स्यालबारे चिन्ता !

नेपालखोज २०७८ चैत १ गते १२:१३

स्याल संरक्षणको कुरा शनिश्चरे, झापामा बसोबास गर्दै आएका पूर्व वनमन्त्री वीरमणि ढकालले खोरमा थुनिएका दुईवटा स्यालको तस्बिर पोस्ट गर्दै लेख्छन्- यी दुईटै स्याल एउटै स्यानो खोरमा थुनेर राखिएका छन्, बन्दी छन् ।यी दुवैको फोटो मैले अघिल्लो पोष्टमा पनि हालेको थिएँ (मैले राम्रो देखेर होइन, तिनको दुरावस्था देखेर त्यहाँ हालेको थिएँ) तर कुनै पनि मित्रले यिनको दुर्दशाबारे चाखो दिनु भएन; त्यसैले पुनः राख्दै छु ।

स्याल !! …. स्यालबारे पनि चिन्ता ? भनिएला तर स्यालबारे चिन्ता नलिने हो भने थुनेर राख्ने किन होला ? स्याल हेर्न/देखाउनबाहेक । एकाध दशक अघिसम्म झापा, शनिश्चरेका हाम्रै घर वरिपरि सम्साझैँ स्यालको हाउ…उ.. ! हाउ…उ..! सुन्न सकिन्थ्यो तर आजकल टाढाटाढाबाट पनि हाउ! हाउ! को आवाज सुन्न पाइन्न, किन होला ? यसको पनि एउटा कथा छ।

त्यसताक र त्यस अघिअघि पनि हिउँद लागेपछि धानबाली उठाई सकेका हाम्रा खेतमा सस्याना तम्बु (टेन्ट) टाँगेर मानिस बसेका देखिन्थे। तिनीहरु किन आउँथे बाल्यकालमा चासो हुन्नथ्यो तर पछि/पछि गएर थाहा भयो ती घुमन्ते जातका मानिस कतै टाढाबाट यहाँ आउँथे र तिनीहरु आएपछि राति पर खेतबाट पटका पडकिएको आवाज आउथ्यो । किन खेतमा पटेका पड्किन्छ ? जिज्ञासा राख्दा ति घुमन्ते मानिस स्यालको शिकारका लागि यहाँ आएका र तिनीहरुले राखेको चारो Bait स्यालले टोक्दा पटका झैँ पडकिने र स्याल पनि भुतुक्कै मर्ने भन्ने कुरा बुझिएको थियो ।

यी बन्दी स्यालहरुको विजोक देख्दा यी कुराहरु सम्झिए । … र सम्झिए अहिले स्यालहरु पनि छैनन् (अर्थात दुर्लभ छन्) र ती घुमन्ते मानिसका तम्बु पनि हाम्रा खेतमा छैनन् । …. स्याल छिमल्नु पर्ने बन्यजन्तु हो नेपालमा ? हो भने कसरी र कति मात्रामा छिमल्ने हो ? के स्याल वाहियात प्राणी हो ? यसको संरक्षण जरुरी नठानिए कै हो ? नभए यी स्यालले किन बन्दी हुनु पर्या होला ?

याे पाेस्टमा आएका प्रतिक्रियाहरू

कुरो चाखलाग्दो र चासोयुक्त आयो । भिम ढुंगाना

ढीलो कुरा बुझ्नेलाई त कुरा बुझ्नै कठिन भो ! साँच्चै स्यालको कुरा हो कि नक्कली प्रतिकात्मक स्यालको कुरा हो दाजु ? जयनारायण नेपाल

Jaynarayan Nepal साँच्चीकै स्यालको कुरा गर्या नि….. स्याल दुर्लभ भै सक्यो संरक्षण होस् भन्या । वीरमणी

हिजोआज स्याल कराएको सुन्नपनि छोडियो सायद बिनास हुँदै गएर होला । यदि बिनासको क्रम सुरुभएको हो भने त संरक्षण आवश्यक छ यसका पनि त फाइदा होलान् । राजेन्द्र काफ्ले

बडो रोचक र चासोपूर्ण कुरो । अनि ति घुमन्तेले मासुका लागि कि छालाका लागि स्यालको सिकार गरे होलान् ? रुद्र प्रसाद चुँडाल

