शनिबार, वैशाख २७, २०८२

क्यान्सर रोगीले खानैपर्ने जुस

डा. हेमराज कोइराला २०७८ चैत ७ गते ११:१३

क्यान्सर भन्नेबित्तिकै एउटा असाध्य रोगका रुपमा हामी सबैले बुझेका हुन्छौं । तर आरम्भिक दिनमै ठम्याएर उपचार गर्न सके क्यान्सर पूरै निको हुनसन्छ । यो रोग लाग्दा क्यान्सर प्रभावित भागको कोषहरु अनियन्त्रित रुपमा बढ्ने, अन्य तन्तुहरुमा पनि प्रसारित हुने र अनियन्त्रित वृद्धि भइरहेका क्यान्सर कोषहरु रक्त अक्सिजनको अभावमा मर्ने गर्दछ । अन्तत्वगत्वा अनियन्त्रित कोष वृद्धिकै कारणले क्यान्सर रोगीको मृत्युसमेत हुन्छ । क्यान्सरलाई नियन्त्रणमा लिन वा क्यान्सरबाट बच्न क्यान्सर कोषहरुको वृद्धिमाथि लगाम लगाउनुपर्ने हुन्छ । यो लगाम तब मात्र सम्भव छ जब कोषबाहिरको वातावरण (Extra Cellular Fluid) पूर्ण प्राकृतिक हुन्छ । क्यान्सर कोषहरुको अनियन्त्रित वृद्धि हुनुको मुख्य कारण कोषबाहिरको वातावरणमा विजातीय द्रव्यहरूको संकलन भई कोष विभाजनलाई नियन्त्रण गर्ने तन्त्र बिथोलिनुले हो । कोष बाहिरको वातावरणमा विजातीय द्रव्य संकलित हुँदा यी द्रव्यहरुले सुसुप्त अवश्थामा रहेको कोषको क्यान्सर कारक जिन (Oncogene) लाई उत्तेजित गरेर अनियन्त्रित रुपमा विभाजित हुन प्रेरित गर्दछ । यो अनियन्त्रित वृद्धि नै क्यान्सर हो र यसबाट निजात पाउन कोषको बाहिरको वातावरणमा विद्यमान विषहरुको शोधन हुनुपर्दछ । यो सोधन केही प्राकृतिक तरिकाले उब्जाइएका फलफूल एवं तरकारीको जुसको सेवनले सम्भव छ । यसर्थ क्यानसर रोगीले निम्न फलका रसहरूको सेवन गर्नुपर्दछ ।

१) गहुँको जमराको जुस : गहुँको जमरामा प्रचुर मात्रामा क्लोरोफिल पाइन्छ । क्लोरोफिलले आफैंमा एन्टिअक्सिडेन्ट र एन्टिम्युटाजेनिक यौगिक हो । क्लोरोफिलको सेवनले राता रक्तकोषहरूको वृद्धि गराएको तथ्यहरू पनि सार्वजनिक भएका छन् । रक्तकोषहरू बढ्दा क्यान्सरग्रस्त तन्तुहरूमा ज्यादा अक्सिजन पुर्‍याएर क्यान्सर कोष मार्न सहयोग पुर्‍याउँछ । गहुँको जमरामा क्यान्सर प्रतिरोधी सेलेनियम र लियट्राइल पनि पाइन्छ । गहुँको जमरामा १३ किसिमका भिटामिन, बीसैवटा अमाइनो एसिडहरू र एन्टिअक्सिडेन्ट पाइन्छ । यी सबै तत्त्व क्यान्सर प्रतिरोधी हुन् ।

२) कालो अंगुरको जुस : अंगुरमा लाइमेनिन (Limonine) नामक फाइटोकेमिकलले क्यान्सर कारक तत्त्वहरुलाई हटाउन मद्दत गर्दछ । अंगुरको बीउलाई मुख्यत: कोलन-क्यान्सर (ठूलो आन्द्राको) को उपचारमा प्रयोग गरिँदै आइएको छ । अंगुरमा मोनोटारपेन्स (Monotarpens) नामक तत्त्व पनि छ । मोनोटारपेन्सले पनि क्यान्सर कारक तत्त्वहरु शरीरबाट हटाउन मुख्य भूमिका खेल्छ ।

३) गाजरको जुस : गाजर पनि क्यान्सर प्रतिरोधी फाइटोकेमिकल्सल भरिएको फल हो । गाजरका विद्यमान बिटा क्यारोटिन नामक तत्त्वले मुख्यत: छालाको क्यान्सरको रोकथाम नियन्त्रण र उपचारमा ठूलो भूमिका खेल्छ । गाजरले क्यान्सर तन्तुको क्षय (Tumor Necrosis) पश्चात हुने घाउँहरु सन्चो हुन पनि मद्दत गर्दछ ।

४) चुकन्दरको जुस : पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट र भिटाभिनहरुले भरिएको चुकन्दर क्यारोटेनोइडसहरूको राम्रो स्रोत हो । चुकन्दरमा विद्यमान क्यारोटेनोइइसले सबैखाले क्यान्सरको रोकथाम गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । रगतको क्यान्सर (ल्युकेमियाको) उपचार गर्न पनि क्याराटेनोइडसको प्रयोग गर्ने गरिन्छ ।

५) गोलभेंडाको जुस : गोलभेंडा भिटामिन ‘सी’को खजाना हो । भिटामिनहरुका अलावा गोलभेंडामा सोडियम, फस्फोरस, क्याल्सियम, पोटासियम, म्यानेसियम र सल्फरजस्ता थुप्रै खनिज एवं लवणहरु पाइन्छन् । गोलभेंडाको रस मुख्यत: प्रोस्टेट क्यान्सरका लागि खुवाउने गरिन्छ । गोलभेंडामा विद्यमान ग्लुटाथायन नामक तत्त्वले कोषहरुलाई अक्सिडेटिभ स्ट्रेसबाट बचाउनुका साथै प्रतिरक्षा प्रणालीलाई सशक्त पार्ने काम पनि गर्दछ ।

६) ब्रोकाउलीको जुस : ब्रोकाउलीमा इन्डोल-३ कार्बिनोल (Indole – 3 Carbinol) नामक तत्त्व पाइन्छ । इन्डोल ३ कार्बिनोलले स्तनको क्यान्सर, पाठेघरको मुखको क्यान्सर र अण्डाशायको क्यान्सरको रोकथाम नियन्त्रण र उपचारमा मुख्य भूमिका निर्वाह गर्दछ । इन्डोल-३ कार्बिनोललाई इस्ट्रोजन हारमोन प्रतिरोधी र प्रतिस्पर्धा प्रणाली सशक्त पार्ने तत्त्वका रुपमा बुझिएको छ ।

७) सलादपत्ताको जुस : पर्याप्त मात्रामा सल्फर, क्लोरिन, सिलिकन र ‘बी’ कम्प्लेक्स भिटामिनहरूले भरपूर सलादपत्ताको जुस फोक्सोको क्यान्सरका लागि उपयोगी छ ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया