शनिबार, जेठ ५, २०८१

बलिउडका ठूला फ्लप फिल्म

नेपालखोज २०७८ चैत १४ गते ११:५०

काठमाडौं । १९५३ मा प्रदर्शित हिस्टोरिकल ड्रामा झाँसी की रानी का निर्माता-निर्देशक सोहराब मोदी हुन् । यो फिल्मको मुख्य भूमिकामा सोहराब मोदी, बि.के. सप्रु तथा अभिनेत्री मेहताब थिए ।

त्यतिबेला लगभग ५० लाख रुपैयाँको भारी बजेटमा तयार पारिएको यो फिल्मले १३ लाख पनि कमाउन सकेन । १९५३ मा ३५ लाख रुपैयाँको घाटा कति ठूलो घाटा थियो सहजै अनुमान लगाउन सकिन्छ ।

महान् अभिनेता तथा फिल्मकर्मी गुरुदत्तको निर्देशनमा तयार भएको कागज के फूल १९५९ मा रिलिज भएको थियो । यो फिल्ममा गुरुदत्तलाई त्यतिबेला लगभग २५ लाख रुपैयाँ घाटा लागेको थियो । त्यसबाट गुरुदत्त यति आहत भए कि उनले त्यसपछि फिल्म निर्देशन गर्ने नाम लिएनन् ।

१९६७ निर्माता सेख मुख्तारक‍ो फिल्म नूरजहाँ प्रदर्शनमा आयो । मीना कुमारी, प्रदीप कुमार, जोनी वाकर आदिद्वारा अभिनित यो फिल्मले त्यतिबेला ६५ देखि ७५ लाख रुपैयाँ जति घाटा बेहोर्यो । यो फिल्मको ठूलो घाटापछि निर्माता सेख मुख्तार फिल्मी क्षेत्रबाटै पलायन भए र भारत छोडेर सदाका लागि पाकिस्तान बसाइँ सरे ।

बलिउडका सबैभन्दा ठूला सो मेन राज कपुरले १९७० मा फिल्म मेरा नाम जोकर निर्माण गरेका थिए । करिब दुई करोड रुपैयाँको लागतमा तयार भएको मेरा नाम जोकरले त्यतिबेला कपुरको सबा करोड भन्दा बढी डुबायो । यो फिल्म फ्लप भएसँगै राज कपुरको निर्माण कम्पनी पनि टाट उल्टियो ।

अभिनेता जितेन्द्रले पनि उतिबेला फिल्म निर्माणमा हात हालेका थिए । उनले १९८२ मा करिब ५ करोड को लागतमा दिदारे यार निर्माण गरे । यो फिल्ममा जितेन्द्रलाई त्यति बेलाको साढे ३ करोड जति घाटा भयो । त्यसपछि जितेन्द्र दिवालिया भए । लगानीकर्ताहरुको ऋण चुक्ता गर्न उनले दक्षिण भारतका साना बजेटका फिल्महरु थोकमा साइन गरे ।

करिब सात वर्ष लगाएर तयार पारिएको धर्मेन्द्र तथा हेमा मालिनी स्टारर फिल्म रजिया सुल्तान १९८३ मा प्रदर्शनमा आयो । त्यतिबेला करिब १३ करोड रुपैयाँ खर्च गरेर बनाइएको य‍ो फिल्मले ३ करोड पनि उठाउन सकेन ।

निर्माता पहलाज निहलानिले १९९० मा निर्माण गरेको फिल्म आंँधियांँ शत्रुघ्न सिन्हा मुमताज तथा प्रशन्नजीत चटर्जी जस्ता कलाकारले अभिनय गरेका थिए । यो फिल्मले त्यतिबेला सबा ३ करोड जति डुबाएको बताइन्छ ।

राज कपुर र जितेन्द्रले जस्तै शशि कपुरले निर्माताका रुपमा १९९१ मा ठुलो घाटा सहनु पर्यो । अभिताभ बच्चन तथा ऋषि कपुर स्टारर अजुबाको निर्माण तथा निर्देशन शशि कपुर आफैले गरेका थिए । यो चलचित्रले साढे ६ करोड रुपैयाँ जति डुबाएको बताईन्छ । पछि यो फिल्मको सेटेलाइट राइट्स बेचेर केहि नोक्सानिको भरपाई गरे पनि शशी कपुरले त्यस पछि फिल्म निर्माण गर्ने नाम लिएनन् ।

निर्माता बोनी कपुरले १९९३ मा रूप की रानी चोरौं का राजा नामक फिल्म तयार गरे । अनिल कपुर तथा श्रीदेवीलाई लिएर बोनी कपुर एक पटक फेरि मिस्टर इन्डियाक‍ो सफलता दोहोर्याउन चाहन्थे । यद्यपि उनी यसपटक सफल भएनन् उनले ८ करोड रुपैयाँ घाटा बेहोर्नु पर्यो ।

२०१५ मा रणबीर कपुर अनुष्का शर्मा तथा करण जौहर अभिनित बम्बे भेलभेट ठूला असफल चलचित्र मध्ये अर्को चलचित्र हो । अरुणा कश्यपद्वारा निर्देशित यो फिल्मको बजेट २ सय करोड भन्दा बढि भए पनि यसले ४० करोड जति मात्र कमाउन सक्यो । हालै १९८३ को क्रिकेट विश्व कपमा भारतको जीतमा आधारित चलचित्र ८३ पनि बक्स अफिसमा धरासाही भयो । करिब सबा ४ सय करोडमा तयार पारिएको ८३ ले लगानिको एक तिहाई मात्र उठाउन सक्यो ।

प्रतिक्रिया