जलविद्युतमा साना लगानी र पर्यटक आकर्षित गर्न चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पर्यटन आर्कषण र लगानीमार्फत भारतसंगको व्यापार घाटा न्यूनीकरण गर्न नवनियुक्त राजदूत शंकर शर्मालाई सुझाव दिएको छ । भारतका लागि नवनियुक्त राजदूत शर्मासंग जमलस्थित चेम्बर भवनमा आज भएको भेटवार्तामा चेम्बरले जलविद्युत क्षेत्रमा भारतीय निजी क्षेत्रको लगानी भित्र्याउनका लागि पहल गर्न आग्रह गरेको हो ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले भारतसंगको बढ्दो व्यापार घाटा न्यूनिकरणका लागि जलविद्युत तथा सेवा क्षेत्रमा भारतीय लगानी आर्कषित गर्नुपर्नेमा जोड दिए । सबैभन्दा नजिकको छिमेकी भारतमा रहेका १ अर्व ३८ करोड जनसंख्याको शुन्य दशमलव २५ प्रतिशत जनसंख्यालाई मात्रै पनि नेपालको भ्रमणमा ल्याउन सकिने हो भने नेपालले धरै फाईदा लिन सक्ने अध्यक्ष मल्लको भनाई छ ।
मध्यम र उच्च आय भएका भारतीय नागरिकलाई नेपालमा आकर्षित गर्न सके धरै फाईदा लिन सकिने अध्यक्ष मल्लले बताए । राजदूत शर्मासंग अध्यक्ष मल्लले निर्यात सहजिकरण गरी दिन पनि आग्रह गरे । उच्चस्तरीय क्वारेन्टिन ल्याव भन्सारमा नहुँदा भारतबाट आयता निर्यात हुने वस्तुहरुको गुणस्तर मापन हुन नसकेको भन्दै अध्यक्ष मल्लले राजदूत शर्माको ध्यानकर्षण गराए ।
जवाफमा राजदूत शर्माले व्यापार घाटा न्यूनीकरण र निर्यात सहजिकरण आफ्नो प्राथमिकतामा रहेको बताए । उनले क्वारेन्टीन ल्याव स्थापनका लागि पहल गर्ने प्रतिवद्धतासमेत जनाए । नेपाल भारत निजी क्षेत्रबीच सहकार्य गराएर लगानी भित्र्याउनका लागि आफुले पहल गर्ने राजदूत शर्माको भनाई छ ।








प्रतिक्रिया