गाउँब्लकमा रहेका करिब २० हजार भूमि बिहिनलाई लालपूर्जा वितरण

काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मन्त्रालय सम्हालेपछि हालसम्म गाउँ ब्लकमा रहेका करिब २० हजार भूमि बिहिनले जग्गा धनीदर्ता प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ ।
बाँकेको कोहलपुर नगरपालिका वडा नं. ३ को गाउँब्लकमा रहेका ९६ घरपरिवारलाई आज लालपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले यस वर्षको प्राथमिकतामा नै नरहेको भए पनि आफूले मन्त्रालय सम्हाले पछि गाउँब्लकमा लालपूर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेर काम आगाडी बढाएको बताईन् । मन्त्री श्रेष्ठले चार महिनाको अवधिमा गाउँब्लमा रहेका १९ हजार ६ सयभन्दाबढी भूमिविहिनलाई लालपूर्जा वितरण गरिसएिको भन्दै अबको एकवर्षभित्र सबै गाउँब्लकको समस्या समाधान गरि सक्ने गरि कामलाइ तिब्र पारिएको बताईन् ।
संविधानमा भएको नागरिकको हक कार्यान्वयलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको भन्दै उनले जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई इमान्दार भएर लाग्न आग्रह गरिन् । मन्त्री श्रेष्ठले यो वा त्यो पार्टी नभनि जनताको पक्षमा काम गर्ने सबैसँग हातेमालो गरेर अघि बढ्न आफू तयार रहेको भन्दै सही काम गर्नेलाई जनताले पनि चिन्न आवश्यक रहेको बताईन् ।
मन्त्री श्रेष्ठले भूमिहिन दलित तथा भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यबस्थीत बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगमार्फत काम सुरु गरिसकेको भन्दै बारम्बार उठिरहने भूमि सम्बन्धी समस्यालाई दिगोरुपमा नै समाधान गर्न आफू लागिरहेको पनि बताईन् ।
मन्त्री श्रेष्ठले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुुषा, सुनसरी, चितवन इच्छाकामना गाउँपालिका, काठमाडौंको कीर्तिपुर नगरपालिका, भक्तपुको मध्यपुर ठिमि नगरपालिका, तनहुँको बन्दीपुर र चितवनको भरतपुर महानगरपालिकाको गाउँब्लकमा रहेका भूमि विहिनहरुलाई लालपूर्जा वितरण गरिसकेकी छन् । २०२१ साल यता जग्गाको नापी हुँदा गाउँब्लकका रुपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपूर्जा विहिन बनिरहेकाहरुलाई लालपुर्जा वितरण अभियान तिब्र पारिएको छ ।

प्रतिक्रिया