‘तापक्रम बढ्यो सचेत होऔं : मानवीय कमजोरीकै कारण ९० प्रतिशत डढेलोका घटना !’
गर्मी मौसममा छिनमै घाम, छिनमै पानी किन पर्छ ?

काठमाडौं । अन्य वर्षको तुलनामा यस वर्ष गर्मी चाँडै बढेको छ । यस वर्ष फागुनको अन्तिम सातादेखि नै देशभरको तापक्रम बढेको हो । फागुन १७ देखि सुरु भएको प्रि–मनसुन तत्कालै सक्रिय भएको र त्यसपछि वर्षा नै नभएका कारण गर्मी बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले केही दिनअघि नै बताएको थियो । तर जलवायु विज्ञ डा. धर्मराज उप्रेती भने पानी नपर्दा गर्मी एकाएक बढेकोलगायत कारण भए पनि यसको प्रमुख कारण भनेकै जलवायु परिवर्तकै असर भएको बताउँछन् ।‘यही कारणले हो भनेर अहिले भन्न सकिन्नँ । यस वर्ष हिउँदे वर्षा पाँच गुणा बढी भयो । त्यस्तै एक महिनाअगाडि जुन ठाउँमा एकदमै शीतलहर चलेको अवस्था थियो,’ जलवायु विज्ञ डा. उप्रेतीे भने, ‘त्यो ठाउँमा एक महिनामै हिट अर्थात ‘लू’ चल्यो । एकै महिनामा भएका यस्ता खालका परिवर्तनलाई हामीले जलवायु परिवर्तकै असर हो भन्न सक्छौं । तर यसबारे थप अनुसन्धानहरू भने हुनुपर्छ ।’
नेपालमा यस वर्ष फागुन १७ देखि प्रि–मनसुन सुरु भएको छ । यो जेठसम्म रहन्छ । यस वर्ष प्रि–मनसुन सुरु हुनेबित्तिकै सक्रिय हुनुको कारण पश्चिमी वायुको प्रभाव घट्नु र प्रभाव कम भएको ठाउँमा तापक्रम बढ्नु भएको मौसमविद्को भनाइ छ ।
उता चार–पाँच दिनदेखि भारतको राजस्थान, गुजरात र महाराष्ट्रमा अत्यधिक गर्मी बढेको छ । त्यहाँका धेरै ठाउँमा ४० डिग्रीभन्दा माथि तापक्रम मापन गरिएको छ । यो सबैलाई हेर्ने हो भने जलवायु परिवर्तनको असरबाहेक अरू कुनै असर नदेखिएको डा. उप्रेतीले बताएका छन् ।
तापक्रम बढ्दा हुने जोखिम
१. डिहाइड्रेसन हुने
शरीरमा धेरै पसिना निस्किएपछि पानीको कमी हुन्छ । यसले मानिसमा डिहाइड्रेसनको समस्या हुने, टाउको दुख्ने, वाकवाक लाग्नेलगायत समस्या हुन्छ ।
२.बालबालिका र वृद्धवृद्धामा बढी प्रभाव
अत्यधिक तापक्रम बढेपछि त्यसको असर बालबालिका र वृद्धवृद्धामा बढी हुन्छ । यसको असरले बेहोस भएर लड्ने खालका लक्षणहरू बढी देखिन्छन् । यसको असर लामो समयसम्म घाममा काम गर्ने मजदुर, इँटाभट्टामा काम गर्ने मजदुररूमा हुने गर्छ ।
गर्मी मौसममा छिनमै घाम, छिनमै पानी किन पर्छ ?
प्रायः तपाईं–हामीले देखेका हुन्छौं गर्मी मौसममा छिनछिनमै मौसम परिवर्तन भइरहेको हुन्छ । एकैछिन घाम लाग्छ भने एकैछिनमा पानी पर्न समय लाग्दैन । यो समयमा कुनै ठाउँमा अत्याधिक गर्मी भयो भने त्यसको वरिपरिको हावा तात्छ र त्यो हावा माथि जान्छ । हावा जति आकाशतर्फ जान्छ त्यति चिसो हुँदै जान्छ । र, त्यसले हावाहुरीसहित वर्षा गराउँछ । यसका लागि पश्चिमी वायु या बंगालकै वायु आउनुपर्ने भन्ने हुँदैन । यो निश्चित ठाउँमा हुन्छ । यसको असर स्थानीय स्तरमा पर्छ । यसलाई ‘लकलाइज इम्प्याक्ट’ भन्न सकिन्छ ।
नेपालमा ८० देखि ९० प्रतिशत डढेलो मानवीय लापरबाहीका कारण
जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले नेपालमा ८० देखि ९० प्रतिशत डढेलो मानवीय लापरबाहीका कारण लाग्ने गरेको बताएका छन् । गर्मी सुरु भएसँगै देशभर आगलागी तथा डढेलोका घटना बढ्ने गर्छन् । नेपालमा हरेक वर्ष डढेलोका कारण जनधनको क्षति धेरै हुने गरेको छ । गत वर्ष सबैभन्दा बढी डढेलोका घटना भएको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ ।
