सोमबार, वैशाख २४, २०८१

प्रश्नले खोजेको उत्तर

कृष्ण कॅंडेल २०७८ चैत ५ गते ९:३९

अभि सुवेदी, नारायण ढकाल, हरिहर श्यामल, सरूभक्त, श्रवण मुकारूङ र मनु मन्जिलजस्ता नेपाली साहित्यका सिद्धहस्त साहित्यकारहरूसँगको वार्तालाई नयाँ परिधानमा संप्रेषण गरेर उदय अधिकारीले नेपाली साहित्यमा एउटा सुनौलो इँटा थप्नु भएको छ । त्यसो त उदय स्वयं अङ्ग्रेजी साहित्यमा विशेष अभिरूचि राख्नुहुन्छ र नेपाली साहित्यलाई विश्वसाहित्य बजारमा कसरी ‘सेलेबल’ बनाउने भन्ने बारे चिन्तन गरिरहनुहुन्छ ।

माथि उल्लेखित श्रष्टाहरूका फरक-फरक विधाका फरक-फरक अवधारणालाई एकसाथ पस्किनु र त्यसमा पनि ती श्रष्टाहरूले विश्व साहित्यमा नाम चलेका लेखक र तिनका बारेमा सामान्य उत्खनन गरिएका विषयलाई ‘प्रश्न’ नामक पुस्तकमा रोचक ढङ्गले प्रस्तुत गरिएको छ ।

छजना श्रष्टाहरूसँगको वार्तामा तिनीहरूले पढेका नेपाली र विश्व साहित्यका पुस्तकहरूको संक्षिप्त चर्चाले म र मजस्ता थुप्रै पाठकहरूलाई नेपाली साहित्यको अलावा विश्व साहित्यलाई नजिकबाट छाम्ने उत्प्रेरणा जगाएको छ ।

यस अर्थमा ‘प्रश्न’ विश्व साहित्यको आँखी झ्याल हो भन्दा अतिसयोक्ति नहोला कि ? पारिजात, गुरूप्रसाद मैनाली, भूपि शेरचन, बीपी कोइराला, महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम र रिमालदेखि विश्व साहित्यका सर्वाधिक चर्चामा रहेका लियो टल्सटाय, बर्टोल ब्रेख्त, नेल्सन मन्डेला, शेक्सपियर, रूसो, गोर्की, अल्वेयर कामु, अरून्धती रोय, मार्खेज, स्टेफन हकिङ्ग , टी एस इलियट लगायत दर्जनौं साहित्यकार र तिनका चर्चित रचनाका संक्षिप्त ‘हाईलाइटस’का कारण पुस्तक ओजनदार बनेको छ ।

फरक-फरक लेखकका फरक फरक स्वभाव । अभि सुवेदीलाई किताबले भरिभराउ कोठा मन पर्दो रहेछ । अझ त्यो कोठाको झ्यालबाट चराहरूको चिरवीर संगीतमा आफूले नयाँ रचनाको जन्म दिन पाइयोस् । आहा कस्तो राम्रो कस्तो सरल र जीवन्त सोच । प्रगतिशील लेखक नारायण ढकाल जीवनलाई क्लिस्ट बनाउँदैनन्, मस्त भएर हिड्छन् कति पेग रक्सी पिए कहाँ बसेर पिए आफ्ना समकालीन मित्रहरूलाई सेयर गर्न रूचाउँछन् ।

ढकाल र यो पुस्तकका लेखक उदय अधिकारी दुवै विश्व प्रसिद्ध साहित्यकार मार्खेजको फ्यान रहेछन् । मूलत: उपन्यास लेख्ने र उपन्यासमा रमाउने ढकालले विश्व प्रसिद्ध कृतिहरूलाई राम्रैसँग स्पर्श गरेको पाइन्छ । पोखराका सरूभक्त विज्ञान कथा र नाटक लेखनमा विशेष अभिरूची राख्छन्। सरूभक्त ‘पागल वस्ती’ उपन्यास लेखेपछि चर्चाको शिखरमा पुगे ।

यिनले पनि नेपाली र विश्व साहित्यका विशेष हस्तिहरूका कृति प्रेमपूर्वक स्पर्श गरेका रहेछन् । कवि हरिहर श्यामल ,श्रवण मुकारूङ र मनु मंजील जो नेपाली कविता यात्राका साहसिक योद्धाहरू हुन् । यी कविहरूको कविताले समयलाई क्रान्ति वेगमा उठ्न आह्वान गरिरहेको हुन्छ ।

०६२/६३ को आन्दोलनमा श्रवण मुकारूङको विशे नगर्ची कविताले चेतनाको ज्वार ल्याएको थियो । नेपाली साहित्यलाई विश्व साहित्यिक मन्चमा भरपुर मन्चन गर्न सामर्थ्य राख्ने यी र यस्ता अनगिन्ती साहित्यकारहरूको बारेमा जानकारी मुलक प्रश्नले उत्तर खोज्दै सगरमाथाको बेसक्याम्प तर्फ अघि बढ्ने उद्घोष गरेको छ।

भिन्न शैलीमा नेपाली साहित्यका मूर्धन्य साहित्यकारहरूको बारेमा जानकारी गराएर उदय अधिकारीले स्तुत्य कार्य गरेका छन् । आगामी दिनमा अझ धेरै लेखक लेखिकाहरूका बारेमा नयाँ नयाँ कृति आईरहोस् । शिखा बुक्स प्रकाशक रहेको यो पुस्तक संग्रहणीय छ ।

प्रतिक्रिया