एमाले प्रवेश गर्न लागेका माओवादीका प्रमुख सचेतक बिष्टलाई कारबाही

काठमाडाैं । नेकपा माओवादी संसदीय दल कर्णाली प्रदेशको बैठकले सांसद ठम्मरबहादुर बिष्टलाई निष्कासन गरेको छ । दलका नेता महेन्द्रबहादुर शाहीद्वारा हस्ताक्षरित विज्ञप्तीमा बिष्टले निरन्तर दलको विधान विपरितका अभिव्यक्ति र गतिविधि गर्दै आइरहेको बताउँदै उनलाई निष्कासन गरेको उल्लेख गरिएको छ ।
माओवादी कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मर बिष्ट आज नेकपा एमाले प्रवेश गर्ने भएका छन् । वीरेन्द्रनगरमा रहेको सिटी हलमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले उनलाई स्वागत गर्ने भएका हुन ।
विष्टसहित थप केही जिल्ला कमिटिका सदस्यहरु समेत एमालेमा प्रवेश गराउने तयारी भइरहेको नेकपा एमाले कर्णालीले जनाएको छ । प्रमुख सचेतक रहेकै समयमा उनले फागुन २७ गते पार्टीबाटै राजीनामा दिएको घोषणा गरेका थिए । योसँगै महत्वपूर्ण पदमा बसेका व्यक्ति नै एमालेमा जान लागेपछि माओवादी वृत्तमा खैलाबैला मच्चिएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘प्रस्तुत विषयमा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलका सदस्य मा। ठम्मर बहादुर विष्टले निरन्तर दलको विधान विपरितका अभिव्यक्ति र गतिविधि गर्दै आइरहेको एवं प्रदेश सभा सदस्यबाट राजीनामा समेत पेस गरेको सन्दर्भमा यही चैत ३ गते प्रदेशसभा दलको बैठक सम्पन्न भयो । उक्त बैठकले राजीनामा फिर्ता लिएर नियमित कार्यमा क्रियाशील हुन उहाँलाई दिएको निर्देशनको अवज्ञा गरेकाले दलको सदस्यबाट निलम्बन गरिएको सूचित गरिन्छ ।’

प्रतिक्रिया