शक्ति राष्ट्रबीचको कडा प्रतिस्पर्धाले सुरक्षामा चुनाैती थप्यो : प्रधानमन्त्री देउवा

नेपालखोज २०७८ चैत ११ गते १६:०३

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय शक्ति राष्ट्रबीच विभिन्न क्षेत्रमा आफ्नो प्रभुत्व जमाउने उद्देश्यले देखा परेको तनाव र होडबाजीले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षाको वातावरण गम्भीररुपमा प्रभावित भएको बताएका छन् ।

शिवपुरीस्थित सैनिक कमाण्ड एण्ड स्टाफ कलेजमा आयोजित सातौँ समूहको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम समापनका अवसरमा उनले आजको अन्तर्राष्ट्रिय परिवेशमा आर्थिक, राजनीतिक र रणनीतिक क्षेत्रमा आफ्नो पकड स्थापित गर्न शक्ति राष्ट्रबीच कडा प्रतिस्पर्धा चलिरहेको उल्लेख गरे ।

राष्ट्रिय सुरक्षालाई सर्वोपरि महत्व दिई सरकारले यस क्षेत्रको सुदृढीकरणको लागि राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीतिलगायतका नीति र कार्ययोजना कार्यान्वयनमा ल्याएको उनले उल्लेख गरे । उनले भने, ‘राष्ट्रिय सुरक्षा एक संवेदनशील र चुनौतीपूर्ण विषय हो, राष्ट्रिय सुरक्षालाई बलियो तुल्याउन अन्तर निकायबीच समन्वय र सहकार्य बलियो हुन बनाउन आवश्यक छ ।’

सार्वजनिक निकायमा काम गर्ने राष्ट्रसेवकलाई समयसापेक्ष तालिम र अभिमुखीकरणमार्फत मुलुकको आन्तरिक र बाह्य सुरक्षा चुनौतीका विषय र समाधानका सम्भावित उपायबारे सूचित गर्न आवश्यक रहेको बताउँदै प्रधानमन्त्री देउवाले मुलुकको एकीकृत प्रयासबाट सुरक्षा चुनौतीलाई सामना गर्न सबै निकाय सदैव सजग र सचेत रहनु पर्ने बताए ।

त्यस्तै, प्रधानसेनापति प्रभुराम शर्माले बहुआयामिक सुरक्षा चुनौतीको उचित व्यवस्थापनको लागि राजनीतिक, कूटनीतिक रणनीतिक तथा शैक्षिक वृत्तलगायत आमनागरिकमा समेत सामरिक धारणा र सोचको वृद्धि भई समग्रमा सामरिक संस्कृतिको विकास हुन जरुरी रहेको बताएका छन्।

प्रधानसेनापति शर्माले सुरक्षाका दायरा फराकिलो हुँदै गएको परिप्रेक्षमा राष्ट्रिय सुरक्षामा नागरिक र सबै सुरक्षा संयन्त्रबीच एकै किसिमको सोच हुन जरुरी रहेको बताए। कलेजका शिक्षाध्यक्ष एवं उपरथी हीरालाल जोशीले राष्ट्रिय सुरक्षा र प्रतिरक्षाबारे जानकारी दिई सरोकारवालाबीच एउटै बुझाई स्थापित गर्ने उद्देश्यले सञ्चालन गरिएको १४ दिनको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम हालसम्म सुरक्षा फौज र गैरसैनिक नागरिक गरी हालसम्म १३८ जनाले लिइसकेको जानकारी दिए ।

उक्त कलेजबाट हालसम्म मध्यम तहका अधिकृतका लागि सञ्चालित ११ महिने कमाण्ड एण्ड स्टाफ कलेज तालिम नेपाली सेनाका एक हजार ४०, नेपाल प्रहरीका १३, सशस्त्र प्रहरी बलका २५, राष्ट्रिय अनुसन्धान विभागका १६ तथा विदेशी ९९ शिक्षार्थीले पूरा गरेका छन् ।

प्रतिक्रिया