वन–जंगलमा आगलागी हुनुका विभिन्न कारण छन् । चुरोटका ठुटा जताततै फाल्नु एउटा प्रमुख कारण हो । वन–जंगलको बाटो हिँड्दा चुरोट खाएर ठुटा ननिभाई जताततै फाल्नाले सबैभन्दा बढी आगलागीका घटना हुने गरेका छन् । यो घटना हुनु मानवीय लापरबाहीको सबैभन्दा प्रमुख कारण हो । वर्षाको समय पानीले पातपतिंगर भिजेका हुन्छन्, आगोले टिप्न सक्दैन । तर, यो समय जमिन पनि सुक्खा हुन्छ र पातहरू खसेका हुन्छन् । सानो आगोको झिल्को पर्नेबित्तिकै यसले भिषण रूप लिन्छ ।
यसैगरी खेतबारीमा बालिएको आगो पनि जंगलमा सल्किएर डढेलो लाग्न सक्छ । यस्तै एउटा ढुंगा अर्को ढुंगामा खसेर निस्किएको आगोको झिल्कोले पनि जंगलमा आगलागी हुने गरेको छ । तर, यस्तो घटना न्यून मात्रामा मात्रै हुने गरेको जलवायु विज्ञ डा. उप्रेती बताउँछन् । नेपालमा लाग्ने डढेलोको ९० प्रतिशत घटना मानव सिर्जित नै भएको उनको दाबी छ ।
नेपालमा डढेलो नियन्त्रण हुन नसक्नुका कारण
१. दमकल सबै ठाउँमा पुग्न नसक्नु
जलवायु विज्ञ डा. उप्रेतीका अनुसार डढेलो नियन्त्रणमा आउन नसक्नुको एउटा कारण हो दमकल सबै ठाउँमा उपलब्ध नहुनु । वनजंगलमा आगलागी हुँदा त्यसलाई निभाउन आवश्यक पर्ने दमकल नहुँदा आगोले भीषण रूप लिई जनधनको क्षति हुने गरेको छ ।
२.भू–बनोट
कतिपय समयमा वनमा डढेलो लाग्दा त्यहाँको भू–वनोटको कारणले पनि आगलागी नियन्त्रणबाहिर गएका घटना धेरै छन् । आगो निभाउने जनशक्ति र उपकरण हुँदा–हुँदै पनि भू–वनोटका कारण निभाउन नसकिएको अवस्था हुन्छ ।
३.चेतनाको कमी
आगलागीका घटना नियन्त्रण गर्न नसक्नुको अर्को कारण हो जनचेतनाको कमी । मानिसमा अझै पनि चेतनाको कमीका कारण आगलागीका घटना भइरहेका छन् । मानिसमा आफूले खाएको चुरोटको ठुटा जताततै फाल्दा आगलागी हुन सक्छ भन्ने चेतना हुँदैन । सानो गल्तीले पनि ठूलो जनधनको क्षति हुन्छ । मेरो यो क्षेत्रमा गाइवस्तु चर्छन् । यो मेरो घाँस हुने ठाउँ हो । यहाँ आगो बालियो भने घाँस राम्रो आउँछ भन्ने चेतना त मानिसमा हुन्छ । तर वनजंगलमा आगो लगाउँदा हुने असरहरूको मानिसले भुल्छ । कतिपयलाई त जंगलमा आगो लाग्दा असरहरूको सम्बन्धमा अलिकति पनि ज्ञान हुँदैन । फलःस्वरूप वर्षैपिच्छे जंगलमा आगो लगाएर मज्जा लिने गर्छन् ।
४. अग्निरेखाहरू सफा नगरिनु
सरकारले आगलागी हुन नदिनका लागि थुप्रै लगानी गरेर ठाउँठाउँमा अग्निरेखाहरू बनाएको छ । ती अग्निरेखाहरूलाई सफा गर्नुपर्ने हुन्छ । अग्निरेखा भनेको एक ठाउँमा आगलागी भयो भने त्यो आगो अर्को ठाउँमा जान नदिने प्रक्रिया हो । तर, ती अग्निरेखाहरूमा घाँसहरू थुप्रिएर बसेको हुन्छ । ठाउँठाउँमा राखिएको घाँस सफा गरिएन भने आगलागी भएर विकराल रूप लिन सक्छ । त्यसैले अग्निरेखाहरूलाई बेलाबेला सफा गर्नुपर्दछ ।
५. कारबाही र प्रोत्साहन
नेपालमा आगलागीको पूर्वसूचना दिने प्रणाली नै छैन । आगलागी भइसकेपछि मात्रै सूचना दिने सिस्टम भएको हुँदा आगलागी हुनुभन्दा पहिला समुदायलाई नै परिचालन गरेर जुन समुदायले आफ्नो जंगलमा आगलागी हुन दिँदैन त्यसलाई प्रोत्साहन स्वरूप पुरस्कार दिने र आगलागी गराउने व्यक्तिलाई कारबाही गर्ने व्यवस्था लागु गर्दा पनि डढेलो नियन्त्रणमा मद्दत पुग्छ । नेपालमा आगलागीका ९० प्रतिशत घटना मानव सिर्जित नै हुन् ।
प्रतिक्रिया