सोमबार, वैशाख २४, २०८१

बन्दुक हराएको सूचना (युद्ध र प्रेम)

एकदेव अधिकारी २०७८ चैत ५ गते १२:५९

प्रहरी जवानको पदबाट सेवानिवृत्त भएपश्चात सन्तबहादुरको पछिल्लो दश वर्ष लाटोकोसेरोसँग प्रतिस्पर्धा गर्दै बितेको थियो ।

जवानीका दिनहरू राष्ट्रका लागि समर्पित गरेको सन्तबहादुरको चालीस कटेपछि रमाउने योजनालाई साकार गरिदिने कुनै साहिँलीसँग धैर्य तथा समर्पण रहेन । फलस्वरूप उसको पछिल्ला वर्षहरू एक्लै बिताउँदै आएको थियो । पड्किने या नपड्किने ठेगान नभएको ब्रिटिस सरकारको पालाको एउटा दुईनाले बन्दुक उसको पछिल्लो दश वर्षदेखिको एकमात्र साथी थियो ।

बैंक भवनको रात्रिकालीन सुरक्षापश्चात घर फर्केपछि बन्दुकको नाल खोलेर राइफलको तेलले सफा गरेर घाममा सुकाएपश्चात ऊ आराम गर्न पल्टेको थियो ।

दुई-तीन घण्टाको आरामपश्चात जब ऊ उठेर बन्दुक सुकाएको ठाउँमा पुग्यो, उसको मन ढक्क फुलेर आयो । उसले सुकाएको ठाउँमा बन्दुकको नाल थिएन ।

उसले घरको कुना-काप्चा सबैतिर खोज्यो । तर, पाउन नसकेपछि ऊ बन्दुक हराएको सूचना दिन प्रहरी चौकीमा गयो । बन्दुक हराएको सूचना दर्ता गराइसकेपछि घर फर्कियो । उसको घरमा छिमेकीको बाह्रवर्षे छोरो विनोद उसैलाई पर्खिरहेको थियो ।

घरमा आइपुग्नासाथ उसले सोध्यो, ‘हजुरबा, हजुरलाई थाहा छ- बन्दुकले के गर्छ ?’

उसको मनस्थिति यो प्रश्नको उत्तर दिने त थिएन तर पनि बच्चासँग के गुनासो गरोस् । उसलाई हेर्दै उसले मुख खोल्यो, ‘हैन के भन्छ यो, मैले त्यत्रो वर्ष सेनामा के गुच्चा खेलेर आ’को हुँ र ? त्यसले त मान्छे मार्छ नि ।’

‘हैन हजुरबा, हजुरलाई त केही थाहै रहेनछ, एकछिन पर्खिनुस् है त,’ ऊ त्यहाँबाट पर्खाल नाघेर आफ्नो घरको कम्पाउन्डमा हामफाल्यो र उसको हराएको बन्दुकको नालको पिचकारी बनाएर उसलाई रंग छेप्दै भन्यो, ‘ह्याप्पी होली हजुरबा ।’

तीन दशकदेखि युद्धको बारूद पड्काउने बन्दुकको नालबाट पहिलोपटक प्रेमको रङ बर्सिंदै थियो । अचानक रसाएका उसका आँखा पुछ्दै उसले विनोदलाई अँगालोमा बेऱ्यो र प्रेमपूर्वक उसलाई आफ्नो छातीमा टाँस्यो ।

प्रतिक्रिया