बुधबार, जेठ १, २०८२

पुटिनलाई सत्ताबाट हटाउने तयारी

नेपालखोज २०७८ चैत १० गते २१:३१

मस्को । युक्रेनको मिलेट्री इन्टेलिजेन्सको दाबी मान्ने हो भने रूसको कुलीन वर्गले पश्चिमी देश सँगको आर्थिक सम्बन्ध पुन: बहाल गर्न राष्ट्रपति पुटिनलाई सत्ताच्यूत गर्ने योजना बनाइरहेको छ ।

द किभ इन्डिपेन्डेन्टका अनुसार युक्रेनको मिलेट्री इन्टेलिजेन्सको के दाबी छ भने एफएसबी सुरक्षा एजेन्सीका प्रमुख अलेक्सान्द्र बोर्तनिकोभलाई पुटिनको उत्तराधिकारी मानिएको छ । रुसमा पश्चिमी देशको आर्थिक प्रतिबन्धपछि ठूलो संकट देखापरिरहेको छ भने रुसी व्यवसायीहरुले ठूलो घाटा बेहोर्नुपरेको छ । यही कारणले त्यहाँ अहिले सत्ताको विरोध बढिरहेको बताइन्छ ।

यसबीच युक्रेनको विदेश मन्त्रालयले युक्रेन युद्धमा अहिलेसम्म रूसका १४,७०० सैनिक मारिएको दाबी गरेको छ । युक्रेनको विदेश मन्त्रालयले रुसका विभिन्न प्रकारका १,४८७ बख्तरबन्द वाहनसमेत नष्ट गरिएको बताइएको छ ।

युक्रेनी विदेश मन्त्रालयका अनुसार- कुल ९६ विमान, २३० आर्टिलरी पिस, ११८ हेलिकोप्टर, ७४ एमएलआरएस, ४७६ ट्यांक, ९४७ वाहन, ३ जहाज, २१ यूएभी, १२ विशेष उपकरण तथा ४४ एन्टी-एयरक्राफ्ट वारफेयर सिस्टम पनि युक्रेनीहरुद्वारा नष्ट गरिएको छ ।’ यद्यपि आधिकारिक रुपमा यो तथ्यांक पुष्टि गर्ने कुनै आधार छैन । यसैगरी युक्रेनी पक्षमा भएको नोक्सानीको तथ्यांक पनि स्पष्ट हुन सकेको छैन ।

संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायका प्रमुखका अनुसार रूसको ‘विनाशकारी’ युद्ध का कारण युक्रेनका दश मिलियन नागरिकले आफ्नो घर छोडिसकेका छन् ।

प्रतिक्रिया