नेकपा एस नेपालको इतिहासमै छोटो समयमै राष्ट्रव्यापी बनेको पार्टी : नेता खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले माओवादीसँगको एकीकरण पछि नै सकिएको दाबी गरेका छन् ।
आज काठमाडौंमा आयोजना भएको समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय कमिटी प्रथम विस्तारित बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री खनालले यस्तो बताएका हुन् । उनले नेकपा एमाले भनेको इतिहास भएको भन्दै अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टी दक्षिणपन्थी अवसरवादको गुट भएको आरोप लगाए ।
पूर्व प्रधानमन्त्री खनालले नयाँ गुटले अहिले पनि देशभर नेकपा एमाले हौँ भनेर भ्रम छर्ने काम गरेको पनि बताए । उनले नेकपा एमालेमा रहेका नेता तथा कार्यकर्तालाई जनताको साथ दिइरहेको पार्टी नेकपा एकीकृत समाजवादीमा आउन पनि आग्रह गरे । उनले नेकपा एमालेले आगामी चुनावमा दुई तिहाई सिट नभएर दुई तीन सिट मात्र ल्याउने दाबी गरे ।
पूर्व प्रधानमन्त्री खनालले आफ्नो पार्टी नेपालको इतिहासमै छोटो समयमै राष्ट्रव्यापी बनेको पनि दाबी गरे । उनले नेपालको इतिहासमै ६ महिनाभित्रको समयमा अहिलेसम्म कुनै पार्टीले आफूलाई राष्ट्रव्यापी बनाउन नसकेको पनि बताए । पूर्व प्रधानमन्त्री खनालले ६ महिनामा पार्टी राष्ट्रव्यापी बन्नु असाधारण विकास भएको दाबीसमेत गरे ।
उनले अहिले नेपालमा वैचारिकरुपले दक्षिणपन्थी अवसरवाद सबैभन्दा ठूलो अवरोध भएको बताए । पूर्व प्रधानमन्त्री खनालले वर्गीयरुपले दलाल पुँजीवाद सबैभन्दा ठूलो समस्या भएको र त्यसविरुद्धमा आफ्नो पार्टी लडिरहेको बताए । पूर्व प्रधानमन्त्री खनालले नेकपा एमाले आफैँ एउटा गन्जागोलको शिकार बनिरहेको पार्टी दाबी गरे ।

प्रतिक्रिया