Rudra Prasad Chudal जी स्यालको मासुको रक्सि बाथको ओखती हुन्छ भन्ने मैले सुनेको हुँ। खै के का लागि मार्थे यकिन थाहा भएन । तर यो पोस्ट स्याल दुर्लभ बन्यजन्तु हो संरक्षण गरौं, यसरी प्रदर्शनमा विजोग गरेर राख्न नदिऊँ भन्न खोजेको हो । वीरमणी

सान्दर्भिक कुरा उठान गर्नु भएको छ । बुद्धि नेपाल

प्राकृतिक / जैविक वस्तुहरु लोप हुने खतरा मात्र होइन पशुहरुको विचरणको व्यवस्थापन पनि मानिसले नै गर्नुपर्छ । कुखुरा चोर त हो नै स्याल तर उसको पनि विचरणको अधिकार हुन्छ । जंगली जनावरको सरंक्षण मानविय धर्म हुनुपर्छ । बिस्नु ढकाल

स्याल पाल्दा के फाइदा छ त दाइ हामीलाई नि भनौँ त ? लेखनाथ ढुंगाना

Lekhnath Dhungana जी स्याल पाल्दा कुनै फाईदा छैन र पनि किन खोरमा राखेर पाल्या होलान पो भन्या त ? वीरमणी

३०/३५ वर्ष पहिले झापा महारानीझोडा आसपासमा स्यालको सिकार गर्नेहरु देखिन्थे र सुने अनुसार स्यालको मासुको बाथरोग निको पार्न रक्सी बनाउँथे अरे । हजुरको यो पोष्टले जैविकता र संरक्षण बारे महत्वपूर्ण सवाल उठाएको छ । पुराना दिनहरुको याद पनि ताजा गरायो । भोला भट्टराई

गाममा कुखुरो लगेर हैरान पार्छ । नेत्रमान श्रेष्ठ

यिनको संरक्षण हुनु अत्यन्तै जरूरी छ । एकादेशमा स्याल थियो भन्ने दिन नआओस् । सम्बन्धित जिम्मेवार निकायको गम्भीर ध्यानाकर्षण होस् । चरण प्रसाईं

हैन सर बाथका रोगीले कति खानु भो तेहिसुनेर खै भएन । दबाई चैँ होइन ठग्नचैँ ठगिरहेछन् । शान्तिराम आचार्य

स्याल लाेपाेन्मुख प्राणी अहिले, ३० वर्ष अघिसम्म छाप्छाप्ती । विशेष औषधी बन्छ रे स्यालकाे मासुबाट भन्ने सुनेकाे । बिस्नु के भट्टराई मान्छेकै ख्याल नराखिने हाम्रो मुलुकमा स्यालको कसले र किन ख्याल राख्छ र ? टीकाराम पोखरेल

स्यालको कुरा गर्दा नीलो स्याल र पुच्छर कट्टा स्याल सम्झना हुन्छ, पञ्चतन्त्रका कथाहरुमा वर्णन गरिएका, अहिले पुच्छर कट्टा र रङ्गिन स्यालहरु राजनीतिमा छन् भन्ने हल्ला जन्तरे बुढा गर्दैथिए, मलाई थाहा भएन तर स्यालको मासुबाट बनेको रक्सि धेरै राम्रो दाममा बिकेको चैँ सत्य कुरा हो, त्यहि सिलसिलामा पनि केही स्याल स्वर्ग गए होलान् । नरहरि शर्मा

स्याल पनि एक महत्वपूर्ण जानवर भएका कारण ऊहिले हाम्रा पालामा छ्याप छ्यापती स्यालका कथा भन्ने गर्थे र हामी ती कथा चाखमानेर सुन्ने गर्थ्यौं ! स्याल एक छट्टू जानवर हो भन्ने मान्यता थियो । यहाँ अहिले हजुरले उठाएको प्रसङग शान्दर्भिक छ, रोचक छ अनि घोचक छ ! गरुढ ध्वज बस्नेत

दुर्लभ वन्यजन्तुको संरक्षण गर्नुपर्छ । तपाईंको पोस्टमा संरक्षण भएको देखिन्छ (आयको लागि मात्र) । मेरो बुझाइमा स्यालको संरक्षण आवश्यक छ। तेजस्वी पौड्याल

यस्ता जन्तुलाई खोरमा थुनेर राख्नु किमार्थ ठिक होइन । मान्छेको मनोरञ्जनका लागि जनावरलाई यातना ? लक्ष्मी रिजा

प्रतिक्रिया