बुधबार, जेठ २, २०८१

शुक्लाफाँटाका सबै वडामा स्वास्थ्य सेवाकाे पहुँच

नेपालखोज २०७८ चैत १ गते १४:४४

काठमाडौं । कन्चनपुरको शुक्लाफाँटा नगरपालिकाका १२ वटै वडाका बासिन्दामा स्वास्थ्य सेवा विस्तार भएको छ । दक्ष स्वास्थ्य जनशक्तिसहित नगरपालिकाका दुर्गम क्षेत्रका बासिन्दाको स्वास्थ्यमा पहुँच पुगेको हो । सामान्य रुपमा बिरामी हुँदा समेत स्थानीय बासिन्दाले विगतमा सदरमुकाम र टाढाका बजार क्षेत्रमा उपचार गर्नका लागि जानुपर्ने अवस्था विद्यमान रहेको थियो ।

वडावडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भई सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले घरदैलोमै सहज रुपमा स्वास्थ्य सेवा पाएका छन् । नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार आठ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र र तीन वटा वडामा स्वास्थ्य चौकी रहेका छन् । बढी जनसंख्या भएका दुई वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा रहेका छन् । प्रत्येक स्वास्थ्य संस्थाबाट दैनिक चार सय बढी बासिन्दाले सेवा लिँदै आएका छन ।

शाखा प्रमुख भट्टले भने,‘ स्वास्थ्य संस्थामा विगतको तुलनामा दक्ष स्वास्थ्यकर्मीसँगै औषधिको पर्याप्तताले जटिल प्रकारका शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामी बाहेक अन्य बिरामीको उपचार सहज रुपमा हुने गरेको छ । औषधि निःशुल्क रुपमा उपलव्ध गराउने र परामर्श सेवासमेत सहज वातावरणमा स्वास्थ्यकर्मीले दिने गरेका छन् ।’ विगतमा प्रसूति हुनका लागि महिला जिल्ला सदरमुकाम र अन्य जिल्लामा जाने गरेकोमा हाल नगरपालिकाका पाँच स्वास्थ्य संस्थामा प्रसूति गृह सञ्चालनमा रहेका छन् । यो सँगै स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्रमा रोग पहिचानका लागि प्रयोगशालासमेत स्थापना गरी सञ्चालन गरिएका छन् ।

शल्यक्रिया बाहेकको प्रसूति सेवा स्वास्थ्य संस्थाबाटै सुरक्षित रुपमा तालिम प्राप्त स्वास्थ्यकर्मीले दिने गरेको उनले बताए । गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउनका लागि स्वास्थ्य संस्थाका भवन निर्माणको कार्यमा समेत नगरपालिकाले जोड दिएको छ । तीन वटा स्वास्थ्य चौकीका पहिले देखिनै भवन रहेका छन । तीन वटै स्वास्थ्य चौकीमा प्रसूति गृहसमेत सञ्चालनमा रहेका छन् । सहरी स्वास्थ्य केन्द्रमासमेत प्रसूति गृह सञ्चालनमा छन । आधारभूत स्वास्थ्य केन्द्रका दुई वटा भवन निर्माण भई कार्य सञ्चालनमा रहेको छ ।

दुई वटा केन्द्रका भवन निर्माणाधीन अवस्थमा रहेका छन् । बाँकी चार आधारभूत स्वास्थ्य केन्द्रका भवन निर्माणका लागि जग्गा खोजीको कार्य भइरहेको छ । योसँगै नगरपालिकामा १० शय्याको नगर अस्पताल निर्माणको कार्यसमेत सुरु भएको छ । एउटा स्वास्थ्य चौकीबाट सञ्चालित हुने र अर्को नगरपालिकाबाट सञ्चालित हुने गरी दुई वटा एम्बुलेन्सको व्यवस्थासमेत रहेको छ । –––

प्रतिक्रिया