सोमबार, वैशाख २४, २०८१

कुकुरको लडाइँ

नेपालखोज २०७८ चैत ६ गते १३:०७

मूल अनुवाद
चोपडा साहब र साहनी साहबको घर जोडिएको थियो । बीचमा एउटा पर्खाल थियो । दुवैले एउटा-एउटा कुकुर पालेका थिए । दुवै कुकुर यति भयंकर र भयानक थिए कि टोलवासीहरू पनि डराई डराई सडकको पल्लो किनाराबाट हिँड्ने गर्थे ।

हुन त चोपडा साहब र साहनी साहबको स्वभाव अनि व्यक्तित्व नै यस्तो थियो कि उनिहरूलाई अलग्गै कुकुर पालीराख्नुपर्ने जरूरत भने थिएन । उनिहरू नै काफी थिए आफैँमा ।

एक दिन कसरी हो चोपडा साहबको कुकुर साहनी साहबको कम्पाउन्डभित्र घुसेर हो या साहनी साहबको कुकुर चोपडा साहबकोमा घुसेर हो-दुई कुकुर लडाइँ खेल्दै सडकमा निस्किए ।

चोपडा साहब र साहनी साहब पनि तुरुन्तै सडकमा आए । सुरुमा त उनीहरूले आ-आफ्ना कुकुरहरू सम्हाले । कुकुर पनि आफ्नो मालिक भेट्नासाथ पुच्छर लुकाउँदै मालिकका टांगमुनि घुस्रिँदै लेपासिन थाले ।

चोपडा चर्को स्वरमा करायो – दशचोटि भनेँ हुँला, आफ्नो कुकुर सम्हालेर राख्नुहोस् भनेर ।

साहनी अझै चर्को स्वरमा चिच्यायो – तिमी आफ्नो कुकुर सम्हाल न ! त्यही पहिला मेरो कम्पाउण्डमा घुसेको थियो । था छैन कुन जातको कुकुर हो !

  • चोर जातको कुकुर होला तिम्रो चैँ ।
  • तिमी आफैँ चोर जातको हौला ! कुकुरको त के कुरा गर्नु ! जस्तो मालिक त्यस्तै कुकुर ।
  • चोर त तिमी हो हजुर । ठेका- पठ्ठा मा घोटाला गरेर घर ठड्याएका छौ । अझ फूर्ती लाउँछौ !
  • तिमी झनै चार सौ बिस हौ । हाम्लाई था छैन र ? स्मग्लिङ्ग गरेर ठाँट देखाउँछौ ।
    दुवै कुकुर आ- आफ्ना मालिकका टांगमा टाँसिँदै मालिकलाई अरू प्रोत्साहित गरिरहेका थिए ।
  • भन्द्‍या छु, तिम्रो कुकुर फेरी यता देखेँछु भने गोली हान्दिन्छु ।
  • तिम्रो कुकुर नि यता आएछ भने गोली हान्दिन्छु म पनि । कुकुर सँगै मान्छेलाई पनि ।
  • तँ मलाई गोली हान्ने ? साला कुकुरको छाउरा !
  • के भनिस् ? मुख सम्हालेर बोल् ! तँ साला सुँगुरको बच्चा ।
    एकै छिनमा त्यहाँ ठूलै भिड जम्मा भयो ।
    सारा टोलबासी जम्मा भएर तमासा हेर्न लागे ।
    त्यसैबिचमा एउटा बटुवा कतैबाट आएर भिडमा घुस्रिँदै कसैलाई सोध्यो – के लफडा हो हजुर ?
    भिड भित्रैबाट कसैले जवाफ दियो – केहि हैन, कुकुरको झगडा हो ।

नेपाली भर्सन
दुई नेताको घर एउटै टोलमा थियो । अलग पार्टिका थिए । तर घर भने लगभग जोडिएको थियो ।
दुवैले एक-एक कुकुर पालेका थिए । कुकुर जब्बर थिए । देख्दै डरलाग्दा । कुकुर यति डरलाग्दा थिए कि बाटोमा हिँड्ने बटुवाहरू पनि डराई- डराई सडकको पल्लो किनाराबाट हिँड्ने गर्थे ।

एक दिनको कुरा हो ।
कसरी कसरी दुवै कुकुर घर बाट फुत्किएर सडकमा लडाइँ खेल्न थाले । निमेषभरमै दुवै नेता सडकमा आए । आ-आफ्ना कुकुर सम्हाले । कुकुर पनि आफ्नो मालिक पाउनासाथ टांगमुनि लुसुक्क घुस्रिएर लेपासिए ।

पहिलो नेता चिच्यायो – दश चोटि भनेँ हुँला, आफ्नो कुकुरलाई बाँधेर राख्नुस् भनेर !

दोस्रो नेता झनै चिच्यायो- तपाईं चैँ आफ्नो कुकुर सम्हाल्नुस् न ! त्यही पहिला सडकमा निस्किएको हो । मेरो कुकुरलाई उक्साउँदै भुक्ने तपाईँकै कुकुर हो । था छैन, कुन जातको कुकुर हो !

  • तपाईँकै होला चोर जातको कुकुर ।
  • चोर त तपाईँ हो हजुर ! कुकुरको त के कुरा गर्नु ! जस्तो मालिक उस्तै कुकुर !
  • जो चोर उसकै ठूलो स्वर ? ठेक्का मिलाउँदै ठेकेदारसँग कमिसन असुलेर यत्रो घर ठड्याएर बस्नुभाछ । अझ फूर्ती लाउनुहुन्छ ।
  • फूर्ती चैँ नलाउनुस् के मसँग ! साधु बन्न नखोज्नुस् ! स्मग्लरसँग मिलीबाँटीमा सम्पत्ति जोड्नुभाछ ! जनताको अगाडी चैँ स्वच्छ छविको नेता ?
  • हो हो । जनतालाई सब था छ । अर्वौँको सम्पत्ती, घर, गाडी, शेयर कसको कति भन्ने त ! चुनाव आउँदै छ नी ! सब देखिन्छ ।
    मालिकका टांमुनी घुस्रिएका कुकुर पनि घुर्न छाडेर छक्क पर्दै अन्यौलका नजरले एक-अर्कालाई हेर्न थाले ।
  • भन्द्‍या छु, तपाईँको कुकुर मेरो घर छेउ देखेँ मात्रै भने नि गोली हान्दिन्छु ।
  • तपाईँको कुकुर पनि यता देखेँछु भने गोलि हान्दिन्छु । कुकुर सँगै मान्छेलाई पनि ।
  • तँ मलाई गोली हान्छस् ? साला कुकुरको छाउरा !
  • के भनिस् ? मुख सम्हालेर बोल् ! साला सुँगुरको बच्चा !
    एकै छिनमा त्यहाँ ठूलै भिड जम्मा भयो ।
    सारा टोलबासी जम्मा भएर तमासा हेर्न लागे ।
    त्यसैबिचमा एउटा बटुवा कतैबाट आएर भिडमा घुस्रिँदै कसैलाई सोध्यो – के लफडा हो हजुर ?
    भिड भित्रैबाट कसैले जवाफ दियो – केहि हैन, कुकुरको झगडा हो ।

(प्रसिद्ध भारतीय व्यंग्यकार हरिशंकर परसाईद्वारा लिखित ‘लडाइँ’ को नेपाली अनुवाद हो यो । जुन रचना उनको पुस्तक विकलांग श्रद्धाका दौरमा संग्रहित छ ।)

अनुवादक-महेश बराल
बालकोट, भक्तपुर

प्रतिक्रिया