कुसुमखोलामा बन्यो नमुना चेपाङ बस्ती

काठमाडौं । चितवनको माडीस्थित कुसुमखोलाबाट विस्थापित चेपाङहरुका लागि बनाइएको कुसुमखोला नमुना चेपाङ बस्तीको उद्घाटन गरिएको छ । त्यस क्षेत्रका सांसद समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार सोही ठाउँमा पुगेर बस्तीको उद्घाटन गरेको हो ।
उद्घाटनका लागि पुगेका अध्यक्ष दाहालसहितका जनप्रतिनिधिलाई स्थानीयले भव्य रुपमा स्वागत गरेका थिए । कुसुमखोला, भालुखोला र अन्य भित्री चेपाङ बस्तीबाट विस्थापित र स्थानान्तरित भई आएका चेपाङको निम्ति सो स्थानमा निर्वाचन क्षेत्र विकास कोषबाट नमुना चेपाङ बस्ती कार्यक्रम अनुसार ४१ घर परिवारको आवास निर्माणको काम पूरा भएको हो ।
कार्यक्रममा अध्यक्ष दाहालले चेपाङ बस्तीलाई सहकारीको माध्यामबाट आत्मनिर्भर बनाउन लागिपर्ने प्रतिवद्धता जनाएका थिए । उनले सो बस्ती उद्घाटन गर्ने अवसर आफूलाई प्राप्त भएकोमा खुशी व्यक्त गर्दै त्यस वरपरका ठाडो खोलाको तटबन्ध निर्माणका लागि पनि आफूले सकेको सहयोग गर्ने आश्वासन दिए । अध्यक्ष दाहालले चितवनका सबै क्षेत्रको विकासका लागि आफूले पहल गरिरहेको कुरा स्थानीयलाई राम्ररी थाहा भएको पनि बताए ।

प्रतिक्रिया