म्यादी प्रहरी भर्नाका लागि डेढ लाखले दिए आवेदन

नेपालखोज २०७८ चैत ९ गते १६:३८

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी बन्न तीन दिनमा डेढ लाख जनाले आवेदन दिएका छन् । देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत आइतबार, सोमबार र मंगलबार मात्रै १ लाख ३९ हजार ७५९ जनाले दर्खास्त दिएका हुन् ।

पहिलो दिन आइतबार ३० हजार २९९, सोमबार ५२ हजार २९९ र मंगलबार ५७ हजार १६१ जनाले आवेदन दिएको र बुधबारको विवरण आइसकेको छैन । प्रहरीले एक लाख म्यादी प्रहरीका लागि दर्खास्त दिन माग गरेको छ । एकसातासम्म म्यादी प्रहरी बन्न आवेदन दिन सकिनेछ ।

यसपटक म्यादी प्रहरीले नेपाल प्रहरीको मातहतमा रही ४० दिन खटिने छन् । छनौट समितिले आवेदनहरुबाट योग्य व्यक्ति छानेपछि एक साता तालिम दिइनेछ । त्यसपछि उनीहरुलाई काममा खटाइनेछ । म्यादी प्रहरी छनौटका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ६ सदस्यीय समिति बनाइएको छ ।

समितिमा जिल्ला प्रहरी कार्यालयका प्रमुख, नेपाली सेना र सशस्त्र प्रहरी बलको राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वा प्रहरी निरीक्षक सदस्य सचिव रहने प्रावधान रहेको छ । म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग लागेको नहुनुपर्ने, शारीरिक र मानसिकरुपले तन्दुरुस्त हुनुपर्ने लगायतका मापदण्ड राखिएका छन् ।

प्रतिक्रिया