शुक्रबार, जेठ ४, २०८१

वायु प्रदूषणको मापदण्डमा सबै देश असफल

नेपालखोज २०७८ चैत ९ गते १६:०१

काठमाडौं । वर्ष २०२१ मा कुनै पनि देश विश्व स्वास्थ्य संगठनको वायु प्रदूषण मापदण्डमा खरो साबित हुन सकेनन् । स्विस संस्था आईक्यू एयरद्वारा जारी विश्व वायु गुणस्तर रिपोर्ट संसारका ६,४७५ शहरमा केन्द्रित भएर गरिएको सर्वेक्षणमा आधारित छ ।

दिल्ली सबैभन्दा प्रदूषित राजधानी
रिपोर्टअनुसार भारतको राजधानी दिल्ली लगातार दोस्रो वर्ष संसारकै सबैभन्दा प्रदूषित राजधानी साबित भएको छ । २०२१ मा समग्र भारतकै वायु प्रदूषणको अवस्था थप खराब देखियो भने दिल्लीमा पीएम २.५ तथा साद्रता ९६.४ पुग्यो ।

दिल्ली पछि बंगलादेशको राजधानी ढाका दोस्रो नम्बरमा रह्यो भने बंगलादेश सबैभन्दा प्रदूषित देशको सूचीमा पहिलो स्थानमा पुग्यो । डब्ल्यूएचओले गएको वर्ष आफ्नो दिशानिर्देशमा परिवर्तन गर्दै पीएम २.५ का रूपमा चिनिने मसिना र खतरनाक कणको औसत वार्षिक मात्रा ५ माइक्रोग्राम प्रति क्यूबिक मिटरभन्दा बढी हुन नहुने सिफारिस गरेको थियो ।

संसारका शीर्ष १५ प्रदूषित सहरमध्ये दशवटा सहर भारतमा छन् र तीमध्ये बढीजसो राजधानी दिल्लीको वरिपरि नै छन् । ती सहरमा राजस्थानको भिवान्डी, उत्तर प्रदेशको गाजियाबाद, जौनपुर, नोएडा आदि प्रमुख छन् ।

दश गुणा बढी पीएम
सर्वेक्षणमा सामेल गरिएका सहरमध्ये करिब ९३ वटा सहरको वार्षिक पीएम २.५ साद्रता डब्ल्यूएचओको मापदण्डभन्दा १० गुणा बढी थियो ।

यसमा चीनको प्रगति भने उल्लेख्य देखियो । एक वर्ष पहिले संसारको १४औं सर्वाधिक प्रदूषित देश चीन यो वर्ष २२औं सर्वाधिक प्रदूषित देशमा पुग्न सफल भयो । चीनले २०१४ देखि नै वायु प्रदूषणविरुद्व विशेष अभियान चलाइरहेको छ ।

सुधारमा लागेकाहरु
जापान, युरोपका कैंयन् देश, अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानाडा, पोर्चुगल, एस्टोनिया , बहामास आदि देशले वायुको गुणस्तरमा सुधार देखाएका छन् फलस्वरूप उनीहरुको र्याकिङमा पनि सुधार देखिएको छ । पार्टिकुलेट म्याटर अर्थात् पीएम २.५ मा धूलो र फोहोरको सूक्ष्म कण हुन्छन् जुन स्वासका माध्यमबाट हाम्रो शरीरभित्र प्रवेश गर्छ ।

पीएम २.५ का कण स्वास्थ्यका दृष्टिले निकै हानिकारक मानिन्छ । यी कणले मानव हृदय तथा फोक्सोलाई नोक्सान पुर्याउँछन् भने यसबाट गम्भीर दमको खतरा पनि हुन्छ ।

प्रतिक्रिया