शत्तामा पुग्ने कुत्सित मनसायका साथ गरिएको थियोे ।जसले असल मनका सिधा सोझा नेपालीलाई अलमल्यायो ।
(७) अझै पनि संविधानमा भएको कागजको दुधभातको बखान गर्दै कलाकारको बिरुद्ध धम्की दिने कामबाट माओवादी नेतृत्वले परहेज गरोस् । यसकारण पनि कि अहिलेको संविधानले तथाकथित जनयुद्धको सबै एजेन्डा न बोकेको छ, न यो संविधानको निर्माणमा उसको नेतृत्वदायी भूमिका नै छ ।उसले त संविधानसभा भङ्ग गरेर भाग्यो । संवैधानिक इतिहासमा ऊ भगौडा हो । कपटी भगौडा ।

पत्रकार जिके पोख्रेल लेख्छन् :
तपाईं जेसुकै भन्नुहोस् कमरेड….! यथार्थ यस्तै छ…..! मेरो पनि हालत यही हो…! १५ वर्ष काठमाडौंमा संघर्ष गर्दा पनि म यही अवस्थामा छु…!
म पुरुष भएकाले योनि बेच्नु परेन…! दिमाग भएको मान्छे भएकाले मेरो दिमागको वेश्यावृत्ति गरेको छु…! सम्मानसहित बाँच्न सक्ने अवस्था बनाउनुहोस्…!
महिलाको इज्जतलाई योनीबाट निकाल्नुस् सभ्य मान्छे र सोच्न थाल्नुहोस्…- आमाको योनी थियो र म जन्मेँ । अझ क्रान्तिको मसिहा हुँ भन्नेहरू नै यौनकर्मीलाई हेय भावले हेर्नुहुन्छ….!
एक महिना रत्नपार्कमा जानुहोस् र मोलमोलाइ गर्नुहोस्…! यथार्थ थाह पाउनुहुनेछ । हाम फाल्नुहोस् समुद्रमा अनि गहिराईको अनुभव गर्नुहोस् । कुवाको भ्यागुत्ता डिलमा निस्केर ट्वारट्वार गर्दैमा सार्क र ह्वेल हुँदैन । नेपाली समाजको छिद्रसम्म छिर्नुहोस् र समस्याहरूको मुटु छाम्नुस्….!
भोकसँग लडिरहेका तमाम जिकेहरूलाई सोध्नुहोस्…! हजारवटा पीर लेखिन्छन्…! हजाराैँका पीर देखिन्छन् ।
कला के हो बुझ्नुहोस्…! कला चेत निर्माण गर्नुहोस्…! व्यङ्ग्यचेत निर्माण गर्नुहोस्….! जिब्रोभन्दा बढी दिमाग चलाउनुहोस् । तपाईँको आँखाले देख्ने ठाउँभन्दा पर पनि संसार छ….! तपाईँभन्दा बाहेक अर्कोसँग पनि दिमाग छ र हुन्छ…!

मनोज घर्ती मगरको विचारमा –
पशुपति शर्माको गीतले हिजो दुईतिहाइमा भूकम्प गयो । आज प्रकाश सपुतको गीतले माओवादी केन्द्रमा हल्लिखल्ली मच्चियो । किन ?
यथार्थ जहिले पनि तितो हुन्छ ।
सपुतको गीतका पनि कमजोरी पक्कै छन् । त्यसलाई आलोचनात्मक सुझाव दिन सकिन्छ । फेरी गीतमा केही यथार्थ पनि त पक्कै छ । सिर्जना, कला के हो त्यसलाई पनि मनन गरौं । सबैको हेराइमा आआफ्नो दृष्टिकोण देखिनु स्वाभाविक हो । एउटा गीतको भिडियो र सृजनालाई सोहीबमोजिम बुझ्दा कसो होला ?

यसै गरि कार्टुनिस्ट तथा माओवादी समर्थक पत्रकार समूह प्रेस सेन्टरका योगेश खपाङीले लेखेका छन्-
बम पड्काउँदा नतर्सिने माओवादीहरु साइकिलको टायर पड्किँदा सातो जाने भइसकेछन् ! अन्यथा प्रकाश सपुतको गीतबाट अनावश्यक रुपमा भयभित किन हुनुपर्यो ?
उनको गीतले समाजको ऐना देखाइदिएको छ । त्यसबाट जनयुद्धको अपमान खै कसरी भयो ? अनि अर्को कुरा कसैले बाध्यतावश देहब्यापार गर्‍यो भने के त्यो गम्भीर अपराध भैगो त कमरेडहरु ?
यो देशमा नेकपा माओवादी (हाल केन्द्र) बाट आमजनले धेरै ठूलो आशा राखेका थिए र छन् । सायद प्रकाश सपुतले पनि नेपालमा Drastic change को आशा राखेका थिए । त्यो पूरा भएन । अझै हुन बाँकी छ । उन्को भिडियो सम्भवत: काल्पनिक होला (जस्तो कि रामायण, महाभारत वा ह्यारी पोर्टरको जस्तो) ! यसबाट सच्चा कम्युनिस्ट बिचलित हुनुपर्दैन । उन्ले त्यो भिडियो हटाउनु पनि पर्दैन । बरु हामी आमजनको जीवनमा आमूल परिवर्तन हुने गरी निरन्तर क्रान्ति गरौं न ! हुन्न ?

दर्शन क्षेत्रीको दृष्टिमा प्रकाश सपुतको गीत माओवादीको नाम भजाएर सुविधा लिएकाहरुको लागि बनेकै होइन । उनले लेखेका छन्- यो जनयुद्धमा बन्दुक बोकेर घाइते भएका परिवारको पीडा हो । त्यही योद्धाहरुको जगमा युद्ध सफल भयो तर के त्यो वर्गको चाहिँ उत्थान भयो त ?
यक्ष प्रश्न यो हो । माओवादी जनयुद्ध गलत थियो भन्न खोजिएकै होइन । माओवादी जनयुद्ध तत्कालीन समयको माग थियो ।
अनि अर्को पक्ष- हिजो पशुपति शर्माको लुट्न सके लुट… गीत पचाउन नसक्नेले ठूलो कुरा नगरे हुन्थ्यो ।

प्रतिक्रिया