बुधबार, जेठ १६, २०८१

मेरो बिरामी देश

राम योञ्जन `गाउँले´ २०७८ चैत ५ गते ८:१५

भाइरसले आक्रान्त-
मेरो बिरामी देशसँग म सन्चो हुन सकिनँ।
चलिरहेछ-रोगहरूको महाधिवेशन।
आतुर छन् निकाल्न-
नयाँनयाँ खतरनाक भेरियन्ट ओमिक्रोन झैँ ।
याद छ उनीहरूलाई- नेतृत्व कम्जोर भएको,
याद छ उस्तै- संगठन मजबुत नभएको,
हरेकलाई आभास छ- आफ्नो गुट नफष्टाएको
तर याद छैन-
मेरो देश कमजोर भएको,
मेरो राष्ट्रियता खतरामा उभिएको।

म रोगी छु-
तर पनि देशको रोगसँग लडिरहेछु !
उता फेरि झुपडीमा बसेर भोकसँग लडिरहेछु ।

हरेक महाधिवेशनबाट
नयाँ रोगहरू जन्माएर मनाइरहेछन् जन्मोत्सव

जो यहाँ बाटोसँग सम्बन्धविच्छेद गर्छ
तर बुर्कुसी मारेर हिँडिरहन्छ,
जो यहाँ माटोबाटै उमृएकाहरू
चुपचाप छन् माटोलाई अपरिचित ट्याग झुन्ड्याएर।

म परिचित बिरामी छु- मेरो बिरामी देशसँग।

अब मेरो चुनौती
तुरुन्तै रोग निकाल्नु छ यो देशबाट
र सँगसँगै भोक निकाल्नु छ यो देशबाट।

यो देश डाक्टरहरूको होइन,
यो देशलाई-
हस्पिटलहरूको आफ्नो भन्न पाउने अधिकार सकियो
र यो देश- न्यायालयको आफ्नो हुन सकेन।

म थलिएको यो देशसँगै-
चरम अभावसँग/ आकाशिएको महँगीसँग,
र दुरुपयोग शक्तिको अहंकारसँग
वर्षौंदेखि सोचिएको भन्दा बढी थलिएको छु।
बस् मैंसँग मात्रै छ- मेरो बिरामी देश ।

प्रतिक्रिया